विदा कटौती र खादा प्रतिबन्द, संस्कृतीमाथिको हमलाः गायक शेर्पा

फूर्वा शेर्पा

२०७५ बैशाख २३, आईतबार


काठमाडौं (शेर्पाखबर) । बरिष्ठ गायक लाक्पा शेर्पाले सरकारले आदिवासी समुदायको विदा कटौती गरेर आदिवासी संस्कृतीमाथि नै हमला गरेको आरोप लगाएको छ । उनले खादा प्रतिबन्दले राज्य आदिवासीको सभ्यता समाप्त पार्ने गरी लागि परेको भन्दै दुःख व्यक्त गरे । 
शेर्पा कलाकार संघद्धारा राजधानीमा आयोजित ‘शेर्पा वृहत्त सांगीतिक साँझ’ मा आफ्नो प्रस्तुतीपछि उनले यस्तो विचार व्यक्त गरेका थिए । ‘हाम्रो मौलिक चाड लोसार लगायतमा बर्षेनी दिँइदै आएको विदा कटौती भएको छ । यो अत्यन्तै दुःखद विषय हो ।’ गायक शेर्पाले भने ‘प्रदूषण हुने भन्दै खादा प्रतिबन्द लगाउने काम भएको छ । खादाले वातावरण प्रदूषण हुने तथ्य राज्यसँग के छ ?’
अष्टमंगल भएको खादा दीर्घायू र शुभको संकेत स्वरुप लगाउने चलन परापूर्वकालदेखि नै अंगिकार गर्दै आएको र अहिले आएर त्यसलाई रोक्न खोज्नु आदिवासीमाथिको राज्यको ठाडो हमला भएको गायक शेर्पाको आरोप छ । आदिवासी सभ्यता र संस्कृतीलाई राज्यले बढावा दिनुपर्नेमा उल्टै विदा कटौती गर्दै संस्कृती नै समाप्त पार्न खोज्नुले मुलुक कुन दिशामा अघि बढीरहेको छ भन्ने प्रष्ट भएको उनको भनाई छ । 
‘कटौती भएको विदा पुनःस्थापित गर्दै खादाबारे फैलाइएको भ्रमलाई चिर्ने तर्फ राज्य अग्रसर होस ।’ उनले भने । 
गायक शेर्पाको झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमा..., ए कान्छा मलाई सुनको तारा खसाई देउ न..., लगायतका गीत चर्चामा छन् ।