आर्थिक अपचलनको आरोपमा सचिव शेर्पा निष्काशित

पेम्बा शेर्पा

२०७५ जेष्ठ २, बुधबार


काठमाडौं (शेर्पाखबर) । आर्थिक हिनामिना गरेको आरोपमा नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय सचिव सागर शेर्पा निष्काशनमा परेका छन् । संघ केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै शेर्पालाई केन्द्रीय सचिव र जिल्ला अध्यक्ष समेतबाट निष्काशन गरेको जनाएको हो । 
सोलुखुम्बु जिल्ला अध्यक्ष समेत रहेको शेर्पामाथि संघको लोसार कार्यक्रमको संयोजक हुँदा ताका संकलन भएको सहयोग रकम हिनामिना गरेको आरोप छ । उनले सोलुखुम्बुमा लोसार सांस्कृतीक कार्यक्रम हुँदाको हिसावकिताब समेत नबुझाएकोले आर्थिक अपचलनको आरोपमा निष्काशन गरेको संघका केन्द्रीय अध्यक्ष साङ्गे मिङमा शेर्पाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
तत्कालिन अध्यक्ष शेर्पाले के कति रकम हिनामिना गरे भन्ने सम्बन्धमा भने विज्ञप्तिमा उल्लेख छैन । ‘कार्यक्रमका लागि विभिन्न व्यक्तिबाट सहयोग, कार्यक्रम प्रयोजन वापत उठाएको लाखौं रकम हिनामिना गरेको’ उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘२१४५ औं राष्ट्रिय ग्याल्बो लोसारको अवसरमा शेर्पा ल्होसार साँझ सांस्कृतीक कार्यक्रम आयोजना गर्न संयोजक सागर शेर्पाले गैर जिम्मेवार तरिकाले संगठनको मूल्य मान्यता, अनुशासन र हित विपरित आफ्नो पदीय मर्यादा र हैसियत समेतको ख्याल नगरी संस्थाको आर्थिक हिनामिना गरेको हुँदा साथै जिल्ला कार्य समिति सोलुखुम्बुको जिल्ला अध्यक्ष पदमा रहदै गर्दा पनि लाखौंको आर्थिक हिनामिना गरेको प्रमाणित भएकाले’ उल्लेख छ । 
शेर्पालाई ‘साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएकोले निजसँग संघको नाममा कुनै काम कार्वाही कहिकतै नगर्न, नगराउन’ समेत भनेको छ । आर्थिक हिनामिनाको आरोपका विषयमा शेर्पासँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । 
संघ शेर्पा समुदायको हक, हित र अधिकारका साथै शिक्षामा व्यापकता, वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणालीलाई अघि सार्दै रोजगारी, स्वास्थ्य, भाषा, धर्म र संस्कृती, भेषभूषा, रितीरिवाज संस्कारको लागि निरन्तर क्रियाशिल रहँदै आएको समेत विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति मार्फत संघले संगठनको लामो गौरवशाली इतिहास, विधि, विद्यान, अनुशान, सम्मानित प्रक्रिया र दायराहरु रहेको पनि स्मरण गरेको छ ।
तस्वीरः सागर शेर्पाको फेसबुकबाट साभार गरिएको हो ।–सम्पादक

पेम्बा शेर्पाका अन्य लेख तथा रचनाहरु