पर्यटन प्रबद्र्धनका लागि चौरी महोत्सव

नवराज पाथीक

२०७५ बैशाख २८, शुक्रबार


पोहोरको बर्खामा खिम्ती खोलाको बाढीले सदरमुकाम र राजधानी तथा तराईबाट रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका जाने सडकमा ठूलो क्षति पुर्यायो । बाटो बगाएपछि उमाकुण्ड र गोकुलगंगा गाउँपालिका पूरै नाकाबन्दीमा परे । तर, सडक डिभिजन कार्यालयले ६ महिनाभन्दा पहिले बाटो बनाउन नसकिने बतायो । कसैले बनाउन सकिँदैन भनेको त्यो बाटो उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारलाई साथ लिएर आफैले ढुंगा पल्टाएर एक हप्ताभित्रै खुलाए ।
‘सबैभन्दा ठूलो कुरा लालच रहेछ । सबैले लालच छाडिदिने हो भने विकास आफै हुने रहेछ ।’

सादगी जीवन होस् वा दिगो विकास, शेरबहादुर सुनुवारको दृष्टिकोण उदाहरणीय छ । रामेछापका अन्य प्रमुख एवं अध्यक्ष आफ्नै नगरपालिका र गाउँपालिकाको नयाँ गाडी टल्काएर हिँड्दा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार भने सार्वजनिक गाडीमा धुलो खाँदै हिँड्छन् । उमाकुण्डबाट सदरमुकाम आउँदा गाडीमा ६/७ घण्टा लाग्छ ।

‘गाउँका अरु सर्वसाधारण त्यही गाडीमा चढ्छन् । भोलि गाउँपालिका अध्यक्षको पद सकिएपछि मैले चढ्ने पनि त्यही गाडी हो, अहिले कसलाई सान देखाउनु त ?’ सुनुवारले सहज तर मार्मिक जवाफ दिए, ‘नेपालको राजनीति सान, मान र दामले बिगार्यो । त्यसैले म यी तीनै चिजबाट टाढा रहन चाहन्छु ।’
गाडी नकिनेर डोजर र टिपर

अन्य गाउँपालिका विकास योजनामा अलमलिइरहँदा उमाकुण्डले भने विकासको पूर्वाधार र आधारस्तम्भ तयार पारेको छ । ७ वटा वडा रहेको सो गाउँपालिका रामेछापको सबैभन्दा विकट र दुर्गम क्षेत्र समेटेर बनेको छ । सडक सञ्जालले समेत सबै वडामा छोएको छैन । उनकै कारण अहिले ३ वटा वडा बाह्रै महिना सडक चल्न सक्ने अवस्थामा छन् । बाँकी वडालाई पनि यस वर्षबाट नियमित यातायात चल्ने बनाउने योजनाका साथ काम भइरहेको सुनुवारको भनाइ छ ।\

‘गाउँका अरु सर्वसाधारण त्यही गाडीमा चढ्छन् । भोलि गाउँपालिका अध्यक्षको पद सकिएपछि मैले चढ्ने पनि त्यही गाडी हो, अहिले कसलाई सान देखाउनु त ?’

‘गाउँपालिकालाई गाडी किन्न आएको पैसाले एउटा स्काभेटर र एउटा टिपर किनेँ,’ उनले भने, ‘जहाँ बाटो बन्द हुन्छ, त्यहीँ गएर खोल्छ । मैले गाडी चढेर के हुन्छ ? स्काभेटर र टिपर भयो भने सडक त नियमित चल्छ ।’

कृषि, वन, जल र पर्यटनलाई गाउँपालिकाको समृद्धिको आधार देखेका उनले सोही अनुसार योजना बनाएका छन् । ‘कृषिका लागि मैले बजेट छुट्याएको छु । अब जग्गा बाँझो राख्नेलाई ३ गुणा बढी कर लगाउने नीति ल्याउँदै छु । अनि आलु, अलैंची, चिया र जडीबुटी खेती गर्नेलाई अनुदानसहित सहयोग गर्ने कार्यक्रम ल्याएको छु,’ उनले सुनाए, ‘अब सके व्यक्तिले गर्छ, नसके प्राइभेट कम्पनीले आएर आलु, चिया, र जडीबुटीको खेती गर्छ । तर, जग्गा बाँझो रहन दिन्नँ ।’

पर्यटनको विकास

गौरीशंकर संरक्षण क्षेत्र र सगरमाथा आधारशिविरको प्रवेशद्वार समेत रहेको उमाकुण्ड गाउँपालिकामा पर्यटकहरुलाई विविधताको अनुभूति दिने योजना उनको छ । त्यसैले प्रितीको तामेमा भ्यू टावर र प्याराग्लाइडिङ स्पट बनाउने योजना छ । ‘त्यहाँ त एक सय मिटरभन्दा लामो चिप्लेटी खेल्ने ठाउँ पनि छ । हामी त्यसलाई व्यवस्थापन गर्छौं, त्यसको प्रचार भएपछि पर्यटकहरु आइहाल्छन् नि,’ उनले ढुक्कका साथ सुनाए ।

‘गाउँपालिकालाई गाडी किन्न आएको पैसाले एउटा स्काभेटर र एउटा टिपर किनेँ,’ उनले भने, ‘जहाँ बाटो बन्द हुन्छ, त्यहीँ गएर खोल्छ । मैले गाडी चढेर के हुन्छ ? स्काभेटर र टिपर भयो भने सडक त नियमित चल्छ ।’

विकासमा पछाडि भए पनि स्रोत र सम्पदामा धनी छ उमाकुण्ड । नेपालमा नै धेरै गुम्बा भएको गुम्देल यही गाउँपालिकामा पर्छ, प्राकृतिक रुपमा बनेको कावा गुम्बा पनि यहीँ छ । नुम्बुर हिमाल, विभिन्न पोखरी तथा चौंरीपालन क्षेत्र पनि यही गाउँपालिकामा पर्दछ । यिनै सम्पदाको सम्बर्धन र प्रचार गरी ५ वर्षभित्र गाउँपालिकाका हरेक नागरिकलाई विकासको पूर्वाधार तयार गरेरै छाड्ने सुनुवारको लक्ष्य छ ।

माइक्रोहाइड्रोहरुलाई करको दायरामा ल्याउने र नयाँ बनाउँदा त्यहीँका श्रमिक प्रयोग गरी उनीहरुले पाउने पारिश्रमिकको आधा पारिश्रमिक कटाएर त्यहीँ राखी सेयरका रुपमा लगानी गर्ने गरी गरिबलाई मालिक बनाउने नीति उनले गाउँपालिकाबाटै नै पास गर्दैछन् ।

किसानलाई अनुदान र काम

सुनुवारले किसानलाई कृषिमा आकर्षित गर्न गाउँपालिकाबाट अनुदान दिन बजेट छुट्याएका छन् । किसानले आलु, चिया, जडीबुटी, तरकारी लगायतमा यस्तो अनुदान पाउने छन् । यो अनुदानबाट उत्पादन गरेको उपज सहकारीमार्फत गाउँपालिकाले खरिद गरी बजारसम्म पुर्याइदिने छ । ‘बिचौलियालाई किन खान दिनु ? किसानको उत्पादन सोझै बजारमा पुगोस् न । अलिअलि बचेको त्यही किसानहरुले नै बनाएको सहकारीमा बसोस्’, आफ्नो योजना सुनुवारले राजनीतिक र सामाजिक क्षेत्रमा काम गरेको सुनाए, ‘सबैभन्दा ठूलो कुरा लालच रहेछ । सबैले लालच छाडिदिने हो भने विकास आफै हुने रहेछ ।’

चौंरी महोत्सवको तयारी

चौंरी नेपालको हिमाली क्षेत्रको गहना मात्र हैन, आयआर्जन र पर्यटन प्रवर्धनको बलियो आधार पनि हो । त्यसैले चौंरी र चौंरीपालन व्यवसायलाई प्रबर्धन गर्ने योजनामा छन् सुनुवार । त्यसका लागि यस वर्ष मात्रै २२ लाखभन्दा बढी रकम विनियोजन गरेका छन् । यसबाट किसानलाई चौंरीपालनका लागि अनुदान दिने, चौंरी र यसको दूधजन्य उत्पादनको महत्वबारे जानकारी दिई पर्यटन र व्यवसाय प्रवर्धनका लागि सहयोग पुग्ने उनको अपेक्षा छ ।

स्थानीय तहका जनप्रतिनिधिले चाहेमा अहिलेकै अवस्थामा पनि धेरै काम गर्न सकिन्छ भन्ने मान्यता राख्छन्, शेरबहादुर सुनुवार । नेतृत्वले सान, मान र दाम छाड्नैपर्छ । आफूलाई सर्वसाधारणभन्दा फरक हैन, उनीहरुकै बीचमा राखेर हेर्ने हो भने समुदायलाई धेरै माथि उठाउन सकिन्छ । शेरबहादुरको मन्त्र सबैले ह्रदयंगम गरौं, ‘लालचले आफूलाई त बिगार्छ, बिगार्छ, समाज र देशलाई पनि बिगार्छ ।’

@हाम्रोकथा

नवराज पाथीकका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho