शेर्पा संघबाट ‘उपाध्यक्ष’ हट्ने !

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ १०, विहिबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको आगामी महाधिवेशनबाट उपाध्यक्ष हटाउने व्यवस्थाका लागि तयारी अघि बढाइएको छ । विधान मस्यौदा समितिले अहिले कायम रहेको बरिष्ठ उपाध्यक्षसहितको जम्बो उपाध्यक्ष ‘टीम’ रहने व्यवस्था नराख्ने तयारी थालेको हो । 
संघमा अहिले बरिष्ठसहित ६ जना उपाध्यक्ष रहेका छन् । उपाध्यक्षको जम्बो टोली हुँदा जिम्मेवारी र निर्णय कार्यान्वयनमा समस्या देखिएको भन्दै आगामी महाधिवेशनबाट एक जनामात्रै उपाध्यक्ष रहने व्यवस्था सहित विधान संशोधनका लागि मस्यौदा गृहकार्य भइरहेको मस्यौदा समितिका संयोजक आङ देण्डी शेर्पाले जानकारी दिए । ‘उपाध्यक्षको संख्या धेरै हुँदा जिम्मेवारी र दायित्वका बारेमा अन्यौलता सिर्जना भई काम गर्न अपठ्यारो भइरहेको छ ।’ संघका सचिव समेत रहेका संयोजक शेर्पाले शेर्पाखबरलाई भने ‘आगामी महाधिवेशनका लागि उपाध्यक्षको संख्या घटाउने तयारीसहित विधान संशोधन मस्यौदा तयार पार्ने काम गरिराखेको छु ।’ यो मस्यौदा पारित भएमा आगामी संघको उपाध्यक्ष संख्या एक मात्रै कायम हुनेदेखिन्छ । 
उपाध्यक्ष पद सम्मानित र आकांक्षीहरुको व्यवस्थापनका लागि मात्रै सिर्जना गरे जस्तो देखिएको अधिकांशको बुझाई रहेको छ । ‘यस्तो अवस्थामा अध्यक्ष हुने लाइनकालाई मात्र उपाध्यक्षको जिम्मेवारी दिन सकिन्छ । अन्य क्रियाशिल जनशक्तिलाई विभागिया संयोजक बनाएर परिचालन गर्न सके संगठन चलायमान हुन्छ ।’ संगठन सञ्चालन र परिचालन सम्वन्धी जानकार ल्हाक्पा शेर्पाले भने ‘अब हामीले जम्बो समूह, भद्दा प्रारुपले संगठनलाई दुरुस्त सञ्चालन गर्न गाह्रो हुन्छ । उपाध्यक्ष धेरै राख्दैमा संगठन बलियो हुन्छ भन्ने हैन । त्यसैले संख्या घटाएर अघि बढ्दा छरितो देखिन्छ ।’ यसखाले अभ्यास सबै सामाजिक संस्थामा हुनुपर्ने बताउँदै हिमालयन शेर्पा संस्कृतीक केन्द्रका निवर्तमान अध्यक्ष समेत रहेका लाक्पा शेर्पाले भने ‘छिटो, छरितो र समुदायका हितका लागि काम गर्नका लागि पद नै चाहिन्छ भन्ने मानसिकता त्याग्नुपर्छ ।’
त्यस्तै, विद्यान संशोधन मस्यौदा समितिले आगामी महाधिवेशनमा किदुगहरुलाई मताधिकार प्रदान गर्ने गरी कार्य समेत अघि बढाइएको छ । तर, जिल्लागत रुपमा दिने या अरु मापदण्ड लिने भन्ने विषय भने बहसमै रहेको संयोजक शेर्पाले बताए । वैधानिकता प्राप्त गरी क्रियाशिल रहेका किदुगहरुलाई मताधिकार पाउनुपर्ने माग पाँचौ महाधिवेशनमा नै व्यापक रुपमा उठेको थियो । विधानमा व्यवस्था नभएकाले तत्कालिन अवस्थामा मताधिकार दिन नसकेको संघ निर्वाचन मण्डलका एक सदस्यले बताए । छैटौं महाधिवेशनमा किदुगहरुलाई कसरी मताधिकार प्रदान गर्ने बारे निर्णय भै नसकेपनि मताधिकार पाउने भने लगभग पक्का जस्तै देखिन्छ । 
नेपाल शेर्पा संघको महाधिवेशनको पूर्वसन्ध्यामा संघले विधान संशोधन गरी विभिन्न नयाँ व्यवस्था गर्न लागेको हुन् ।संघलाई संघात्मक ढाँचामा रुपान्तरण गर्ने गरी अघि बढाउन विधान संशोधन मस्यौदा समिति तल्लिन रहेको अध्यक्ष आङ दोर्जी शेर्पा (एडी)ले बताए । 
यसैवीच संघको नियमित वैठक बुधबार राजधानीमा सम्पन्न भएको छ । बैठकले भवन रजिष्ट्रेशन र प्रतिबद्धता व्यक्त भएरपनि प्राप्त हुन बाँकी सहयोग तत्काल संकलन गर्ने लगायतको निर्णय गरेको स्रोतले जनाएको छ । संघले हालै पाँच करोड बराबरको भवन खरिद गरी सबै संघसंस्थालाई त्यही भवनमा अटाउने महत्वकांक्षी योजना अघि बढाइरहेको छ ।