अब सचेत हुने पालो पुरुषको

सिता मादेम्बा

२०७५ जेष्ठ ३, विहिबार


धरानकी  सीता थापा क्षेत्रीका छोराछोरी स्कुल जाने भैसकेका थिए। कापीकलम किन्न र खाजा खान पैसा माग्दा सीता भन्थिन्-  बाबाले ल्याउनुहुन्छ, अनि दिउँला।

नानीहरूको अनुहार अँध्यारो हुन्थ्यो, सीताको मन  कुँडिन्थ्यो।

बिहान-बेलुकाबाहेक घरमा खासै  काम हुन्थेन। दुईचार पैसाका लागि पनि श्रीमानकै भर पर्नुपर्ने। सीतालाई उकुसमुकुस हुन थल्यो।

‘कति दिन माग्नु?’ उनले भनिन्, ‘यसरी भएन भनेर काम के गर्ने सोच्न थालें। अरु महिलाले रिक्सा  चलाएको देखें। मलाई पनि साहस आयो।’

उनले विद्युतीय रिक्सा चलाउन थालिन्।

घरको समस्या त टर्‍यो। सडकमा समस्या सुरू हुनथाल्यो। कहिले रिक्सा चालकसँग, कहिले ट्राफिकसँग।

‘यात्रुलाई रिक्सामा बसाल्न तानातानै हुन्छ। यस्तोबेला झगडा पर्छ। केटाहरूले प्याच्चै नराम्रो बोल्छन् सुन्नै गाह्रो हुन्छ,’ सीताले भनिन्।

धरानमा विद्युतीय रिक्साको स्टेशन छैन। त्यसैले ट्राफिकको खेदाइमा पर्नुपर्छ। महिला रिक्सा चालकलाई झन् ट्राफिक पुलिसले जानाजान अपमान गर्छन्।

‘एक दिन म रिक्सा रोकेर बसेको बेला ट्राफिक प्रहरीले नराम्रो व्यवहार गरे। म सिधै ट्राफिक प्रहरी कार्यलयमा गएर उजुरी गरें,’ उनले भनिन् ।

अम्बिका बस्नेत पहाडबाट धरान झरेको ७ वर्ष भयो। श्रीमान् पैसा कमाउन खाडीतिर गए। अम्बिका भने रिक्सा चलाउन थालिन्। घर धान्न आफ्नै कमाइले पुग्यो।

पहिलेपहिले उनको धक मान्ने स्वभाव थियो। उनलाई मान्छेसँग बोल्नै हम्मे हुन्थ्यो।

जब रिक्सा चलाउन थालिन् अचेल उनी हिम्मतिली भएकी छन्। दिनदिनै प्रहरी र रिक्सावालसँग झगडा जो पर्छ।

उनले रिक्सा लिएर सडकमा झरेपछि सबैभन्दा ठूलो पीडा रिक्सा चलाउने पुरुषलाई भयो। सुरुमा त उनलाई रिक्सा कुदाउन दिँदैनथे। यात्रु भने बैनीले चलाएको रिक्सामा नै चढछौं भन्दै आउँथे।

बोल्नसम्म धक मान्ने अम्बिकाले एकदिन सफारी चलाउने एकजना दाइलाई झापड हान्नुपर्योम। यात्रु उनको रिक्सामा चढेपछि ती दाइ उनको रिक्सामा झुण्डिए।

‘उसकोमा यात्रु चढेन भनेर मेरो सफारीको पछाडि झुन्डिएकोझुन्डियै गरेपछि झरेर झापड लगाइदिएँ बल्ल उनले छोडे,’ उनले भनिन्, ‘चुप लाग्दा त कमजोर भनेर हेप्ने रहेछन्।’

हिमाली राईको पनि पुरुषहरूले निकै हेपाहा सोचाइ राख्ने अनुभव छ। उनले रिक्सा कुदाउन थालेको एक वर्ष भयो ।

‘रिक्सा कुदाउँदा नक्कली केटी भन्दै खिल्ली उडाउँछन्। यस्तो सुन्दा हेपिएको अनुभव हुन्छ,’ उनले भनिन्,’रिक्सा चलाउन सुरू गर्दा छिमेकीले पनि कुरा काट्थे । पोइला जान्छे, केटाहरू ल्याउछे भन्थे।  साह्रै चित्त दुख्थ्यो।’

उनीहरुमात्र होइन धरानका धेरैजसो महिला रिक्सा चालकको यही अनुभव छ – पुरुष रिक्सावाल, ट्राफिक  र नगरपालिकाका कर्मचारीसँग पाइला पाइलामा झगडा पर्छ।

महिलाहरू काम गर्न र आफ्ना लागि लड्न तम्तयार देख्दा पुरुषहरूले नराम्रा शब्द बोलेर भए पनि उनीहरूलाई जित्न खोज्छन्। अपशब्द सुनेपछि महिला चुप जो हुन्छन्।

मैले कुराकानी गरेका तीनै जना महिला रिक्साचालकले काम गर्ने ठाउँमा पुरुषहरूले अपशब्द बोले पनि एउटा कानले सुन्ने र अर्कोले उडाइदिने गरेको बताए।

रिक्सा चलाउँदा उनीहरूले संगालेका अनुभव र घटनाक्रमले  नेपाली महिलाहरूले कार्यस्थलमा भोग्दै आएका  समस्याको प्रतिनिधित्व गर्छ। पहिलेको तुलनामा अहिलेका महिला विभेद र हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएका छन्। तर उनीहरूले अँगालेको पेसामा सम्मानजनक र सुरक्षित वातावरण निर्माण भइसकेको छैन।

समस्या नेपालमा मात्र छैन। विकसित मुलकमा चलेको ‘मी टु’ अभियानबाट पनि प्रष्ट छ कि संसारका महिलाले कार्यथलोमा विभिन्न अपहेलना र हिंसा सहँदै आएका छन्। जुन महिलाका निम्ति प्रगतिको बाधकको रूपमा देखिएको छ।

महिलाहरुमाथि हुने गरेका विभिन्न विभेदको नियन्त्रण त उनीहरू आर्थिक रूपमा बलियो र स्वावलम्बी भएपछि मात्र हुन्छ।

आजको समाजका महिला चुनौती र विभेदसँग पौंठेजोरी खेल्दै आर्थिक रूपमा आत्मनिर्भर हुन चाहन्छन्। महिलाका यस्ता प्रयासलाई प्रोत्साहन र सहयोग गर्न सकेमात्र समाजमा आत्मसम्मानसाथ आफ्नो पेशा र व्यावसाय गर्न सक्ने छन्। यसले महिलामाथि हुने विभिन्न किसिमका विभेद कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।

नेपालमा संविधान बन्न थालेपछि लिंगका आधारमा कुनै पनि भेदभाव गरिने छैन भन्ने पनि लेख्न थालिएको हो। संविधान र कानूनमा लेख्दैमा विभेदको अन्त्य हुन्न। त्यसैले त आज पनि महिलामाथि हुने हिंसा कार्यस्थलमा हुने अपमान कायम नै देखिन्छ।

अन्य कार्यस्थलमा महिलाहरूको संख्या बढेको छ। मुलुकको शासन सत्ता चलाउने राजनीतिमा महिलाको उपस्थिति गुणात्मक छैन। दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। स्थानीय तहमा करिव ४०प्रतिशत महिला निर्वाचित भए। संघीय संसदमा ३२ र प्रदेश सभामा ३४ प्रतिशत महिलाको सहभागिता छ।

यी उदाहरणबाट के देखिन्छ भने संविधानमा प्राप्त अधिकार व्यवहारमा लागु गर्न निकै कठिन छ। खाइपाइ आएको अवसर र शक्ति हस्तान्तरण गर्न पुरुष नेतृत्व तयार छैन। राजनीतिमै महिलाले विभेद भोग्नु परेको छ।

राष्ट्रपति,  सभामुख र प्रधानन्यायाधीशजस्ता उच्च पदमा महिला पुगेको विषय गर्व गर्न लायक भए पनि समाजमा दैनिक हुने महिलाविरुद्धका हिंसा, अन्याय, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक विभेदहरू भने कायमै छन्।

महिला अधिकारको क्षेत्रमा काम गर्नेहरुले महिलालाई मात्र आफ्नो अधिकारको बारेमा सचेत गराउँदै आएका छन्।

हुन त विभेद जसले भोगिरहेका छन् उनैलाई सचेत गराउनु प्राथमिक काम हो। अचेल महिलाहरू सचेत हुँदै गएका छन्। अब पालो पुरुषहरूलाई सचेत बनाउने हो।

जसले विभेद गरेका छन् र वा वभेदको फाइदा लिएका छन् तिनलाई पनि महिलाअधिकारबारे सचेत गराउनुपर्छ।

महिलासँगै राखेर उनीहरूका लोग्ने, दाजुभाइ,  बुवा, हजुरबुवा,  सासु, नन्द  र छरछिमेकलाई पनि विभेदका विषयमा बराबर हुने छलफलमा सहभागी गराउनु पर्छ।

धरानमा पुरूषले मात्र चलाउने गरेको रिक्सा सीता, अम्बिका र हिमालीले पनि चलाउन थाले। उनीहरूले काम गरेर घर धान्न सक्ने भए। आफ्ना लागि बोल्न र लड्न सक्ने भए।

अन्त पनि यसैगरी महिला सचेत हुँदै छन्।

अब पालो पुरुषहरुको हो। उनीहरुभित्रको पुरानै सोच र हेपाहा प्रवृत्ति अन्त्य नभएसम्म समाज परिवर्तन हुन्न। कार्यस्थल महिलाका लागि सुरक्षित हुन्न।

@सेतोपाटीबाट सभार गरिएको

सिता मादेम्बाका अन्य लेख तथा रचनाहरु