सगरमाथा शिखरबाट समानताको आह्वान गर्दै दिकी शेर्पा

खिलक बुढाथोकी

२०७५ बैशाख २६, बुधबार

0 0


‘आमा, एक दिन म त्यो चुचुरामा पुग्छु नि !’
‘कुन ?’
‘त्यो के त ? हिउँहिउँले भरिएको चुचुरो ।’
‘सजिलो छ नि त्यहाँ जान, मुखले बोलेजस्तो,’ दिकी शेर्पाकी आमाले भन्ने गर्थिन् । 
‘छोरी भएकाले सक्दिनस् भनेको होला, हेर्नु न एक दिन त्यो चुचुरो पुगेरै छोड्छु,’ आमालाई घुर्काउँदै जन्मस्थल संखुवासभा नुमबाट देखिने हिमालतिर नियाल्थिन् दिकी।

संखुवासभामा रहँदै हिउँसँग परिचित भइसकेकी दिकी विवाह गरेर ओखलढुंगा पुगिन् । आङबाबु शेर्पासँगको विवाहले हिमाली पदयात्राको जोखिमसँग खेल्न सहजता बन्यो । जिन्दगीका अनेक कष्ट झेलेर मजबुत हुन दिकी आफैँले पनि सिकिन् । साहस जुटाउन कस्सिएर लागिन् । चाहन्थिन्, ‘महिला मजबुत बन्नुपर्छ, कसैको सहायताले होइन, आफ्नै प्रयासले ।’ त्यसैले त उनी हिमाल जाँदा भोगेका कठिनाइ कसैलाई सुनाउँदिनन् । उनलाई थाहा छ– हिमालमा महिला–पुरुष सबैलाई उत्तिकै कठिन हुन्छ।

चार वर्षअघि दिकी पदयात्रामा निस्कँदा महिलाको संख्या न्यून थियो । अझ पर्वतारोहणमा लाग्ने महिलाको संख्या झनै न्यून, औँलामा गन्न सकिने । दिकीको चाहना पनि पर्वतारोहण नै थियो । सुरुमा उनले पदयात्रा गरिन् । पदयात्रामा उनी आफू मात्रै हुँदिनथिन्, विदेशी पर्यटक पनि साथमा हुन्थे । पदयात्रीका गाइडको परिचय बनाएकी थिइन् उनले । तर, उनी पदयात्रामा होइन, पर्वतारोहणमा आफ्नो नाम राख्न चाहन्थिन् । हिमालका चुचुरोमा पुगेर गर्विलो छाती बनाउने सपना थियो उनीसँग । त्यही सपना पूरा गर्न उनी आफ्नो परिचयमा सगरमाथा आरोही थप्दै छिन् । आरोही हिमाल चढ्ने मान्छेलाई भनिन्छ । जुन हिमाल चढे पनि आरोहीको रूपमा परिचित हुन्छ मान्छे । तर, सगरमाथा आरोही बन्ने भने सगरमाथै चढ्नुपर्छ । ‘म त्यही आरोही बन्न चाहन्छु,’ साहस दर्शाउँदै दिकीले भनिन्, ‘जुन सगरमाथा चढेपछि हुन्छ।’

दिकी यसअघि नै आरोही बनेकी छन् । सन् २०१७ मा मेरा पिक, राम्दुङ पिकको आरोहण गरिन् । केही महिनाअघि मात्रै विश्वको आठौँ अग्लो हिमाल मनास्लु चढिन् । तर, उनलाई सगरमाथा नचढी हिमाल चढेजस्तो लागेको छैन । त्यसैले आउँदो मार्चमा सगरमाथाको शिखर चुम्ने अभियानमा छिन् उनी । चुचुरोमा उनी एक्लै होइन, आमनेपाली महिलालाई उभ्याउन चाहन्छिन् । ‘सगरमाथा चढ्नुको उद्देश्य आरोही बन्नु मात्रै होइन,’ उनले भनिन्, ‘महिलाका मुद्दालाई सगरमाथासम्म पु¥याउनु पनि हो ।’ दिकीले आफ्नो अभियानको नाम नै महिला सशक्तीकरण राखेकी छन् । ‘लैंगिक समानताका लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष,’ दिकीको आरोहण अभियानको मूल नारा हो । 
‘महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने संस्कारमा अझै परिवर्तन आउन सकेको छैन,’ दिकीले भनिन्, ‘यस्तै भ्रम चिरेर महिला पनि पुरुषजत्तिकै सक्षम रहेको उदाहरण दिएर हरेक क्षेत्रमा ५० प्रतिशतको भागेदार हुनुपर्ने पहल गराउनुछ ।’
अर्को कुरा, दिकीले बुझेको पर्यटन भनेको देशको समृद्धको रेखा हो । यसमा लैंगिक समानतासहित समावेशी राज्य व्यवस्था हुनुपर्ने उनलाई लागेको छ । ‘सानोमा हिमाल चढ्न देखेको सपना पूरा गर्न मात्र नभएर सम्पूर्ण नारीको प्रतिनिधित्व गर्नुछ मलाई,’ दिकी भन्छिन्, ‘महिलाको उपस्थितिले नै नेपालको पर्यटन उद्योग चम्किन्छ।’ 

विदेशी नेपाल घुम्न आउँदा दिकीलाई सोध्ने गर्छन्, ‘सगरमाथा कतिपटक चढ्नुभयो ?’
यतिबेला दिकीलाई नाजवाफ हुँदा खल्लो महसुस हुन्छ । ‘विदेशी लाखौँ खर्च गरेर सगरमाथा चढ्न आउँछन्,’ उनले भनिन्, ‘हामीचाहिँ आफ्नै देशको सगरमाथा चढ्न चासो दिँदैनौँ ।’ विदेशीको अगाडि सगरमाथा नचढेको कुरा सुनाउँदा दुःख लाग्ने उनी बताउँछिन् । ‘महिला भएर सगरमाथा चढेर गर्व गराउन पनि आफ्नै खर्चमा सगरमाथा चढ्न लागेकी हुँ,’ उनले भनिन् । सगरमाथा आरोहणका लागि कम्तीमा ४० लाख रुपैयाँ खर्च हुने अनुमान दिकीको छ।

दिकी ०७० देखि पर्यटन पथ प्रदर्शकका रूपमा पर्यटनमा लागिन् । यस क्षेत्रलाई नजिकबाट बुझ्दा उनलाई लाग्यो, ‘महिलालाई स्वरोजगार बनाउने क्षेत्र नै पर्यटन हो ।’ त्यसैले त महिला पर्यटनमा क्रियाशील हुनुपर्ने बताउँछिन् उनी।

२६ वर्षीया दिकीले पदयात्रा र पर्वतारोहणसम्बन्धी आधारभूत तथा एड्भान्स तालिम लिएकी छन् । जुन बेला उनी विदेशी पर्यटकलाई हिमाली क्षेत्रका जोखिमपूर्ण बाटा देखाउँदै हिँड्थिन्, त्यो बेला यो पेशामा कम महिला देखिन्थे । अझै पनि महिलाको न्यून संख्या छ । यसलाई बढाउन भूमिका खेल्ने उनी बताउँछिन् । ‘हिमाल चढेपछि मात्रै मेरो उद्देश्य पूरा हुँदैन,’ उनले भनिन्, ‘म महिलाको क्षेत्रमा केही गरेर देखाउन चाहने महिला हुँ ।’ महिलालाई सहयोग हुने काम गरेर प्रेरणाको पात्र बनेर महिला प्रतिनिधित्वको सपना दिकीसँग छ । उनको आरोहणको व्यवस्थापन पर्यटन–सञ्चार क्लबले जिम्मा लिएको छ ।