विश्वभर प्रतिमा शेर्पाले ख्याती कमाएपछि 'आमाको आँशु'

शेर्पाखबर

२०७५ जेष्ठ १२, शनिबार


काठमाडौं । ‘यु आर गोइङ टु फ्लोरिडा टु मिट विथ टाइगर उड्स’  नेपालकी नम्बर १ महिला गल्फर प्रतिमा शेर्पाको मोबाइलमा जब यो म्यासेज आयो, उनी तीनछक परिन् । विश्वका महान् गल्फर टाइगर उड्ससँग भेट्ने कुरा उनका लागि सपनातुल्य थियो ।
गल्फ डाइजेस्ट नामक प्रतिष्ठित गल्फ पत्रिकाले प्रतिमाबारे लेख छापेपछि विश्वभर छाएकी उनलाई अमेरिकाकै एक परिवारले दुई महिने गल्फ प्रशिक्षणका लागि बोलाएको थियो । उनको दुई महिने अमेरिका भ्रमणका बेला ईएसपीएनले उनीमाथि वृत्तचित्र निर्माण गर्‍यो ।
आफूमाथि बनेको वृत्तचित्र प्रिमियरका लागि गत वैशाख दोस्रो साता अमेरिका भ्रमणमा पुग्दा प्रतिमाले उनै उड्ससँग भेट्ने अवसर पाएकी हुन् ।
गल्फ डाइजेस्टको लेख पढेर गएको वर्ष उड्स आफैंले प्रतिमालाई चिठ्ठी पठाएका थिए। प्रतिमाले उड्ससँगको भेटमा चिठ्ठीका लागि धन्यवाद दिइन् । त्यसले आफूलाई खेलमा थप मेहनत गर्न हौसला मिलेको बताइन् ।
जवाफमा उड्सले पनि प्रतिमाको मेहनतको प्रशंसा गरे । भेटेर खुशी लागेको बताए ।
पूर्वविश्व नम्बर १ गल्फरसँग भेट भएर १८ वर्षकी प्रतिमाले गल्फ मात्र सिकिनन् । काठको क्लबले बल हानेर गल्फ सुरु गरेकी उनले उड्सकै क्लब समातेर उनको अघि आफ्नो खेल देखाउन पाइन् ।
उड्सले जीवनका जटिलताबारे कुरा गरे, पारीवारिक कुरा गरे, खानपानका कुरा गरे । सँगै उनीहरुले फोटो खिचे । उपहार साटासाट गरे ।
२० वर्षको उमेरमा प्रोफेसनल गल्फर बनेका ४२ वर्षीय टाइगर उड्सले देख्नेबित्तिकै हात उठाएर ‘हाई प्रतिमा’ भनेको आवाज अहिले ‘रोयल नेपाल गल्फ कोर्स’ मा अभ्यास गरिरहँदा पनि प्रतिमाको कानमा गुञ्जिरहन्छ ।
उनलाई लाग्छ, उड्ससँगको भेटले उनमा नयाँ ऊर्जा सञ्चारित भएको छ । आफू पनि खेलाडी हुँ भन्ने लागेको छ । सपनाहरु कसरी पूरा गर्ने, मेहनत कसरी गर्ने, जीवन कसरी अघि बढाउने भन्ने नयाँ तथ्यहरु फेला परेको छ ।
पूरा भएको एउटा सपना
वृत्तचित्रको प्रिमियरका बेला टाइगर उड्स फाउन्डेसनका केही मान्छेसँग प्रतिमाको भेट भएको थियो । भेटमा प्रतिमाले उड्सबारे कुरा गरेकी थिइन् । ‘मेरो मोबाइलमा म्यासेज आयो । म त दंग परेँ । त्यसको भोलिपल्ट बिहान भेट्न जाने समय मिलेको रहेछ,’ प्रतिमाले त्यो दिन सम्झिइन् ।
भेट्न जानै लाग्दा उनलाई फाउण्डेसनका मान्छेले भनेका थिए, तिमीसँग ५ मिनेट मात्र समय हुन्छ । कुरा गर्ने, फोटो खिच्ने सबै त्यही समयमा सकाउनुपर्छ ।
उनले मनमनै सोचिन्, ५ मिनेट, १० मिनेट समय जति मिलोस् यस्ता महान् गल्फरसँग भेट्न पाउनु नै मेरा लागि ठूलो सौभाग्य हो ।
आफ्नो कारमा आएका उड्सले भने, ‘हाई प्रतिमा’
‘उहाँ आफैं आएर मलाई बोलाउनुभयो । त्यो सम्झेर म अहिलेसम्म पनि दंग पर्छु, वाउ ! टाइगर उड !’ रोयल नेपाल गल्फ कोर्समा अभ्यास गरिरहेकी उनी रोमाञ्चित हुँदै भन्छिन् ।
