एउटा बिरुवाको मूल्य ३५ हजार रुपैयाँ, के फल्छ यसमा, ‘सुन कि सुन्तला’ ?

२०७५ जेष्ठ ६, आईतबार


पेशाले शिक्षक हुन्, धापासी, टोखाका रमेश कुँवर । तर, चिनिन्छन्, ‘बोन्साई आर्टिस्ट’का रुपमा । उनको बगैंचामा ४८ वर्षसम्म पुराना बोन्साई गरिएका बिरुवा छन् । बोन्साइको विशेषता के हो भने जति पुरानो, उति महँगो । उनले एउटा बिरुवालाई ३५ हजार रुपैयाँसम्ममा बिक्री गरेका छन् ।

जापानमा ‘लिभिङ आर्ट’का रुपमा अत्यधिक चलनचल्तीमा छ, बोन्साई । धेरै अग्ला र ठूला रुखहरुलाई सानो स्वरुपमा ढालेर घरको कोठा, छत, कौसी, बगैंचा या जहाँ कहीँ सजाउने मनमोहक कला । बिरूवाको वृद्धि रोकेर सानो बनाइराख्ने तर बढ्न पनि नदिने, मर्न पनि नदिने मिनिएचर अर्थात् प्रतिरुप विधि ।

तपाईंले कहीँ कतै सानो गमलामै सानै बिरुवाबाट अनार, आँप फलेको देख्नुभएकै होला । त्यो पनि ‘बोन्साई’ हो । शहरी र ग्रामीण इलाकामा जानेर नजानेर बोन्साई गरिरहेका नेपाली भेटिन्छन् । जस्तै: एउटा पीपल बिरुवालाई सानो गमलामा राखेर पूजा गर्नु बोन्साईजस्तै हो । तर, त्यसमा सुन्दरता दिन सकिएको छैन भने त्यो बोन्साई होइन ।

‘बोन्साई भनेको रुखको आकारलाई सानो बनाउनु मात्रै हो, रुखको खास विशेषता मर्न दिनुहुँदैन,’ रमेश भन्छन्, ‘टाढाबाट हेर्दा ठूलो रुख जसरी सानो आकारमा देखिन्छ, बोन्साई गर्दा त्यस्तै बनाउनुपर्छ ।’

रमेशका अनुसार गमलामा मोटो, झ्याम्म परेको रुख र छोटो हुँदैमा बोन्साई हुँदैन । यसलाई मौलिक अनि प्राकृतिक सुन्दरता र असली आकार दिनुपर्छ । कतिखेर रिपोर्टिङ गर्ने, कतिखेर वाइरिङ गर्ने र कतिखेर पुटिङ गर्ने भन्नेमा निर्भर रहन्छ । जसले बिरुवालाई सुन्दर बनाउन सकियोस् ।

रमेशलाई बोन्साई विचार कसरी आयो त ? ‘म सानैदेखि बोटबिरुवाप्रति हुरुक्क हुन्थेँ । खाजा खान दिएको पैसाले बिरुवा किनेर ल्याउँथे र त्यसलाई स्याहारसुसार गर्थें,’ उनी सुनाउँछन् । रमेश मात्र होइन, नेपालमा पनि बोन्साई प्रविधिको नर्सरी व्यवसाय विस्तारै फैलिँदैछ । नर्सरी व्यवसायमा बोन्साई गरेका बिरुवा सबैभन्दा महँगोमा बिक्री हुन्छन् ।

रामेशजस्ता बोन्साई आर्टिस्ट भने एकदमै थोरै छन् । उनीहरु राम्रो मूल्य पाउँदा पनि दुःखजिलो गरी तयार गरेका बिरुवाहरु हत्तपत्त बिक्री गर्न तम्सिँदैनन् । बोन्साई नबुझेकालाई अझ उनी बेच्दै बेच्दैनन् ।

‘बोन्साई नजान्नेलाई म लाख रुपैयाँ पाए पनि बिरुवा दिन्नँ,’ उनी भन्छन्, ‘कम्तीमा त्यसलाई कसरी केयर गर्ने, फर्टिलाइजर के दिने, कस्तो आकार दिने भन्ने सीप चाहिन्छ ।’ मोटामोटी आकार–प्रकार, रुखको प्रजाति र उमेर हेरेर यसको मूल्य निर्धारण हुन्छ ।

अघि नै लेखिसकियो– बोन्साई जापानी कला हो । त्यहाँका हरेक घरमा कम्तीमा एउटा बोन्साई गरेका बिरुवा हुन्छ । कतिको घरमा बाजेहरुकै पालामा तयार गरेका बिरुवा छन् । जसलाई उनीहरु अमूल्य सम्पत्तिका रुपमा लिन्छन् । बिदेशमा एउटा बिरुवाको मूल्य १८ करोड रुपैयाँसम्म तिर्नेहरु भेटिएका छन् । यस्ता बिरुवाहरुको आयु सात सय वर्षसम्म हुन्छ । ‘बोन्साईमा पुराना पुस्तासँग नयाँ पुस्ताको भावना जोडिएको हुन्छ,’ रमेश भन्छन्, ‘भावी सन्ततिलाई पुर्खाका बारेमा अध्ययन गर्न पनि सहयोगी हुन्छ ।’

जापान, चीनजस्ता मुलुकमा बोन्साईको मिठास देखेका घरानियाँ परिवार बिरुवा खोज्दै नर्सरीसम्म आउने रमेशको अनुभव छ । उनी काठमाडौँमा बोन्साईको विकल्प पनि देख्दैनन् । किनभने यहाँ ठूला रुख रोप्ने स्थानका अभाव छ । त्यसको विकल्प भनेका बोन्साईका बिरुवाहरु नै हुन् ।

बोन्साईका पारखीहरु बढ्दै गएकोले यसले व्यावसायिक रुप पनि लिन थालेको छ । ठाउँठाउँमा बोन्साई नर्सरी खोलिएका छन् । सहरी घरमा वर, पीपल, धूपी, सल्ला लगायत बोन्साई गरिएका कुनै न कुनै बिरुवा भेटिन्छन् । जाडोमा घाम नछेक्ने र गर्मीमा शीतल दिने बिरुवा । पुष्पपारखीहरुले बोन्साई त्यसै मन पराइहाल्छन् ।

बोन्साईबारे अनुसन्धान गर्न र सिक्नको चाहनेहरु रमेशको नर्सरीमा आइपुग्छन् । आफूले जानेको कला सिकाउन पाउदा उनलाई थप उत्साह लाग्छ । बजारको ठूलो सम्भावना रहेकाले नयाँ पुस्तालाई कला सिकाउन उनी जरुरी ठान्छन् । ‘यो व्यवसायमा पैसा त जति पनि छ । तर, त्यो भन्दा ठूलो कुरा इच्छाशक्ति र लगन चाहिन्छ,’ उनी भन्छन् ।

शहरको सन्दरता नै बिरुवामा लुकेको हुन्छ । हाम्रा शहरलाई सुन्दर बनाउन पनि बोन्साईको आवश्यकता बढिरहेको छ । मान्छेलाई सुन्दरता चाहिएको छ, आनन्द चाहिएको छ । त्यो पैसाले होइन, प्रकृतिले दिन्छ । शहरको केही आना जमिनमा घर बनाएर बस्ने बिरूवाप्रेमी बोन्साईमा आकर्षित छन् । ठूलो ठाउँ नचाहिने, सुन्दरता दिने, अक्सिजन दिने, धूलो–धूवाँ छेक्ने, ग्लोबल वार्मिङ पनि कम गर्ने । छैन त गजब !