बुद्ध दर्शन र गौतमबुद्ध

राजकुमार बानियाँ

२०७५ बैशाख २०, विहिबार


शाक्य मुनि गौतम बुद्धलाई ‘भगवान्’ भन्ने पनि छन्, ‘महान् दार्श्निक’ मान्ने पनि छन् । बुद्धको सहस्राब्दीमा प्लेटो, अरिस्टोटल, महावीर जैन, लाउन्स आदि दार्श्निक र वैज्ञानिक जन्मिए तर उनको जस्तो ख्याति कमाउन सकेनन् । त्यसैले २ हजार ६ सय वर्षअघि लुम्बिनीमा जन्मेका यी महापुरुषलाई नेपालले राष्ट्रिय विभूतिको सम्मान दिएको छ । 
खासमा बुद्ध ध्यानशील तथा एकान्तप्रेमी दार्श्निक हुन् । उनको देशना आफ्ना अनुयायीलाई दिएको शिक्षामा आधारित छ । त्यही शिक्षा साढे दुई हजार वर्षमा भारतीय उपमहाद्वीप हुँदै मध्य, पूर्वी र दक्षिण–पूर्वी जम्बु महाद्वीपसम्म धर्मका रूपमा फैलियो र चौथो ठूलो धर्म रह्यो । बुद्ध दर्शनमा रहेका प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, पेसागत हकहित, समानता, समता र मानवीय मूल्य आधुनिक विश्वले स्वीकार गरेको छ । 
बुद्ध दर्शनमा जातिवाद र कर्मकाण्डलाई कुनै स्थान छैन । उनको महान् सन्देश हो, आफ्नो उज्यालो आफैँ बन र आफँैमा मानवता खोज । शान्तिको खोजमा छटपटाइरहेको विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक पनि छ । संयुक्त राष्ट्र संघले समेत बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ । यसलाई शान्ति, मैत्री र करुणाको सन्देश दिने सामाजिक र मौलिक दर्शनका रूपमा नेपालले ब्रान्डिङ गर्न सक्छ ।
ब्रान्डिङको एउटा आधार हो, बौद्ध वाङ्मय अध्ययन केन्द्र । अठारौँ र उन्नाइसौँ शताब्दीमा युरोपेली लेखक र अनुसन्धाता आएर यहाँका प्राचीन बौद्ध ग्रन्थहरूको अध्ययनरअवलोकन गरेका रहेछन् । “नालन्दा महाविहार, विक्रमशील महाविहारजस्तै लिच्छविकालीन र पूर्वमध्यकालीन नेपाली महाविहार बौद्ध अध्ययन केन्द्र थिए,” लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्य थप्छन्, “बुद्ध धर्मले नेपाललाई कला संस्कृतिमा सम्पन्न बनाइदिएको छ । बुद्ध धर्मको अटुट परम्परा रहेको र बौद्ध ग्रन्थको भण्डारका रूपमा नेपाल विश्वमै परिचित छ ।” 
बौद्ध धर्म, दर्शन, साहित्य, कला, संस्कृति र इतिहासको अध्ययन, अध्यापन, अनुसन्धान र अभ्यासको व्यवस्था हुन सके अझै पनि नाम र दाम कमाउने अथाह सम्भावना छ । “नेपाल परम्परागत बौद्ध शिक्षा, बौद्ध कला, संस्कृति आदिमा विविधताका साथ धनी छ,” उनी भन्छन्, “अब लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्रा्ष्ट्रिय बौद्ध अध्ययन केन्द्रका रूपमा विकास गर्नु जरुरी छ ।” 
त्यसो हुन सके अमेरिकाको नारोपा विश्वविद्यालय, थाइल्यान्डको महामकुट बौद्ध विश्वविद्यालय, श्रीलंकाको बौद्ध तथा पाली विश्वविद्यालय, म्यान्मारको अन्तर्रा्ष्ट्रिय थेरवाद बुद्धिस्ट मिसिनरी विश्वविद्यालय, भारतको केन्द्रीय उच्च तिब्बती शिक्षा संस्थान आदिभन्दा पृथक् विश्वविद्यालय बन्न सक्ने उनको ठम्याइ छ । 
पर्यटन पनि ब्रान्डिङको आधार हो । “विश्वमा १ अर्ब ५० करोडभन्दा बढी बौद्धमार्गी छन् । तिनीहरूको एक प्रतिशत मात्र बुद्धको जन्मथलो आइपुगे पनि मुलुककै समृद्धिको ढोका खुल्ने स्थिति छ,” पर्यटन व्यवसायी सुरज शाक्य भन्छन् । फेरि यसै पनि बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत छ । तिनका लागि यसबाहेक सीतापाइलाको सेतो गुम्बा, बौद्धको सेचेन, फर्पिङको रालो रिम्पोचेलगायत उपत्यकाका डाँडापाखाका गुम्बा पनि सुन्दर गन्तव्य हुन सक्छन् ।
उसो त केही वर्षअघि चिनियाँ गैरसरकारी संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को–अपरेसन (एपेक) फाउन्डेसनले वार्षिक पाँच लाख बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भित्र्याउने महत्त्वाकांक्षी योजना नल्याएको होइन । लुम्बिनीसहित भारतका कुशीनगर, बोधगया र वाराणसी (सारनाथ)लाई चारधाम मान्छन् बौद्धमार्गी । जापानले यसलाई जोड्ने बुद्ध करिडोर निर्माणको प्रस्ताव गरेको छ । म्यानमारमा सम्पन्न बिमिस्टेकको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले पनि बुद्ध सर्किटको प्रस्ताव गरेको तथ्य यहाँनेर स्मरणीय छ । 
बुद्धसँग जोडिएको अर्को पाटो हो, ध्यान । बुद्ध आफैँले ४५ वर्षसम्म विपश्यना ध्यान गरी यसको शिक्षा दिएको मानिएको छ । धर्ममा आस्था हुने वा नहुने, जुनसुकै धर्म, वर्ण, भाषा र देशका मानिस विपश्यनाका लागि नेपाल आउँछन् । उपकुलपति बज्राचार्य भन्छन्, “लुम्बिनी, काठमाडौँ, पोखरालगायतका स्थानका ध्यान केन्द्रको राम्ररी प्रचारप्रसार गर्न सक्ने हो भने विश्वका ध्यानप्रेमी यहाँ ओइरिनेछन् ।” 
यसरी बुद्ध दर्शन नेपाल र नेपालीको समृद्धिको कारक बन्न सक्नेछ ।
 

राजकुमार बानियाँका अन्य लेख तथा रचनाहरु