मकालु आरोहण गरी फर्किने क्रममा एक शेर्पाको मृत्यु

सार्की शेर्पा

२०७५ जेष्ठ २, बुधबार


काठमाडौं (शेर्पाखबर) । मकालु हिमाल आरोहणका क्रममा एक शेर्पाको मृत्यु भएको छ । सोलुखुम्बु दधकुण्ड–८ लखोपका आङ दावा शेर्पाको जेठ १ गते विहान २ बजे समयमा मृत्यु भएको हो । 
ट्रेक्स शेर्पा एक्सपिडिसनबाट चिनियाँ टोलीको अगुवाई गर्दै आरोहण दलसहित त्यसतर्फ गएको र आरोहण गरी फर्किने क्रममा मृत्यु भएको पर्यटन बोर्डका रामप्रसाद सापकोटाले जानकारी दिए । शेर्पालाई सोमबार नै उद्धार गर्नु पर्ने भएपनि मौसम खराबीले उद्धार हुन नसक्दा निधन भएको परिवारका सदस्य दावा याङ्जुम शेर्पाले जानकारी दिइन् । शेर्पाको शवलाई हेलिकोप्टरमार्फत राजधानी ल्याई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । ३२ बर्षिय शेर्पाको एक छोरी, छोरी र श्रीमती छन् । 
पर्वतारोहणका क्रममा बर्षेनी आरोहण दलका सदस्यले ज्यान गुमाउने क्रम चलिरहेपनि घटना न्यूनिकरण गनर्के यथोचित उपायहरु राज्यबाट अबलम्बन नगर्दा दुर्घटना बढी क्षति व्यहोर्नुपरेको भन्दै सुरक्षित पर्वतारोहण नीति अबलम्बन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।