शेर्पा महिला–विगत र वर्तमान !

आङलमी शेर्पा 

२०७५ जेष्ठ ८, मंगलबार


एक सय भन्दा बढी जात जातिहरुको बसोबास रहेको देश नेपाल एक सुन्दर बगैँचा जस्तै सुन्दर छ । यहाँका विविध भौगोलिक बनावट तथा त्यसमा विकसित विविध सभ्यताहरुले नेपाल देशको सुन्दरता अझ मनमोहक बनाएको छ । हिमाली क्षेत्रहरुमा प्राचिन काल देखि नै विभिन्न जात जातिहरुको सभ्यताको विकास निरन्तर रुपमा भैरहेको छ । तिनै हिमाली जातिहरु मध्यका एक जाति हुन् शेर्पा ।
शेर्पा भाषामा “ श्यार” को अर्थ पूर्व र “पा” अथवा “वा” को अर्थ बासी अथवा बासिन्दा हुन जान्छ । अतः शेर्पाहरु पूर्वका बासिन्दाहरु हुन । श्यारपा वा शेर्पा भन्ने नाम तीब्बतका दिङरी बासीहरुले दिएको हो । तीब्बत भन्दा पूर्वमा छुट्टै स्वतन्त्र राज्य खाम रहेको शेर्पाका अध्ययता माईकल ओपिजले जनाएका छन् । खामबाट आएका बासिन्दाहरु नै कालान्तरमा शेर्पा भनिए । अर्का अध्ययता फ्युरररका अनुसार शेर्पाहरु खामबाट तीब्बत दिङरी हुँदै “ नाङपा” लाबाट खुम्बू क्षेत्रमा पन्ध्रौँ शताब्दीमा भित्रीएका थिए । तर उनीहरु सातौ आठौँ शताब्दीमा नै खाम छाडी खुम्बू क्षेत्रमा बसोबास गर्न थालेको दाबी गर्दछन् । हाल शेर्पाहरु जनसंख्या् बृद्धि सँगै वृत्ति विकासको निम्ती नेपालको पूर्वी हिमाली लेकाली तथा पहाडी क्षेत्रहरुमा फैलिएर रहेका छन् । शेर्पाहरुको जनसँख्या तीन लाख भन्दा बढी रहेको पाईन्छ ।
शेर्पाहरु बौद्धमार्गी हुन् । सिद्धार्थ गौतम बुद्धको दर्शनलाई आफ्नो जीवनको अमूल्य सम्पत्ति तथा आस्थाको केन्द्रको रुपमा अङ्गालेका छन् । पञ्चशीललाई जीवन पद्धतिमा अपनाएका छन् । हत्या, हिंसाबाट टाडै रहन रुचाउने यी हिमाली शेर्पाहरु शान्ती प्रेमी छन् । सभ्यताको सुरुवात देखि नै यिनीहरुको पारिवारिक ढाँचा पितृसतात्मक रहेको पाईन्छ । नेपालका जनजातिहरु मध्य शेर्पाहरुलाई आर्थिक रुपले केही सम्वृद्ध तथा महिला पुरुषमा त्यति भेदभाव नगर्ने जातिको रुपमा हेरिन्छ ।
शेर्पा समुदायमा शेर्पा महिलाहरुको अवस्था कस्तो रहेको छ ? प्राप्त श्रोतहरुको आधारमा पन्ध्रौ शताब्दीमा शेर्पा समाज पितृसतात्मक समाज रहेको थियो । घर तथा समाजको हरेक मुख्य काममा पुरुषकै वर्चस्व रहन्थ्यो । त्यस पश्चात् सेनवंशी, राणाकाल, शाहकालमा समेत पितृसतात्मकताको निरन्तरता पाईन्छ । त्यसताका राज्यको प्रतिनिधिको रुपमा नियुत्त भएका तालुकदार, मुखिया, जिम्वल, पेम्बु सबै पुरुष नै थिए । अतः महिलालाई जिम्मेवारी भूमिकाबाट बन्चित गरिएको थियो । त्यसताका एकै पुरुषले धेरै श्रीमतीहरु विवाह गर्ने गरेको पाईन्छ । यदाकदा केही लेखकहरुले शेर्पा समाजमा बहुपतिप्रथा वर्तमानकालमा समेत प्रचलनमा रहेको भ्रामक कुराहरु लेखेका छन् तर यो प्रथा कहीँ कतै भेटिएको छैन । अध्ययन तथा खोजको दरिद्रताले गर्दा त्यस्ता भ्रामक कुरा लेखिएको हुनसक्छ । शेर्पा समाजमा बहुपति प्रथा प्रचलनमा रहेको पाईदैन । फुपू तथा मामाका छोराछारीहरु बिच पनि विवाहबारी चलाउँदैनन् । तर विधवा भाउजू विवाह र श्रीमती दिवंगत भए साली विवाह चाहीँ अपनाउने प्रथा रहेको पाईन्छ ।
सामाजिक अवस्था
पितृसतात्मक शेर्पा समाजमा पुरुषकै वर्चस्व थियो विगतमा । घरायसी कामको निर्णयको अधिकार शेर्पा महिलालाई भएतापनि सामाजिक पक्षका मूख्य–मूख्य अधिकार जस्तै विवाह जस्तो कुराको निर्णय गर्ने अधिकार केवल पुरुषलाई मात्र थियो जुन वर्तमान कालमा समेत कायमै छ । समाजका हरेक कृयाकलापहरुम “पूरुष पहिला” को परम्पारा हाल पनि कायमै छ । जस्तै पिउने, खाने कुरा सर्वप्रथम पुरुषलाई टक्रयाउनु पर्ने, कतै निस्कदा पुरुषलाई अगाडि लगाउनु पर्ने, अग्लो तथा माथिल्लो स्थानमा पुरुषको आसन राख्न पर्ने, खाना खाने थाल तथा छ्याङ खाने चेनी (कप) ठूलो हुने तर महिलाको चेनी सानो हुने जस्ता विभेदकारी प्रथाहरु हाल पनि शेर्पा समाजमा व्याप्त छन् ।
आर्थिक अवस्था
विगतदेखि वर्तमानकाल सम्ममा पनि शेर्पा महिलाहरुलाई घरको मुख्य आर्थिक कारोबारको निर्णय गर्ने अधिकार दिईएको पाईदैन । जग्गा, जमिन, व्यापार आदिको अधिकार महिलालाई दिइएको छैन । शेर्पा समाजमा छोरीलाई पैतृक सम्पत्तिबाट बन्चित गराईएको थियो । जग्गा जमिन छोरीलाई दिईदैन थियो । दाइजोको रुपमा केवल घरायसी सामाग्री, केही गर गहना तथा पशुधनहरु मात्र दिईन्थ्यो । नेपालमा आएको २०६२÷०६३ सालपछिकोे महान परिवर्तन पश्चात् स्थापित नयाँ संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ नेपालमा समेत शेर्पा महिलाहरुले सम्पत्तिमा कुनै अधिकार पाएका छैनन् । फलस्वरुप उनीहरुको वृत्ति विकासमा समेत ठूलो असर परिरहेको छ । सम्पत्तीमा शेर्पा महिलाको अधिकार नभएकै कारणले गर्दा सँधै अरुमा आश्रित हुनु पर्ने तथा हिंसात्मक दमन समेत सहन बाध्य हुनु परेको अवस्था छ ।
शैक्षिक अवस्था
परम्रागत बौद्ध धार्मिक शिक्षा प्रणालीमा केवल शेर्पा पुरुषहरुले मात्र माथिल्लो स्तरको अध्ययन गर्न सक्दछन् । शेर्पा महिला त्यो अवसरबाट बन्चित छन् । त्यस्तै समाजमा धार्मिक आस्थाको रुपमा रहेको अवतारी तथा रिन्पोछे जस्तो उपल्लो स्थानमा केवल पुरुषहरु मात्र छन् । यस अवसरबाट महिलाहरुलाई वन्चित गराईएको छ । गोन्पामा अध्ययनरत भिक्षुणी आनीहरुलाई अभिशेकको व्यवस्था समेत गरिएको छैन । पुरुष लामाहरुलाई भन्दा महिला आनीहरुलाई कैयौँ गुणा बढी शीलहरुको व्यवस्था गरी सिमित दायराभित्र खुम्चाउने चेष्टा गरेको पाईन्छ । यो अवस्था प्राचीन कालदेखि हालसम्म विद्यमान छ ।     
त्यस्तै गरेर आधुनिक शिक्षामा शेर्पा महिलाको पहँुच गाउँ स्तरमा असाध्य कम छ । स्कुलहरु गाउँबाट टाढा हुनु, घरायसी काममा लाग्न बाध्य पारिनु, अभिभावक नै अशिक्षित भएकाले छोरीहरुलाई राम्रो शिक्षा दिनु, हिमाली तथा लेकाली गाउँ बस्तीहरुमा अझै सहज भईरहेको छैन । शहरहरुमा भने शेर्पाहरुले छोरा छोरी दुवैलाई पढाएका छन् । तर उच्च शिक्षामा छोरीको सँख्या अझै पनि न्यून नै छ । शिक्षाको अवसरबाट वन्चित हुनु परेको कारणले नै आज शेर्पा महिलाहरु राज्यको  उपल्लो तहमा पुग्न सकेका छैनन् ।
राजनैतिक अवस्था
प्राचीन कालदेखि नै शेर्पा समाजमा राजनैतिक रुपमा पुरुष नै सक्रिय रहेको पाईएको छ । शेर्पा महिलालाई केवल घरधन्दा, परिवारको हेरचाह र बारी पाखामै सिमित राखिएको पाईन्छ । अपवादको रुपमा स्व. छिरिङ डोमा शेर्पालाई लिन सकिन्छ जो पञ्चकालमा सोलुखुम्बू जिल्लाको खुम्जुङ गाउँ विकास समितीकी अध्यक्ष थिईन् । तिनी पनि एकल महिला रहेकोले पारिवारिक जिम्मेवारी नभएकोले मौका पाएकी थिईन् । राज्यबाट मनोनित गरिने सांसद पदमा समेत पुरुषहरुलाई मात्र प्राथमिकता दिईयो । शेर्पा महिलाले मौका पाएनन् । पछिल्लो समयमा आएर केही नगन्य शेर्पा महिलाहरु राजनीतिमा आवद्ध भएको पाईन्छ । ती मध्य याङकिला शेर्पा पर्यटन  राज्य मन्त्री समेत भईन् । सांसद सभासद पदमा केवल तीन जना महिला मात्र पुग्न सफल भए । तर हाल यो संख्या शून्य रहेको छ । एक त समाजले नै शेर्पा महिलालाई बाहिर निस्कन प्रेरित नगर्ने, अर्को तर्फ राजनैतिक पार्टीहरुले समेत जिम्मेवारीपूर्ण भूमिका निभाउने अवसर प्रदान गर्न कन्जुस्याई गरिरहेको अवस्था छ । शायद नाफा नोक्सानको जोड घटाउ नमिलेर होला ।
बाहिरी समाजले शेर्पा महिलाहरुलाई बढी स्वतन्त्रता र बढी अर्थिक अधिकार प्राप्त गर्ने महिलाको रुपमा लिएको पाईन्छ । तर वास्तविक यथार्थ यसको विपरित रहेको छ । शेर्पा महिलाहरु पछिल्लो समयमा आएर घर व्यवहार, आय आर्जन तथा धर्म संस्कृति जगेर्नामा समेत लाग्नु पर्ने भएकोले कामको ओभरलोडले ग्रसित छन् । जसले गर्दा व्यक्तित्व विकास, शिक्षा आर्जन, राजनैतिक आवद्धता जस्ता अवसरहरुबाट बन्चित रहेका छन् । पछिल्लो चरणमा हिन्दू समाजको सामिप्यतामा मनुस्मृतीका भावहरु समेत शेर्पा पुरुषहरुमा जागृत भएको शेर्पा महिलाहरुले महशुस गरेका छन् । शेर्पा पुरुषहरु शहरमा आएर व्यक्तित्व विकास गर्ने, व्यापार आदिबाट आर्थिक स्तर सुधार्ने, देश विदेश घुम्ने तर त्यो अवसर आफ्नै श्रीमतीलाई समेत प्रदान नगर्दा आफ्नो स्तर र हैसियत नमिलेको बहानामा उसलाई गाउँमै राख्ने या शहरमा ल्याए पनि चौघरामा सिमित राख्ने गर्दछन् । त्यस पश्चात् आफ्नो नयाँ औकात अनुसारको नयाँ केटी विवाह गर्ने जस्ता विकृती झाङ्गिर्दै गएको छ ।
शेर्पा महिलाहरुको स्तरलाई माथि उठाउन उनीहरुलाई उचित शिक्षा, तालिम, रोजगार तथा सरकारी निजामती सेवामा अवसर दिईनु पर्दछ । शेर्पा छोरीहरुलाई दाईजो होईन उचित शिक्षा तथा छोरा सरह पैतृक सम्पत्तिमा अधिकार दिईनु पर्दछ तव मात्र ऊ स्वावलम्बी बन्न सक्दछ । राज्यले तेतिस प्रतिशत होईन जनसंख्याको प्रतिशतको आधारमा एकाउन्न प्रतिशत महिला समावेसिता हरेक तह र तप्कामा कायम गर्नु पर्दछ । जसले गर्दा बढी भन्दा बढी शेर्पा महिलाहरु समेत राज्यको हरेक निकायको नीति निर्माण तह सम्ममा पुग्न सक्दछन् र आफ्नो, परिवार, क्षेत्र, समुदाय लगायत सिङ्गो राष्ट्रको विकास तथा सेवामा योगदान प्रदान गर्ने मौका प्राप्त गर्न सक्दछन् । 


अध्येताः बुद्धिजम एण्ड हिमालयन स्टडिज
anglami197@gmail.com


 
 

आङलमी शेर्पा का अन्य लेख तथा रचनाहरु