उड्सले ‘ल हिँड तिमीले बल हानेको हेर्न मन छ’ भनेर प्रतिमालाई कारमा लिएर गल्फ कोर्समा गए । त्यही बेला उनीहरुको पछिपछि मिडियाका मान्छेको पनि कुदाकुद भयो । सबैजना छक्क परिरहेका थिए । त्यो सबै अनुभव गरेर प्रतिमा उनीहरुभन्दा धेरै छक्क परिरहेकी थिइन् ।
उड्सले गल्फ कोर्समा लगेर बल हान्न लगाउँदा पहिले त प्रतिमाको गोडा कामिरहेका थिए । ‘मलाई त्यहाँ खेल्ने भन्ने कुरा थाहा थिएन । जुत्ता पनि लगाएको थिइनँ । सब जना हेरिरहेका थिए । मिडियाका मान्छे थिए । ला बल बाङ्गो जाने हो कि भनेर आत्तिएको थिएँ । तर मैले राम्रो नै गरेँ,’ उनले सम्झिइन् ।
उड्सले भने- मैले जस्तो गल्ती नगर्नू
केहीबेर उड्सको अघि गल्फ खेल्दा प्रतिमाले धेरै कुरा बुझ्न पाइन् । उड्सको खेल जीवनले प्रतिमा प्रभावित थिइन् । प्रतिमाको मेहनतले उड्स प्रभावित बने ।
उड्सले पारीवारिक कुरा गरे । गल्फ बाहेक शनिबार र आइतबार छोराछोरीलाई लिएर फुटबल खेल्न जाने गरेको सुनाए । आफ्नो जीवन कस्तो भइरहेको छ भनेर बताए ।
‘एक खेलाडीसँग भेट्दा उसले खेलबारे कुरा त गरिहाल्छ, तर त्योभन्दा ठूलो उहाँले आफ्ना जीवनका गल्तीहरु भनेर त्यसो नगर्न मलाई सम्झाउनुभयो,’ उनले भनिन् ।
‘जति प्रतिष्ठित हुँदै गयो मान्छेहरु त्यति नै धेरै तिमीसम्म आउँछन् । त्यसलाई मिलाएर व्यवस्थापन गर्न जान्नुपर्छ । जीवनमा आफूले के गर्ने भन्ने निश्चित हुनुपर्छ,’ उड्सले भनेका यी वाक्य प्रतिमाको जीवनमा प्रेरणादायी बनेको छ ।
उड्सले भनेका थिए, ‘गल्फले नै मलाई ठूलो बनायो र ठूलो बनेको सोचले नै मलाई बिगार्‍यो । त्यस्तो अवस्थामा तिमी नपर्नू ।’
त्यो ‘तीतो’ चकलेट
लगातार तीन-चार घण्टा गल्फ खेलिरहँदा पनि पानीबाहेक केही नखाने प्रतिमाको बानी थियो ।
उड्सले त्यसो नगर्न प्रतिमालाई सम्झाए । खेलमा एकचित्त भएर लागिरहँदा भोक लागेको याद नभए पनि त्यसले खेलमा असर गर्ने उनले भनेका थिए । खेलको बीचमा समय मिलेको बेला चकलेट या यस्तै केही खान उनले आग्रह गरेका थिए ।
त्यति नै बेला उड्सले दिए, एउटा गाढा रंग भएको चकलेट । मुखमा हाल्नेवित्तिकै तितो भयो ।
‘त्यो चकलेट उहाँसँगै हुँदा मुखमा हालेँ । तर, एकदमै तीतो थियो । मुख बिगार्न पनि भएन । उसको अगाडि त मीठो छ भनिदिएँ । तर, त्यो मैले खान सकिनँ,’ प्रतिमाले सम्झिइन्, ‘ओहो ! असाध्यै नै तितो । तागत आउने त त्यस्तो कुराले हो । तर, आफूलाई बच्चादेखि गुलियो खाने बानी छैन ।’
खेल्ने धुनमा याद नभए पनि इनर्जी कम हुँदा खेल बिग्रने रहेछ भन्ने कुरा अहिले उनले बुझेकी छिन् । त्यसैले मिलेको बेला खेलकै बीचमा पनि केही खाइरहेकी हुन्छिन् ।
उड्सको उपहार
टाइगर उड्सले दिएको उपहार प्रतिमाले अहिलेसम्म पनि रोयल नेपाल गल्फ कोर्सभित्र तीन नम्बर होल नजिकैको आफ्नो सानो घरमा सम्हालेर राखेकी छिन् ।
बेलाबेला त्यसलाई हेर्दा पनि उनमा खेलप्रतिको सम्मान र सपना झनै जीवित हुन थाल्छ । जीवनमा केही गर्नुपर्छ भन्ने हौसला बुलन्द भएर आउँछ ।
उड्सले प्रतिमालाई आफ्नो तीन वटा क्याप र उनको आफ्नै गल्फ कोर्सको झण्डा दिएका थिए । झण्डामा लेखिएको त्यो वाक्य प्रतिमा अहिले पनि बेला बेला पढिरहन्छिन् । उड्सले दिएको उपहारको झण्डामा प्रतिमाबारे लेखिएको छ ‘योर प्यासन इज सो इन्स्पाइरिङ अलवेज ।’
प्रतिमाले उड्सका लागि त्यस्तो केही विशेष उपहार लगेकी थिइनन् । रोयल नेपाल गल्फ कोर्सको एउटा क्याप खेल्नु पर्दा चाहिएला भनेर उनले झोलामा हालेकी थिइन् ।
‘मलाई एक्कासी याद आयो, एउटा रातो क्याप झोलामा बोकिरहेको छु । उड्सको मनपर्ने रंग पनि रातो । अनि सोचेँ, यही क्याप उपहार दिनुपर्‍यो । त्यो क्यापमा भएको ट्याग पनि खोलेको थिइनँ । त्यो क्याप मेरो होम कोर्सको भनेर उहाँलाई दिएँ,’ उनले भनिन् ।
गल्फ कोर्सकी छोरी
प्रतिमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै रहेको रोयल नेपाल गल्फ कोर्सको हरियो चौरमै हुर्किएकी हुन् । उनको बुवाआमा दुवैजना त्यही कोर्समै काम गर्छन् । यसैले सानो बेलामा कहिलेदेखि गल्फ कोर्समा छु भन्ने उनलाई याद छैन ।
थाहा पाउने बेलादेखि हरियो चौर उनको आँखाअघि छ । कोर्सको एक छेउलाई देखाउँदै उनले भनिन्, ‘ऊ त्यो ७ नम्बर होलमा एउटा आन्टीको छोरी र मलाई सुताइदिनु हुन्थ्यो । बाँदर आएपछि ममी भन्दै कराउँदै दौडेर जान्थेँ ।’
‘यहाँ बाँदर त धेरै छन् । सर्पहरु पनि आउँथे । सर्पदेखि डर पनि लाग्ने र खोज्न पनि मन लाग्ने । सर्पको काँचुली भेटियो भने मान्छे हिँड्ने ठाउँमा ल्याएर तर्साउन राखिदिन्थ्यौं,’ उनले गल्फ कोर्समा बिताएको बालापन सम्झिइन् ।
६ वर्षको हुँदाताका हो । अरुले अभ्यास गरिरहेको बल उनको हातमा लागेको थियो । त्यही बेला सुन्निएको हात उचालेर उनले रुँदै भनेकी थिइन्, ‘अब म कहिले पनि यहाँ आउँदिनँ ।’
उनै प्रतिमा अहिले कहिले पनि गल्फ कोर्स छाड्न सक्दिनँ भन्ने अवस्थामा पुगेकी छिन् । त्यसको मायामा यसरी डुबेकी छिन् कि त्यहाँबाट बाहिर निस्कँदा उनलाई सकस हुन्छ ।
हरियो चौर, रुखहरु, शान्त वातावरण, यताउति दौडिरहेका बाँदर, बेला बेला सुनिने चराको आवाज उनलाई पि्रय छ । त्योभन्दा बढी पि्रय छ त्यहाँको गल्फ । जसले प्रतिमालाई चिनायो । एउटा बाँच्ने सपना देखायो र त्यसमै अघि बढायो ।
आमाको आँखामा आँशु
नेपालको नम्बर १ महिला गल्फर बनिसक्दा पनि उनलाई आफू खेलाडी हुँ भन्ने महसुस भएको थिएन ।
अहिले बल्ल उनलाई लाग्न थालेको छ, ‘म पनि खेलाडी हुँ ।’
सुरुका दिनमा उनलाई गल्फ खेलाडी नै बन्छु भन्ने पनि थिएन । केही थाहा नभइ खेलिरहन्थिन् । उनको दैनिकी बनेको थियो गल्फ । काठका क्लबले बल हान्दै यताउती गरिरहेकी उनी साना बालबालिकाका लागि रोयल नेपाल गल्फ क्लबमा हुने शनिबारको प्रशिक्षणमा सहभागी हुन पाइन् ।
त्यसपछि अलि बुझेर खेल्न थालिन् । अहिले बीबीएस पढिरहेकी उनी ८ कक्षा हुँदादेखि हो, राम्ररी अभ्यास गर्न थालेको ।
उनले त्यसरी खेलेको दुई तीन महिनापछि कोर्सका सरहरुले आएर सय वटा बल हानेर जाउ भन्नुभयो । त्यसले उनको राम्रो अभ्यास हुँदै गयो । उनी भन्छिन्, ‘त्यो बेला पनि रमाइलोको लागि मात्र खेलेको थिएँ । खेलाडी बन्छु भन्ने सोचेको थिइनँ ।’
त्यही बेलातिर हो, उनी राउण्ड गेम खेल्न सक्ने भइसकेकी थिइनन् । एउटा ‘चिपिङ कम्पिटिसन’ भन्ने भएको थियो । १० वटा बल होलभित्र पसाउनु पर्ने । उनको पालो अन्तिममा आयो ।
‘त्यो बेला १० वटै बल होलमा पसाइदिएँ । मैले त्यो जितेर ट्रफी र चकलेट पाएको थिएँ । पुरस्कार पाएपछि त्यत्रो चकलेट के गर्नु होला भन्ने भएको थियो । कसैलाई दिँदिन आफैं राख्छु जस्तो भएको थियो । खेल जितेको खुशीभन्दा चकलेट पाएँ भन्ने खुशी धेरै थियो,’ उनले सम्झिइन् ।
घरमा त्यो ट्रफी र चकलेट लिएर जाँदा जब आमाको आँखामा आँशु देखिन्, तब उनलाई लाग्यो मैले केही राम्रै काम गरेको रहेछु । ‘मैले यस्तो गर्छु भनेर उहाँहरुले सोच्नुभएको थिएन । उहाँको खुशीको आँशु देखेर मैले खेल्दा बुवाआमा कति खुशी हुनुहुँदो रहेछ भन्ने बुझेकी थिएँ,’ उनले भनिन् ।
सपनाको बाटो
नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने र ओलम्पिकसम्म जाने प्रतिमा शेर्पाको सपना छ ।
त्योभन्दा ठूलो सपना छ, गल्फ सामान्य मान्छेले पनि खेल्न मिल्छ भनेर बुझाउने । आफूजस्ता धेेरै मान्छेलाई यसमा सहभागी गराउने । यसलाई महंगो खेल, धनि मान्छेले खेल्ने खेल भनेर नबुझियोस् भन्ने उनलाई लाग्छ ।
उनी आफ्नो सपनाको बाटोमा हिँडिरहेकी पनि छन् । हरेक दिन उति नै मेहनत गर्छिन् ।  बिहान साढे ६ बजेदेखि कलेज छ । साढे ५ बजे उठेर एक्सरसाइज गर्छिन् र कलेज जान्छिन् । ११ बजे घर आएर आधा घण्टापछि अभ्यास गर्न थाल्छिन् । दिउँसो तीन घण्टा अभ्यास गरेपछि उनी घरको काममा व्यस्त हुन्छिन् र बेलुका पनि दुई घण्टा अभ्यास गर्छिन् ।
उनको बुवा पासाङ ६३ र आमा कल्पना ६१ वर्षका भए । यसैले घरको जिम्मेवारी पनि उनमा ठूलो छ । त्यसलाई सानो उमेरदेखि निभाइरहेकी पनि छिन् । आमा-बुवाले नसक्दा राम्ररी हेरविचार गर्छिन् ।
खेलमा पनि अहिले उनमा छुट्टै ‘कन्फिडेन्स’ आएको छ । यसले के गर्न सक्ली र ? भन्ने मान्छेहरुबाट उनलाई केही राम्रो गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ । उनी भन्छिन्, ‘मैले निराश पार्न खोज्ने र यसले खेल्न सक्दिन भन्नेहरुबाट म झन् राम्रो खेल्ने प्रेरणा पाउँछु । त्यस्ता मान्छेहरु पनि जीवनमा चाहिन्छ जसले तपाइँबारे नकारात्मक कुरा गरेर सकारात्मक हुन प्रेरणा दिइरहेका हुन्छन् ।’

@अनलाईनखबरबाट

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho