हिमालका हिरो हिमचितुवा अर्थात आङरिता

 विश्वमणि पोखरेल/ खिलक बुढाथोकी

२०७५ जेष्ठ १०, विहिबार


 

 

सामान्यज्ञानमा एउटा प्रश्न छ– बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आरोही को हुन् ?

लोकसेवा आयोगले बेलाबेलामा सोध्छ– हिमचितुवा भनेर कसलाई चिनिन्छ ?

यो दुई वटै प्रश्नको जवाफ हुन्– आङरिता शेर्पा ।

यी तिनै आरोही हुन्, जसले विज्ञानलाई समेत चुनौती दिए । सामान्यतः मान्छे आठ हजार मिटरमाथि कृत्रिम अक्सिजनबिना सास फेर्न सक्दैन तर आङरिताले बिना अक्सिजन सगरमाथा आरोहण गरेर विश्वमा नाम चम्काए । हिमालमा हिरोको रुपमा चिनिने बलियो पशु हिउँचितुवाजस्तै साबित गराएर एक पटक होइन, १० पटकसम्म सगरमाथाको आरोहण गरेर उनले आफ्नो नाममा हिमचितुवाको उपनाम थपे । सगरमाथा मात्रै होइन, पाकिस्तानको माउन्ट केटू र नेपालका चोयु, मनास्लु, लोत्से, अन्नपूर्ण, धौलागिरि लगायतका दर्जनौं हिमाल पटक पटक आरोहण गरे, त्यो पनि बिना अक्सिजन नै ।

यसरी बिना अक्सिजन हिमाल आरोहण गरेर आफूलाई हिमचितुवा साबित गरेका आङरितालाई अहिलेचाहिँ घरकै भ¥याङ चढ्न पनि गाह्रो हुन्छ । ‘त्यतिबेला जाबो हिमाल चढ्नु केहीजस्तो लाग्दैनथ्यो,’ आङरिताले ठट्यौलीको शैलीमा भने, ‘अहिले घरकै भ¥याङको खुड्किलो उक्लिन, हिमाल चढ्नुभन्दा गाह्रो हुन्छ ।’

 

जब राजा वीरेन्द्रले आङरिता शेर्पालाई पर्वतारोहणबाट संन्यास लिन वचन मागे, उनले एक क्षण पनि नसोची हुन्छ भनिदिए ।

आङरिताले हिमाल चढ्न छोडेको पनि दुई दशक बढी भयो । सन् १९९६ मा दशौं पटक सगरमाथाको आरोहण गरेका हुन् । नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार बिरामी भएर थलिएपछि आरोहण छोडेका हुन् । आङरिता बिरामी हुँदा खुम्बुकै खुन्दे अस्पतालमा जाँच गर्दा उपचार नै नहुने रोग लागेको डाक्टरले बताएपछि आङरिता घरमै आराम गरिरहेका थिए । यसबेला आङरिता जन्मस्थल हिमाङजुङबाट पल्लो गाउँ थामे सरेका थिए । थामेलाई कीर्तिमानी आरोहीको गाउँ भनेर चिनिन्छ । आङरिता विरामी भएर थलिएको कुरा आङछिरिङले थाहा पाए । ‘मैले थाहा पाएकै दिन हेलिकप्टर लिएर आङरिताको गाउँ पुगेँ,’ आङछिरिङले भने, ‘आङरिताजस्तो अन्तर्राष्ट्रियस्तरमा नाम कमाएको मान्छे उपचार नपाएर मृत्यु भयो भने नराम्रो सन्देश जान्छ भनेर काठमाडौंमा उपचार हुन्छ कि भनेर लिन गएको थियो ।’ त्यसो त आङरिता र आङछिरिङ गाउँले जस्तै हुन् । आङछिरिङका बुबा तालुकदार थिए । तिरो उठाउन बुबासँगै जाने क्रममा आङरिता र आङछिरिङको १२÷१३ वर्षको छँदै चिनजान भएको थियो । पछि आङछिरिङ व्यवसायतिर लागे, आङरिता आरोहणतिर । आङछिरिङको कम्पनी एसियन टे«किङबाट पनि आङरिता आरोहण जाने गर्थे । शिक्षण अस्पतालमा आङरिताको तीन महिना उपचारपछि भने उनी ठीक भए । त्यसपछि उनी आरोहणमा गएका छैनन् ।

आङरिता आरोहण नजानुको अर्को कारण पनि छ । उनी बिरामी भएको बेला तत्कालीन राजा वीरेन्द्रले छोरा दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । त्यसबेला आङरिता गोपीकृष्णस्थित भाडाको कोठामा बस्थे । उनलाई भेट्न आएका दीपेन्द्रले भने, ‘बुबा (वीरेन्द्र)ले आरोहणबाट संन्यास लिऊ भन्ने हुकुम भएको छ ।’ राजा वीरेन्द्रको हुकुमपछि उनी आरोहण गएनन् ।

वीरेन्द्रले उनलाई चाहना र आवश्यकता के छ भनेर पनि सोधेका थिए तर आङरिताले केही चाहना राखेनन् । ‘सरकारले मलाई के चाहना छ भनेर सोध्दा मैले केही भन्न सकिनँ,’ उनले विगतलाई सम्झिए, ‘मलाई केही बोल्नै आएन अनि ए, हजूर मात्रै भनेँ ।’ त्यसपछि दीपेन्द्रले उनलाई दरबार आउनू भनेका थिए तर उनी गएनन् । ‘दरबार जाने कामै नपर्दोरहेछ,’ उनले भने, ‘त्यसैले बोलाउँदा पनि गइनँ ।’ यो सन् १९९६ तिरको कुरा हो । यद्यपि उनले सरकारबाट केही नचाहे पनि त्यसबेला उनले त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहुजस्ता राजकीय तक्माबाट भने सम्मानित गरिएको थियो ।

सन् १९४८ मा जन्मेका आङरिता १५ वर्षको उमेरबाटै आरोहणमा लागेका हुन् । पुख्र्यौली पेशा चौरीपालन थियो । उनको गाउँमा आलुबाहेक अन्य उत्पादन हुँदैनथ्यो । चौरीगोठमै आङरिताको बाल्यकाल बित्यो । आङरिताको बुबाको पालामा हिमाल चढ्न जाने चलन थिएन । आङछिरिङका अनुसार त्यसबेला खुम्बुका मान्छेहरु तिब्बतसँग व्यापार गरी जीविकोपार्जन गर्थे ।

१९५० पछि खुम्बुमा रहेका चर्चित हिमाल आरोहणका लागि खुला गरियो । विदेशीहरु हिमाल आरोहण आउन थालेसँगै खुम्बुका शेर्पाहरु विदेशीको सहयोगी बनेर आरोहणमा जान थाले । आङरिताका छरछिमेकी तथा साथी पनि आरोहण जान्थे ।

‘आम्दानीको स्रोत नहुँदा खुबै दुःख थियो, त्यसबेला,’ आङरिताले आरोहण लाग्दा ताकाको समय सम्झिए, ‘परिवार पाल्नकै लागि आरोहण थालेको हुँ।’ आङरिता शुरुमा विदेशीको भरिया बनेर टे«किङ जान्थे । पछि विदेशीको सहयोगी बनेर आरोहण शुरुवात गरे । पहिलो पटक उनले चोयु हिमालको आरोहण गरे । ‘चोयू हिमाल चढ्दा २० वर्ष जतिको थिएँ हुँला । सगरमाथा चढ्दा भने ३५ वर्षको पुगेको थिएँ कि !’ हिमाल चढ्दा पनि उनले अक्सिजनको प्रयोग गरेनन् । ‘मलाई अक्सिजन आवश्यकता नै परेन,’ उनले सुनाए, ‘यद्यपि गाह्रो होला कि भनेर एउटा अक्सिजन साथमा बोक्थेँ ।’ दुईचार वटा हिमालको आरोहण गरेपछि भने साथमा अक्सिजन पनि बोक्न छोडेको उनले सुनाए ।

आङरिता जति पटक हिमाल चढे, सबै अरुका लागि चढे । उनी हरेक पटक नयाँ आरोहीलाई लिएर सगरमाथा जान्थे । आङरिताले सौखिन भएर स्वेच्छाले आरोहण कहिल्यै गरेनन् । ‘हिमाल रहरले होइन, पेसाले चढेको हुँ,’ उनले भने, ‘म जति पटक चढेँ सबै पटक नयाँ आरोहीलाई चढाउन गएँ ।’ नाम राख्ने होडको पछि उनी कहिल्यै दौडेनन् । उनी काम गर्दै जाने सिलसिलामा विश्वमा नाम फैलियो । ‘अरुहरु अरुले बनाएको बाटोबाट चढेर फुर्ति गर्ने गर्छन्,’ उनले भने, ‘म आफूले बनाएको बाटोमा अरुलाई चढाएर गर्व गरेँ ।’

उनी अगाडि बाटो बनाउँदै जान्थे, सोही बाटो पछ्याउँदै आरोहीहरु चुचुरो चुम्थे । यसरी विदेशी चढाउन जाँदा आङरिता कति पटक असफल भए ? ‘आरोहणमा जाँदा म मात्र सफल भएर हुँदैन,’ उनले भने, ‘मैले लगेको आरोही आरोहण गर्न नसक्ने भएर बीचबाटै फर्किदा म पनि फर्कनुपथ्र्यो ।’ आङरिता यसरी सगरमाथाको आरोहणमा हिँडेर पाँच पटक चुचुरो नपुगी फर्कनुप¥यो । उनले जिम्मा लिएका सबै आरोहण सफल भएको भए आङरिता उर्फ हिमचितुवाले बिना अक्सिजन १५ पटक सगरमाथा आरोहण गर्ने व्यक्तिमा दरिन्थे । यद्यपि उनको १० पटकको विश्वकिर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । कसैले तोड्ला जस्तो पनि उनलाई लागेको छैन । गिनिज वल्र्ड रेर्कड्समै आफ्नै नाम सुनिश्चित सधैँ रहनेमा उनी विश्वस्त छन् । आङरिताले बिना अक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरोमा पाइला टेकेका थिए । सन् १९९६ मा दसौं पटक सगरमाथामा पाइला पु¥याए । यही वर्ष नै उनको अन्तिम आरोहण बन्यो । बिरामी परेपछि उनी आरोहणमा गएनन् ।

आङरिताले आरोहण सफलताको स्वाद मात्रै चाखेनन्, दुःखका पहाड पनि उक्ले । उसो त हिमाल चढ्नु मृत्युको बाटो अँगाल्नु जस्तै हो । हिमालमा जतिबेला पनि ज्यान जान सक्छ । हिम पहिरो आएर हिँड्दाहिँड्दै पुर्न सक्छ । टेकेको पाइला भासिएर दबिन सकिन्छ । मौसम बिग्रिएर हिउँले छोपिन सकिन्छ । आङरिता पनि दुई पटकसम्म हिउँमा भासिएर मृत्यूको रिहर्सल गरे तथापि भगवान् दाहिने भएकाले बाँचेको जस्तो लाग्छ उनलाई ।

हिउँचितुवा पनि दुःखको पहाड उक्लिदा थपिन गएको नाम हो । सन् १९८७ को हिउँदमा दुई कोरियन नागरिकसँग आङरिता चौथो शिविरभन्दा माथि थिए । हिउँ दर्किरहेको थियो । हुस्सुले बाटो देखिएको थिएन । आङरिता न माथि जान सके, न त तल ओर्लिन नै सके । कोरियाली नागरिकसँग अक्सिजन थियो । आङरिता भने बिना अक्सिजन । आङरिता जीवित छन् भनेर त्यो बेला कसैले अनुमान गरेका थिएनन् । उनलाई पनि आफूसँग कृत्रिम अक्सिजन नभएर शरीर चिसिएर मरिन्छ जस्तो लागेको थियो । ज्यान जोगाउन आङरिताले हिउँ खोस्रिएर बसे । भोलिपल्ट कोरियनसहित सकुशल आधार शिविर झरेपछि कसैले ‘आङरिता त हिउँचितुवा रहेछ’ भनेर हल्ला फैलायो । शुरुमा आङरितालाई हिमचितुवा भनेको मन परेन । पछि शेर्पा समुदायले हिमचितुवा भनेको हिमालमा हुने बलियो पशु हो । जसलाई न अक्सिजन चाहिन्छ न हिउँले छुन्छ । आङरिता पनि हिउँचितुवाजस्तै भएकाले उपनाम राखिएको भनेपछि आङरिताले हिमचितुवा नाम स्वीकारे । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘आङरिताले अदम्य साहस र मृत्युलाई जितेर हिमचितुवाको उपलब्धि हासिल गरेका हुन् ।’

एक समय त आङरितालाई हिमाल चढ्न भ्याइ नभ्याइ हुन्थ्यो । आङरिता फ्रिलान्सर आरोही थिए । ‘हिमाल चढ्न आउने धेरै आरोहीले आङरितालाई चिन्थे, त्यसैले उनलाई गाइड लैजान खोज्थे,’ आङरिताका साथी आङछिरिङले भने, ‘आङरिताको कुनै कम्पनी थिएन । उनी जुन कम्पनीबाट पनि जान्थे । पाँच पटक त मेरै कम्पनीबाट सगरमाथा आरोहणमा गए ।’

आङरिताको नाम संसारभर फैलँदा उनलाई भारतले किन्न खोजेको थियो । भारत सरकारले उता लैजाने प्रस्ताव पनि राख्यो । बस्नका निम्ति भारतले सबै व्यवस्था मिलायो पनि । ‘भारतमा आए छोराछोरीलाई लाहुरे र मलाई भने जस्तो व्यवस्था गर्ने भनिएको थियो,’ उनले भने, ‘तर, म गइनँ ।’ यद्यपि एकताका आङरिता भारत गएका थिए । त्यसबेला भारतले किनेको खबरसमेत बाहिर आयो । हिमाञ्चल प्रदेशमा एक हप्ताको पर्वतारोहण प्रशिक्षण दिएपश्चात् उनी स्वदेश फर्के । ‘मलाई आफ्नो देश, मातृभूमि त्याग्न कहिल्यै मन लागेन,’ उनले भने, ‘अहिले म दुःखमा हुँदा पनि त्यसबेलै भारत जानुपर्ने रै’छ जस्तो लाग्दैन ।’

 आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै थिए । सात पटक हिमाल चढे । छेवाङ दोर्जे भने अमेरिका छन् । कान्छा छोरा फुरानुरु खुम्बुमै छन् । चौरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका छन् । श्रीमती बितेको सात वर्ष भइसक्यो । त्यसयता छोरी सहारा भएकी छन् ।

छ महिनाअघि आङरिता बिरामी परे । त्यसयता उनलाई स्ट्रोकले ग्रस्त पारेको छ । मस्तिष्कमा आघात परेका कारण उनले क्रमशः आफ्नो स्मरणशक्ति गुमाएका छन् । उनले जीवनमा नामबाहेक धन कमाउन सकेनन् । धन कमाएको भए मेरो यो अवस्था हुँदैन थियो भन्ने उनलाई लागिरहन्छ । उनी भन्छन्, ‘हिमाल त हिउँ हेर्दा मात्रै राम्रो हो, पैसा त काम गरुन्जेललाई ठीक हुन्छ ।’ आङरिताले हिमाल चढ्दा राम्रै रकम पाउँथे । विदेशीले पनि आङरितासँग आरोहण गर्न पाउँदा राम्रै टिप्स दिन्थे तर आरोहीले कमाएको पैसा आरोहण गर्दा मात्रै ठिक्क हुने उनको धारणा छ ।

पर्यटन व्यवसायी आङछिरिङका अनुसार आरोहण सिजनल पेशा हो । चार महिना काम गरेर आठ महिना खानुपर्छ । एक सिजनमा एउटा आरोहीले पाँच लाख हाराहारी कमाउँछ । आरोहणमा जाने शेर्पाले आरोहण सफलताको कामना गर्दै पूजाआजामा खर्च गर्छन् । आरोहण सफल गरेर फर्केपछि पनि आरोहण सफल भएको खुसियालीमा मनग्गे खर्च गर्छन् । त्यसैले पनि आरोहणबाट पैसा कमाउन नसकेको आङछिरिङको भनाइ छ । आरोहीले हिमाल आरोहण गरेर देशका लागि नाम र विदेशीलाई चढाएर राजस्व भिœयाउँछन् तर उनीहरुको आर्थिक अवस्था भने जस्ताको तस्तै हुन्छ ।

‘आरोहीहरु पढ्ने उमेरमै आरोहणतिर लाग्छन्,’ उनले भने, ‘उमेर हुञ्जेल आरोहण गर्छन्, उमेर सकिएपछि न पढाइ हुन्छ न अन्य सम्पति नै !’ रिटायर्ड उमेरपछि आरोहीको जीवन सकसपूर्ण हुन पुग्छ । त्यसैले सरकारले आरोहीका लागि केही व्यवस्था गराइदिए हुन्थ्यो भन्ने पर्वतारोहण संघको अध्यक्ष हुँदा आङछिरिङले पहल गरेका थिए तर पनि सुनुवाई नभएकामा उनको चित्त दुखाइ छ । सामान्यतः आरोहीहरु चाँडो रोगीसमेत हुने गरेको उनको अध्ययनले देखाएको छ । त्यसैले आरोहीलाई सरकारले छुट््टै व्यवस्था गर्नुपर्ने उनी आङरिता बताउँछन् ।

 केही महिनाअघि हिमचितुवा बिरामी पर्दा उपचार खर्च नपाएर समस्यामा परेका थिए । त्यसबेलामा आङछिरिङ पर्वतारोहण संघको अध्यक्ष थिए । संघबाटै सबै उपचार गर्ने व्यवस्था मिलाए । सरकारको तर्फबाट पनि तत्कालीन पर्यटन मन्त्री भेट्न अस्पताल पुगे । उनले त्यहाँ १० लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरे । छोरी डोमाका अनुसार पटक–पटक धाउँदा बल्लतल्ल पाँच लाख हात प¥यो । ‘मन्त्रीले अस्पतालमा आएर १० लाख दिने घोषणा गरेका थिए,’ छोरी डोमाले भनिन्, ‘पटक–पटक धाउँदा अन्तिममा पाँच लाख हात प¥यो ।’ सरकारले दिने बाँकी पाँच लाख कता हरायो उनले केही भेउ पाइनन् ।

आङरिताले सरकारबाट यसबाहेक अन्य सेवा लिएका छैनन् । यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको भन्दै पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार दिँदैआएको छ । उक्त रकम भने केही महिनाअघि आएको नयाँ कार्यसमितिले भने नदिएको उनको गुनासो छ । बैठक गर्नुपर्ने भन्दै नयाँ कार्यसमितिले नदिएको आफूले सुनेको छोरीले बताइन् ।

बिना अक्सिजनको आरोहण

सन् २०१० मा क्यालिफोर्निया र वर्कले युनिभर्सिटीका रामस निल्सनले गरेको खोजबाट नेपाली तथा तिब्बती शेर्पाहरूको जीनमा मात्र ‘इपीएएस–१’ नामक उत्परिवर्तन हुने भएकाले उनीहरू कम अक्सिजनमै जीवन निर्वाह गर्नसक्ने देखिएको थियो । त्यही विशेष उत्परिवर्तनका कारण शेर्पाहरू सामान्य मानिसलाई चाहिने भन्दा ४० प्रतिशत कम अक्सिजन भएको वायुबाट पनि सजिलै काम चलाउन सक्छन् । यही कारणले ४ हजार मिटरभन्दा अग्ला स्थानमा पनि यो जातिले सहजै जीवनयापन गर्ने सामथ्र्य राख्छ । शेर्पाहरूको जीनमा विद्यमान ‘इपीएएस–१’ नामक म्युट्रेसन ८७ प्रतिशत शेर्पामा रहेको तथ्य पनि उक्त अनुसन्धानबाट पत्ता लागेको थियो ।

सन् २०१३ मा सम्पन्न ‘एक्स्ट्रीम एभरेस्ट–२’ नामक वैज्ञानिक आरोहणकी अंग रहेकी डेनी लेभेटले शेर्पाहरूको शारीरिक सबलता एवं उचाइमा काम गर्न सक्ने उनीहरूको क्षमताका सम्बन्धमा अध्ययन गरेकी थिइन् । लन्डनमा सम्पन्न वल्र्ड एक्स्ट्रिम मेडिसिन एक्स्पोमा प्रेषित गरिएको उनको अवधारणाअनुसार शेर्पाहरूको शरीरमा एउटा भिन्नै प्रकारको मानव कोष हुन्छ, जसले परिवर्तित वातावरणमा पनि शक्ति सिर्जना गर्न सक्छ । उक्त कोषलाई वैज्ञानिक भाषामा ‘मिटोकोन्ड्रिया’ भनिन्छ । शेर्पाहरूले अन्य साधारण मानिसभन्दा बेग्लै र प्रभावकारी काम गर्न सक्नुमा सोही ‘मिटोकोन्ड्रिया’को कमाल भएको बताएकी छन् ।

@nagarik pariwar magzine

 विश्वमणि पोखरेल/ खिलक बुढाथोकीका अन्य लेख तथा रचनाहरु