संस्थागत गर्न ‘शेर्पा कलाकारहरुको सामुहिक प्रस्तुती’

लाक्पा जी शेर्पा

२०७५ बैशाख २३, आईतबार

sherpa singer

काठमाडौं (शेर्पाखबर) । शेर्पा कलाकार संघको कार्यालय स्थापनाका लागि सहयोग संकलन गर्ने हेतुले एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शेर्पा कलाकारहरुको सामुहिक प्रस्तुती दिए । शेर्पा कलाकार संघको आयोजनामा शनिबार रामनगरमा ‘शेर्पा कलाकार वृहत्त सांगीतिक साँझ’ भएको हो ।
कलाकारहरुको क्षमता अभिवृद्धि, पेशागत हकहित, समन्वय, सम्मान र प्रोत्साहनमा टेवा पुर्याउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सचिव दावा के शेर्पाले जानकारी दिए ।  शेर्पा कलाकारहरुको सांगीतिक प्रस्तुती पस्केको कार्यक्रममा शेर्पा संस्कृती झल्कने श्याब्रु नृत्य समेत प्रस्तुत गरे । शेर्पा समुदायका चर्चित पुराना र नयाँ अनुहारलाई एकै ठाउँमा उभ्याएर सामिप्यता बृद्धि गर्ने र सिक्ने सिकाउने माध्यमको रुपमा कार्यक्रमलाई उपयोग गरेको संघका पदाधिकारीहरु बताउँछन् । समुदायको भाषा, कला, साहित्य र गायन लगायतको क्षेत्रमा व्यापक उपस्तिथीका लागि कार्यक्रमले टेवा पुगेको आयोजकको दाबी छ । 
कार्यक्रममा बरिष्ठ गायक लाक्पा शेर्पाले ‘झस्केर दुःख्छ यो मुटु मेरो...’ प्रस्तुत गरे भने गायक एपी शेर्पा लगायतले दर्शकलाई नचाए । त्यस्तै, आयोजक संस्थामा आबद्ध कलाकारहरुले पनि आफ्नो गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिए । कार्यक्रममा चल्तीका उद्घोषिका याङजोम शेर्पाले औपचारिक र अनौपचारिक सांगीतिक प्रस्तुतीलाई आङ दोर्जी शेर्पा र संघकै कोषाध्यक्ष समेत रहेकी जाङमु इनन शेर्पाले सञ्चालन गरे भने मिस शेर्पाका फस्ट रनरअप समेत रही ल्हमु शेर्पाले शेर्पा भाषामा उद्घोषण गरिन् । 
विभिन्न सांगीतिक प्रस्तुतीहरु पस्केको कार्यक्रममा दर्शकहरुको वाक्लो उपस्थिती थिए । अधिकांश आफ्नो जातीय पहिचान झल्कने पोशकमा उपस्थित भएका दर्शकहरुले शेर्पा कलाकारहरुको प्रस्तुतीबाट भरपूर मनोरञ्जन लिए । शेर्पा कलाकारहरुको प्रस्तुती सकिएपछि डिजे शेसनमा सबै झुमिँदै रमाए ।
विभिन्न व्यवसाय, व्यक्ति र सामाजिक संस्थाहरुले प्रयोजन गरेको कार्यक्रमबाट संकलित रकमबाट संघको कार्यालय स्थापना र संस्थागत विकासमा जोड दिने संघका महासचिव दोर्जी शेर्पा लामाले शेर्पाखबरलाई जानकारी दिए ।
शेर्पा कलाकारहरुलाई समेटिएर शेर्पा कलाकार संघ हालै स्थापना भएको हो । संघलाई प्रचलित विधि विधान अनुसार कानूनी मान्यता दिने काम पूरा भएसँगै विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । संघले शेर्पा कलाकारहरुको हित, सम्मान र प्रोत्साहनका लागि कार्यक्रमहरु बनाई व्यापकता दिने अध्यक्ष डीजे ङवाङले जानकारी दिए ।