नेपाली गल्फकी चम्किलो तारा प्रतिमा शेर्पासँगको कुराकानी

शेर्पाखबर

२०७५ जेष्ठ १०, विहिबार


रोयल नेपाल गल्फ क्लब(अारएनजीएसी) सँगै जोडिएको छाप्रोमा सामान्य परिवारमा जन्मिएर त्यही हुर्किएकी नेपालकी एक नम्बर महिला गल्फर प्रतिमा शेर्पाको कथा प्रेरणादायी छ।अारएनजीएसीकै छात्रवृत्तीमा ११ वर्षको उमेरबाट प्रतिमाले गल्फ खेल्न थालिन्। त्यसपछि उनको मेहनतले हालसम्म उनले ३५ उपाधि जितिसकिन्। यहीबीच अघिल्लो महिनामात्रै उनले पूर्व विश्वनम्बर १ कीर्तिमानी अमेरिकी गल्फर टाइगर उड्ससँग भेट्ने माैका समेत पाइन्। जसले विश्वका समाचारमाध्यममा उनको चर्चा चुलियो। 

घरेलु प्रतियोगिताहरुमा दिँदै आएको उत्कृष्ट प्रदर्शन र विश्वव्यापी रुपमा पाएको सफलताले प्रतिमा अघिल्लो वर्षभरि नै चर्चामा रहिन। यहीबेला प्रतिमा व्यावसायिक प्रतियोगिता सूर्य नेपाल गल्फ टुरको छनोट खेल्ने पहिलो महिला बन्न सफल भइन्। २०७४ मै प्रतिमाले फाल्डो सिरिज प्रतियोगितामा सहभागिता जनाइन्। पूर्व बेलायती गल्फर निक फाल्डोले गल्फका उदाउँदा खेलाडीलाई एक्सपोजर दिने अभिप्रायका साथ विश्वका विभिन्न राष्ट्रमा आयोजना गर्ने गरेको फाल्डो सिरिजको नेपाल क्वालिफायरमा प्रतिमा विजयी भएकी थिइन्।

यस सफलताले प्रतिमालाई फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलका लागि भियतनामसम्म पुर्याएको थियो। प्रतिस्पर्धात्मक ग्रान्ड फाइनलमा प्रतिमा उपाधिविहीन रहे पनि प्रतियोगिताबाट उनले प्रसस्त अनुभव बटुल्न सफल भइन्। उनकै त्यही चर्चा र सफलताले यसवर्षको पल्सर स्पोर्टस अवार्डमा उनी वर्षको लोकप्रिय खेलाडी(पिपल्स च्वाइस अवार्ड) मा पनि मनोनीत भएकी थिएन्।

तिनै प्रतिमासँग गरेको कुराकानी:

पहिलोपटक पल्सर स्पोर्टस अवार्डको वर्षको लोकप्रिय खेलाडीको मनोनयनमा पर्दा कस्तो अनुभव भयो?

मलाई मनोनयनमा परे भन्ने खबर फेसबुकबाट थाहा पाउँदा नै खुशी लागेको थियो। अहिलेको चर्चामा रहेको सन्दीप(लामिछाने) जस्ता खेलाडीसँग म मनोनयनमा थिए। सबैका अगाडी सम्मान लिन पाउँदा आफैलाई गर्व लागिरहेको थियो। त्यहाँ पारस(खड्का) दाई तथा अरुहरुसँग पनि भेट भयो। उहाँ सँग चाहीँ दोस्रो पटक भेट भयो। अरुहरुलाई चिन्ने मौका पाए। 

नेपालमा अन्य खेलको तुलनामा गल्फका बारेमा अझैपनि धेरैलाई थाहा छैन्। फुटबल, क्रिकेट भनेको नखेल्नेहरुलाई पनि थाहा हुन्छ। नेपालमा त्यति धेरै गल्फकोर्ष पनि छैन्। मान्छेहरुले बाटोमा हिड्दा अझै पनि गल्फकोर्स देख्दा कस्तो राम्रो चौर रहेछ भन्छन्। त्यसले जनताहरु चुनिने यस अवार्डमा आशा अनुरुप भोट आएन्। तर, म मनोनयनमा पर्नु नै मेरो लागि जित्नु सरह थियो।

पछिल्लो दुईवर्ष प्रतिमाको खेल जीवनको टर्निङ प्वाइन्ट रह्यो है?

हजुर, यही अवधिमा विदेशी मिडियाले पनि चर्चा गरेपछि सबैतिर नेपालमा पनि लेडी प्लेयर रहेछन भन्ने खबर फैलियो। त्यसपछि मेरो गेममा सबैले विश्वास गरेर मलाई हौसला दिइरहनु भयो। त्यसैबेला टाइगर उड्स(पूर्व विश्वनम्बर १ अमेरिकी गल्फर) को प्रशंशापत्र पाए। बाहिर तिर खेल्ने(फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलका लागि भियनाम, अमेरिकामा दुई महिने प्रशिक्षण लगायत) अवसर पनि पाए। झन अस्ति भर्खरै टाइगर उड्सलाई आफै भेट्न पाए। एकदमै नसोचेको नसोचेको कुरा पूरा भयो। जिन्दगीमा एउटा सपना चाही थियो, त्यो यसवर्ष पूरा भयो।

सपना भनेको चाही टाइगर उड्ससँग भेट्नु?
हो, मलाई गल्फ खेल्नु अगाडी नै टाइगर उड्स भन्ने नाम थाहा थियो। टाइगर उड्स भनेपछि गल्फन खेल्नेहरु पनि विश्वको नम्बर वान भनेर चिन्थे। पहिले उहाँले हानेको सटहरु मोबाईलमा हेर्थे। कस्तो होला भन्ने मनमा थियो। तर, भेट्न पाउँदा त निकै नै खुशी भए।

कसरी सम्भव भयो त टाइगर उड्ससँगको अप्रत्यासित भेट?
म न्युयोर्कमा इएसपीएनले मेरो बारेमा बनाएको वृत्तचित्रको प्रिमियरका लागि गएकी थिए। त्यसमा टाइगर उड्स फाउन्डेशनको मान्छे पनि आउनु भएको रहेछ। तर, मलाई चाही उहाँ फाउन्डेशनको मान्छे हो भन्ने थाहाँ थिएन्। कुराकानी हुँदा उहाँले तपाईको वेष्ट प्लेयर को हो भनेर सोध्नु भयो। मैले ‘अफकोर्श(अवश्यपनि)टाइगर उड्स’ भने।

अनि भोली पल्ट एउटा म्यासेज आयो। त्यसमा लेखिएको थियो, ‘यू आर गोइङ टू फ्लोरिडा टू मिट विथ टाइगर उड्स’ अर्थात, ‘टाइगर उड्सलाई भेट्न तिमी फ्लोरिडा जाँदैछाैं।’
अचम्म लाग्यो। म टाइगर उड्सलाई भेट्न जादैछु भनेर। त्यो दिन पूर्वनिर्धारित कार्यतालिकाले व्यस्त हुँदापनि म फ्लोरिडा गए। फाउन्डेशनका मान्छेहरुले तिमीसँग ५ मिनेट जति भेट हुन्छ होला। त्यतिभित्र कुराकानी, फोटोसोटो खिचिसक्नु भनेका थिए। मैलेपनि ‘ओके’ मलाई त भेट्नु नै ठूलो कुरो हो भनेकी थिए।

 

 

जब टाइटर उड्स आफैले सुरुमै ‘हाई प्रतिमा’ भनेर बोलायो। अचम्मममा परे। ममात्रै हैन्, थुप्रै मिडियाका मान्छेहरु पनि त्यहाँ आएका थिए। उनीहरु पनि अचम्ममा परे, उनले नाम लिएर बोलाउँदा। मलाई ‘स्वीङ’ हान्न आफ्नै कार्ट(गाडी)मा हालेर लैजादा सबैजना छक्क देखिन्थे। यसअघि टाइगर उड्सले हत्तपत्त त्यसरी कसैले देखेका रहेनछन्। त्यसपछि उनले आफ्नो अभ्यास गर्ने ठाँउमा लगेर, मेरो स्वीङ हेर्दै आफ्नो अनुभव पनि साटे। त्यो दिनभर मलाई सपनाझै लागिरहेको थियो। उड्सले सुरुमै ‘हाई’ प्रतिमा भनेको क्षण चाहीँ म कहिले पनि बिर्सिदैन।

टाइगर उड्ससँगको भेटले प्रतिमालाई चाही के फाइदा पुग्यो त?
टाइगर उड्ससँग भेटेर उसको खेलको अनुभव सुन्दा आफूमा पनि ‘कन्फिडेन्स’ आउँदो रैछ। उसले त्यत्रो टुर्नामेन्टहरु जितेको छ। उसको मेहनत कति छ। त्यसका लागि उसले के के त्यागेको छ। उसले आफ्नो अनुभव बताएको थियो। उसले मेरो हौसला बढाई दियो। तिमीले त्यो गर्न सक्छौं भन्दा खेरि आफैँ एकदम हौसला आउँदो रहेछ। यो भेटले चाहीँ नेपालको गल्फलाई विश्वमा चिनाउन पनि सहयोग पुगेको जस्तो लाग्यो।

यही अवधिमा अमेरिकामा पनि दुई महिना प्रशिक्षण गर्ने अवसर पाउनु भएको थियो। त्यहाँको प्रशिक्षणले तपाईलाई कस्तो सहयोग पुर्यायो?
यहाँ र त्यहाँको गल्फमा त पूरै भिन्नता छ। रोयल नेपाल एकदमै छोटो कोर्स(गल्फ मैदान) भयो। गोकर्ण(गल्फ क्लब)मा १८ होल छ। त्यो चाहीँ अलि बाहिर(विदेश)को जस्तो छ। म यही दुईवटा कोर्समात्रै बढी खेल्छु। दुईवटा कोर्स खेल्दाखेल्दा कहाँ के छ? भन्ने सबै थाहा भइसक्यो के अब।

तर, बाहिरतिर त पुरै दिमाग लगाएर खेल्नुपर्ने हुँदो रहेछ। उहाँ त यार्ड नापेर, आफ्नो दिमाग लगाएर नयाँ कोर्समा खेल्नुपर्ने हुन्छ। ट्रिकी गल्फ कोर्सपनि हुदोँ रहेछ। हरेक गल्फ कोर्सहरु छुट्टाछुटै आकार प्रकारका थिए। अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि त्यस्ता खालका कोर्सहरुमा अभ्यासको आवश्यकता पर्छ। हाम्रोमा सधै एकै खालको कोर्समा खेल्दा खेल्दै दिमाग चलाउनुपर्ने आवश्यकतै पर्दैन।

 

 

विगत तिर फर्कौ, आफूले ७ वर्षअघि ११ वर्षको हुँदा पहिलोपटक गल्फ स्टिक(गल्फ क्लब) समातेको दिन अझै स्मरणमा छ?
छ। त्यो शनिबारको दिन थियो। अहो, आज खेल्न जाने भनेर, बिहान चाडै उठेर नुवाईधुवाई गरि उत्साहित भइका थियौं। यही काम गर्ने आन्टीहरुको अरु दुई जना छोराछोरीहरुसँग कोर्स गएका थियौं। गल्फका लागि अर्कै स्पोर्टस शुज हुन्थ्यो तर मसँग चाहीँ स्पोर्टस शुज थिएन्। तर, भोलि खेल्नुपर्छ भनेर एक्साइटेड भएर शुक्रबारको दिन जुत्ता समेत किनेकी थिए। अनि कोर्समा स्टिक हान्दा पहिलो प्रयासमै बल उडेको थियो क्या। त्यो चाहीँ एकदम खुशी लागेको थियो। पहिले काठको स्टिक बनाएर खेलिरहने हुनाले पनि बल उडेको होला सायद।

त्यसअघि रमाइलो गरि काठको लठ्ठीले बल हान्थ्यौं। त्यो चाहीँ कहिले उड्दैन थियो तर पहिलो चोटी स्टिक समात्दा चाही बल उड्यो। त्यो बेला प्लेयर बन्छु भनेर चाहीँ खेलेको थिएन्। तर, ७ वर्षवित्दा ३५ वटा जति उपाधि जितेको भइसक्यो। अहिले प्रो.(व्यवसायिक) बन्न प्रयास गरिरहेकी छु। अर्को वर्ष प्रो.बन्न छनोट राउण्ड खेल्छु होला।

यत्रो वर्ष गल्फमा विताइसक्दा भविष्यको बारेमा पक्कै सोच्नु भएको छ होला? के लाग्छ गल्फ खेलेर भविष्य बनाउने आधार छ त नेपालमा?
नेपालमा पहिलेदेखि गल्फ महँगो खेल हो, ठूला बडाले खेल्ने खेल हो भनिन्थ्यो तर अहिले चाहीँ त्यसमा परिवर्तन आइरहेको छ। अहिले सामान्य र मध्यम परिवारले पनि मेरो नानीबाबुलाई पनि खेलाउनुपर्यो भनेर ल्याइरहनु भएको छ। उहाँहरुले त्यसरी ल्याउँदा चाही कता कता मलाई हेरेर गल्फमा भविष्य देखेर उहाँहरुले ल्याउनु भएझै लाग्छ। अहिलेसम्म पुरै भविष्य गल्फमा छ भनेर त भन्दिन हैन्। तर, अध्ययनमा पनि त्यतिकै ध्यान दिनुपर्छ। गल्फ र अध्ययन दुवैलाई अघि लिएर जान सकियो भने चाही मेरो भविष्य राम्रै बन्छ जस्तो लाग्छ।

भनेपछि प्रतिमालाई प्रेरणा मान्दै अन्य अभिभावकहरुले पनि आफ्ना नानीहरुलाई गल्फ तिर लगाउन थाले हैन त?
मेरो गल्फप्रतिको समर्पण, मेहनत र पछिल्लो समयमा बनाएको छवीलाई देखेर कतिपय अभिभावकले आफ्ना नानीहरुलाई गल्फकोर्षमा ल्याउन थालेका छन् जस्तो लाग्छ। पहिले लेडिजहरु त्यति गल्फमा थिएनन् हैन्। अहिले लेडिजहरुले पनि रुचि देखाउन थालेका छन्। त्यो देख्दाचाही एकदम खुशी लाग्छ। थोरै भएपनि मेरो कारणले गल्फ पनि विकास भइरहेको छ जस्तो लाग्छ। म पनि उनीहरुको प्रेरणा बन्न चाहान्छु। आफ्नो अनुभवमात्रै सुनाउँदा पनि उनीहरुलाई हौसला मिल्दो रहेछ। छाप्रोबाट उठ्दै मैले टाइगर उड्सलाई समेत भेट्न पाए भन्ने कथा सुनाउँदा उनीहरुलाई अहो मपनि त्यस्तै बन्न चाहान्छु भन्ने उनीहरुको मनमा आउँदो रहेछ।

मसँगै खेल्ने एउटा प्रतिभा राई भन्ने बहिनी छिन्। उसले पहिले एकवर्ष खेल्यो। पछि छोड्यो। अहिले छ महिनाजति भयो होला खेल्न थालेको। उ चाहीँ अहिले एकदम मेहनत गरेर खेलिरहेको छ। घाम, तिर्खा नभनेर मेहनत गरि म पनि तपाई जस्तै बन्छु भनेर खेलिरहेको छ। त्यस्तो देख्दा एकदम खुशी लाग्छ। उसलाई म एकदम सपोर्ट पनि गर्छु। पछिसम्म पनि उनीहरुलाई सहयोग गर्ने र अघि बढाउने सोच लिएकी छु।

अध्ययन अनि खेललाई समय मिलाउन गाह्रो/सजिलो कस्तो हुन्छ?
एकदम गाह्रो हुन्छ। अझ परिक्षा र म्याचसँगै आयो भने अझै गाह्रो हुन्छ समय मिलाउन। विहान कलेजबाट आयो, खाना खायो, दिउँसो अभ्यास गर्र्यो अनि साँझ अबेरसम्म पढ्न थाल्नुपर्छ। कहिलेकाही चाही निकै दबाब हुन्छ। यता परिक्षा पनि आइरहेको हुन्छ। यहाँ प्रतियोगिता पनि आइरहेको हुन्छ। मिलाउन चाही गाह्रो हुन्छ। सायद जीवन भनेको त्यही होला, त्यही चुनौती व्यवस्थापन गरि गरिएको मेहनतले नै सफलता मिल्छ होला।

गल्फ छोड्औ भनेर कहिले दिमागमा आयो?
एक चोटी आएको थियो। चीनमा गल्फ खेल्न जान म छनौटमा परेको थिए। तर, नागरिकताको समस्याले अल्झेको थिए। त्यसबेला सबैले लगातार सोध्ने बन्यो कि बनेन? कहिले जाने? त्यसले दिमागमा फस्ट्रेसन त्यस्तो पर्दो रहेछ। एक महिना त म स्कुलमात्रै गए। गल्फ कोर्ष नै आएन। एसएलसीको बेला पनि मैले त्यति खेलिन्। तर, एसएलसीपछि के गर्ने भन्दा फेरि गल्फतिरै फर्किए। मेरो नागरिकता नबन्दा र एसएलसीको बीचमा चाहीं अलि फस्ट्रेस्ट जस्तो भएको थियो।

प्रतिमाको अबको लक्ष्य के हो त?
मेरो पहिलो लक्ष्य भनेको नेपालको पहिलो लेडिज प्रो गल्फर बन्ने हो। अनि ओलम्पिकमा पनि भाग लिने ठूलो इच्छा छ। लेडिज प्रोफेसनल गल्फ एसोसियसन आदि प्रतियोगिताहरुमा सहभागिता हुने हो। यो मेरो मेहनतले गर्ने लक्ष्य भयो। त्यसबाहेक म जस्तो ठाउँबाट आए, त्यस्ता खेलाडीहरुलाई सपोर्ट गर्न चाहान्छु अनि उनीहरुको भविष्य बनाउन चाहान्छु।खयो पूरा गर्नका लागि मेरा लागि अभ्यास, मेहनत नै महत्वपूर्ण हुन्छ। मेरो होम कोर्स रोयल नेपाल गल्फ कोर्समा चाहीं कोर्स सानो हुदाँ कहिलेकाहीँ अरुलाई छोड्नुपर्ने अवस्था आउँछ। बलहरु धेरै छैन, त्यसले गर्दा अलिकति गाह्रो हुन्छ हैन्। हुन त अहिले मेरो कोचले स्वीङ सिकाउनेदेखि लिएर, खानेकुरामा ध्यान दिन, मानसिक रुपमा तयार पार्ने सबै कुरा गरिरहनु भएको छ।

तर, गल्फ भनेको एउटा मेन्टल गेम हो। माइन्डलाई कसरी फोकस गराउने, कहिलेकाँही पढाईले, घरायसी समस्याले माइन्डलाई असर पुर्याइरहेको हुन्छ। त्यस्तो अवस्थामा कसरी माइन्डलाई कुल गराएर खेल्ने सिक्न जरुरी छ। किनकी गल्फमा अलिकति माइन्डमा कुराहरु आएपछि खेल्नै सकिदैन क्या। यूएसमा छँदा एक जनाले भन्नुहुन्थ्यो गल्फ भनेको ९० प्रतिशत मेन्टल गेम हो रे बाँकी १० प्रतिशत पनि मेन्टल नै हो रे। मलाई पनि त्यस्तै लाग्छ। आफूमा एउटा कन्फिडेन्ट हुनुपर्छ हैन्। सबभन्दा मुख्य कुरा चाही अभ्यास अनि आफूलाई कसरी शान्त राख्न सकिन्छ। त्यो गर्न सकियो भने लक्ष्य हासिल गर्न सकिन्छ झै लाग्छ।

छाप्रोमा जन्मिएकी प्रतिमासँग महल बनाउने सपना पनि होला नि?
त्यो चाहीँ भै हाल्छ हैन्। मेरो विचारमा चाही म त्यही हुर्केर यहाँसम्म आइपुगेकी हुँ। यदि म त्यहाँ नबसेको भए, गल्फ खेलाडी पनि हुँदैन थिए होला। यो मेरा लागि लक्की हाउस नै हो। छाप्रो भनेपनि जे भनेपछि यो मेरालागि महल नै छ। तर, त्यसलाई पनि महल बनाउँने चाहीँ छ। आशा गरम, त्यो दिनपनि एकदिन आउँला। @नेपालखबर

 

 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho