मिहिनेत गरेर सुन लगाउनेहरुको कथा

शेर्पाखबर

२०७५ बैशाख २७, विहिबार

gold

काठमाडौं । साढे ३३ किलो सुन तस्करी काण्डले देश तातेको निकै दिन भयो । सञ्चारमाध्यमले निरन्तर सुनका ठूल्ठूला ढिक्का देखाएर समाचार फलाकिरहँदा तपाईं वाक्क हुनुभयो होला । आउनुस्, आज साना इकाइहरुमा छरिएका गहनारुपी सुनको कुरा गरौं ।
सुनका गहना नेपाली महिलाहरुको आभुषण मात्रै होइन, सँस्कृति नै बनेको छ । रगतको नाताभन्दा बलियो अनि अटुट नाता जोड्ने माध्यम पनि बनेको छ यो पहेँलो धातु । कसैले छाडेको सम्झना हुन सक्छ । कसैले दिएको चिनो हुन सक्छ । यस्तै सम्बन्धलाई चम्किलो बनाउने सुन ।
जोड्ने बेला मात्रै होइन, छोड्ने बेला पनि सुनकै खाँचो । धेरैको विश्वासमा बन्छ, अन्तिम सास फेर्न तुलसीको मठमा पल्टिएको बेला सुनपानी खुवाए ‘स्वर्गको बाटो’ । अपवित्रलाई पवित्र बनाउने साधन पनि यही ।

सुनले जोडेको मात्रै छैन, धेरैलाई तोडेको पनि छ । डुबाएको छ, मै हुँ भन्नेहरुलाई । कहिल्यै नफर्कने गरी मृत्युको खाडलमा गायव बनाएको छ । अनि नचोखिने गरी बिटुलो बनाएको छ सत सुनको असत खेलमा पर्नेहरुलाई ।

असतको धन, असतकै कामले कुम्ल्याएको सुनले हो बिटुल्याउने, डुबाउने अनि तोडाउने । सतको कामले अलिअलि गरेर जोडेको सुनले जहिल्यै भर दिन्छ । जहिले अनुहारमा खुशी फुलाउँछ । जस्तो दोलखाकी कुमारी रेग्मीको अनुहारमा खुलेको मुस्कान ।

रोएर पाएको ढुंग्री

५३ वर्षकी कुमारीको सुनको कथा बाल्यावस्थामै जोडियो । तीन वर्षकी हुँदा आमा गुमाइन् । आमाको तस्वीर उनको मस्तिष्कमा छैन । छ त, आमाले लगाएको सुनको सम्झना र त्यसैमा जोडिएको माया ।

आमाको ढुंग्री अझै उनको कानमा छ । आमाको निधन भएको झण्डै दुई वर्षपछि रोएर बाबासँग मागेकी थिइन् त्यो ढुंग्री । अहिले त्यो ढुंग्रीमा आमासँगै बाबाको पनि सम्झना गाँसिएको छ ।

उनी १५ वर्ष पहिले काठमाडौं आएर ठाउँ फेर्दै नाङ्ग्लोमा सामान बेच्न थालिन् । गएको दुई वर्षदेखि बसन्तपुरमा मकै बेच्छिन् । तर, त्यहाँ बसेर व्यापार गर्न महानगरपालिकाले दिँदैन । त्यसैले उनी नगरप्रहरी आउँदा यताउति भाग्न विवश छिन् । यस्तोमा पनि राम्रो जोहो गर्न सकेकोमा उनलाई खुशी मिलेको छ ।

‘अहिले लगाएको यो फुली चाहीँ मैले आफ्नै पैसाले किनेको,’ आफ्नो मेहनतले जोडेको सुन देखाएर उनले हाँस्दै भनिन्, ‘त्यही नाङ्ग्लोमा सामान बेचेको पैसाले १२ वर्षअघि ११ सयमा किनेको हो ।’
उनको आँखा अरु गहनामा जाँदैन । झम्के फुली नै मन पर्छ । रिङ पनि लगाएकी छिन् । एउटा औंठी लगाएकी छिन् । पछि जोडेको सबै सुन उनको आफ्नै कमाइको हो ।

तीन वर्ष पहिले भूकम्पको बेला घर भत्कियो । त्यो सुनाइरहँदा पनि उनको अनुहारमा विषाद छैन । दुःखमा हाँसेर मेहनत गर्न जानेकी छिन् उनले । ‘१५ लाख रुपैयाँ खोजेर जसोतसो घर बनाइयो । छोराको बिहे गरियो । त्यही बेला माडबारी बेचें,’ उनले सुनाइन् ।

उनले कानमा लगाएको ढुंग्रीसँग परिवारको माया छ । नाकमा टल्किएको झम्के फुलीमा उनको मेहनत मुस्काएको छ ।

कानमा लगाएको बटारे रिङ भने उनलाई त्यति मन परेको छैन । मन त काँडे माडबारीमै बसेको छ । आमाको चिनो ढुंग्री अनि मनपर्ने झम्के फुलीमा काँडे माडबारी जोड्ने रहर छ । त्यसका लागि अझै केही वर्ष मेहनत गर्नुपर्ने छ । छिटो पुग्ने बाटो हिँड्न राम्रो लाग्दैन कुमारीलाई ।

कागती बेचेर माडबारी

१९९० सालको भूकम्प जाँदा पाँच वर्षकी थिइन् ‘काइँली’ । एकैछिन हिसाब गरेर उनले भनिन्, ‘९१ वर्षको भएँ । यो असारदेखि ९२ पुग्छु । नाम त जान्दिनँ म । गाउँघरमा काइँली-काइँली भन्थे । नजानेपछि अब म के भनौं नाम ?’

उनी सोलुखुम्बु जुबुबाट काठमाडौं आएको पनि जुग भयो । कहिले बदाम, कहिले कागती बेचेर भूगोलपार्क छेउँमा बस्छिन् ।

आफ्नो नामको ख्याल नभए पनि ४० वर्ष पहिले किनेको पाँच ढिके फुली कति परेको थियो उनलाई थाहा छ । ‘त्यो बेला आठ रुपैयाँमा किनेको हो । मलाई याद छ । यो फुलीसँगै आठ रुपैयाँमै मुन्द्री पनि किनेकी थिएँ । त्यो मुन्द्री पछि हरायो,’ उनले भनिन् ।
उनलाई फुली मनपर्छ । तर, त्यो पाँचढिके नै हुनुपर्छ । उनलाई कानमा भएको काँडे माडबारीले अनुहार खुलाएको लाग्छ । त्यो सबै आफ्नै मेहनतले जोडेकोमा थप खुशी मिल्छ ।

‘यो माडबारी चाँही सुन १० हजार रुपैयाँ तोला हुँदा किनेको हो । लगाउन त अरु पनि मन छ तर, सबै कुरा विचार गरेर जोड्नु पर्‍यो । अहिले त महङ्गो भएको छ,’ उनले भनिन् ।

उनले लगाएको हरेक गहनासँग विगत जोडिएको छ । जन्तरमा श्रीमानको माया गाँसिएको छ । ‘यो किन्दा बुढा थिए, ११ वर्ष भयो उनी बितेको । मैले त चौरासी पूजा पनि गरिसकेँ । बुढा त चौरासी गर्न नपाउँदै बिते,’ आफूले लगाएको जन्तरतिर हेर्दै उनले भनिन् ।

उनलाई खुशी हुन ठूला-ठूला कुरा चाहिँदैन । कसैले एकैपटक दुई थुप्रो कागती लगिदियो भने उनलाई दिनभर व्यापार नभए पनि खुशी मिल्छ । आमा तपाइँको जन्तर कति राम्रो देखिएको भन्दा गमक्क परेर हाँसिदिन्छिन् ।

उनलाई अब थप केही गर्नु छैन । सक्दासम्म आफ्नो काम आफै गर्नु छ । हरेक दिन जन्तर, ढिके फूली, माडबारी र औंठीमा सजिएर सडक छेउमा कागती बेच्न पाए पुग्छ ।

१४ वर्षमा बिहे गर्दाको सुन

८० वर्ष पुग्दा पनि रसिलो गफ गर्न सिपालु छिन् ‘राइनी’ । सबै कुरामा खुलेर बोल्ने यिनी आफ्नो नाममा भने खुल्न चाहिनन् ।

‘मेरो नाम नै राइनी हो । म सामपाङ राइनी,’ उभौली मनाउन बेलायतबाट काठमाडौं आएकी उनले भनिन् ।

बुढा बेलायती लाहुरे । तीन छोरा सबै विदेशमै जागिरे । तीन छोरी पनि आफ्नै घरमा व्यस्त । खोटाङकी यी राइनीलाई कहिले लण्डन, कहिले काठमाडौं अनि कहिले खोटाङ गर्दा नै फुर्सद छैन ।

उनको हँसिलो अनुहारमा खुलेको छ पाते बुलाकी । उस्तै सुहाएको छ कानमा रिङ । उनलाई यसमा अरु पनि थप्न मन थियो । तर उनकै भनाइमा अहिले ती सबै लगाएर हिँड्ने जमाना छैन ।

‘यसको नाम ढुंग्री हो । मुन्द्री पनि लाएकी छु । साङ्लो जोडेको रिङ पनि छ,’ आफूले लगाएको गहनाको परिचय दिँदै हाँसिन् राइनी । उनका लागि सुन सम्बन्ध बनेको छ । पुरानो समय सम्झने माध्यम बनेको छ । उनका लागि सम्पत्तिभन्दा ठूलो छ सुनसँग जोडिएको सम्बन्ध ।

हरेक प्रश्नको जवाफमा पहिले उनको मुस्कान फुल्छ । मजाले हाँस्छिन् अनि जवाफ दिन्छिन् । पुरानो घर खोटाङ पाँथेका भए पनि उनी बेलायत गएको धेरै भयो ।

जहाँ पुगे पनि उनको सुनको रहर फेरिएको छैन । बिहेको किस्सा जोडिएकाले पनि विशेष पि्रय छ उनको गहना । १४ वर्षको हुँदा बिहे भएको । त्योबेला चेप्टे सुन, तिलहरी, कन्ठा, नौगेडी लगाएकी थिइन् । उज्यालो उनको अनुहार सुनको चमकले झनै उज्यालिएको थियो । त्यसमै जोडिएको थियो श्रीमानको सम्बन्ध र प्रेम ।

‘यो गहना त हाम्रो पहिलाको हो । अहिलेकाले पनि लगाउन त थालेका छन् । पुरानो फेसन फर्केको छ नि त अहिले,’ उनले सुनाइन्, ‘बुढाले

बिहेको बेला ल्याएको सुन अझै मसँग छ । पुरानो कुरा सम्हालेर राख्दा राम्रो देख्छ नि । बुढी मान्छेले धेरै फाङ्लाङ् फुङ्लुङ् सुन लाउनु पनि भएन नि । त्यसैले अहिले अलिअलि मात्रै लगाउँछु ।’

@onlinekhabar

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho