जापानमा ‘तराकारीको ब्राण्ड वेच्दै’ शेर्पा

शेर्पाखबर

२०७५ बैशाख २६, बुधबार


उच्च शिक्षाका लागि सन् २००७ मा जापानमा गएका सोलुखुम्बुका कान्छा लामा शेर्पाले जापानी भाषा, कलेज र विश्वविद्यालयमा अध्ययन पुरा गरे । उनले जापानी विश्वविद्यालयमा एमबीएसम्मको अध्ययन गरेका छन् । पढाई पूरा हुँदै गर्दा विभिन्न कम्पनीहरूमा रोजगारकालागि अवसरहरु आए तर उनको रुची जागिर तिर पटक्कै गएन । 
जागिर खानाको सट्टा शेर्पाले जापानी बजारहरूको अध्ययन गरे । बजारमा कृषि क्षेत्रको सम्भावना बढी देखे । जापानीमा आधुनिक कृषि व्यावसाय गर्ने सोच बनाए । उनले सन् २०१४ बाट फुकुओकाको सागामामा ७ हेक्टर क्षेत्रमा आधुनिक कृषि फार्ममा लगानी गरी कामको शुरूवात गरे ।
शुरूमा गोलभेँडा र प्याजको खेती गर्दै आएका शेर्पाले अहिले सुन्तलाको पनि खेती विस्तार गर्ने सोचमा छन् । ‘फुरूट तोमातो’ गोलभेडा जापान भरि मात्र नभई उनले हङकङ, सिंगापुर र दुबईमा पनि निर्यात गर्ने गरेका छन् । अन्य देशहरुको बजारमा प्रति केजी ५ हजार येन र जापानमा प्रति केजी १३ सय येन देखि २ हजार ४ सय येन मुल्य छ । कृषि व्यवसायबाट बार्षिक ४–५ करोड आम्दानी हुने गरेको शेर्पा बताउँछन् । 
जापानी कृषिको आधुनिकतालाई उपयोग गर्दै आएका एक नेपाली शेर्पाले कृषि क्षेत्रमा गरेको लगानीले जापानीहरूलाई मात्र होइन उनले नेपाली विधार्थीहरूलाई पनि रोजगार दिएका छन् । उनी भन्छन् ‘सिजनको भेला ३०–४० जना नेपाली विधार्थीहरूले पार्ट–टाइम काम पाइरहेको हुन्छ ।’
भविष्यमा नेपालमा पनि कृषि क्षेत्रमा लगानी गर्ने सोचमा रहेका शेर्पाले सिन्धुली र धुलिखेलमा व्यवसाय शुरुवातको लागि अध्ययन गरिरहेका छन् । बजारमा विक्रीका लागि जाने गोलभेडाको बाहिरी भागमा जापनी भाषामा ‘लामा कान्छा’ लेखिएको नाम र तस्वीर अंकित लोगो जापनी तरकारी बजारहरूमा प्रशस्तै देख्न पाइन्छ । प्रतिस्पधी जापानी बजारमा नेपाली पहिचानसहितको तरकारी खरिद, विक्री गर्न वातावरण बन्नुको पछाडि शेर्पाको सामान्य मेहेनत मात्रै भने पाक्कै होइन । जापानी कृषि व्यावसायहरू बीच प्रतिस्पर्धामा आउन सक्नु साँचै शेर्पाको व्यवसाय नेपाली बिधार्थीहरूको लागि एउटा उदाहरण रूपमा लिन सकिन्छ । 
नेपालको दुर्गम क्षेत्रमा जन्मिएर पनि विदेशी भूमिका कडा मिहिनेतका साथ आफ्नो छुट्टै पहिचान र आर्थिक रुपमा समृद्ध बनेका शेर्पा एक मात्रै पात्र भने पक्कै होइनन् । उनी जापानमा एक उदहारण त बनेकै छन्, उनको प्रेरणाबाट बर्षेनी रोजगारी र विभिन्न वाहनामा विदेशी रहेका युवाहरुले समेत पाट सिक्नुपर्ने देखिन्छ । के स्वदेशमै पनि लगानी सुरक्षा र अलिकति बढी परिश्रम गर्ने हो भने यस्तै फल पाइन्छ की ? एक पटक सोचौं । 
@समाचार स्रोतः विआरशेर्पाब्लकपोष्ट