बुद्ध एउटा धर्म मात्रै हैन दर्शनपनि हो

नारायण गाउँले

२०७५ बैशाख १९, बुधबार

Buddha bauhda

बौद्ध एउटा धर्ममात्रै नभएर दर्शन पनि हो। जीवन-जगत्, आत्मा, पुनर्जन्म, पाप-पुण्य, सत्य, ईश्वरजस्ता विषयमा गहन दार्शनिक विमर्शका अतिरिक्त मनोहर बौद्ध साहित्य पनि यसभित्र छ। यो एउटा कालखण्डको ऐतिहासिक दस्ताबेज पनि हो। यो अलिकति राजनीति, अर्थशास्त्र, भूगोल, ध्यान, योगजस्ता धेरै विषयको समष्टि रूप हो।

तत्कालीन बौद्ध भूगोल नेपाल-भारत नै रहेकाले यसका घटना, पात्र, संस्कृति, भाषा, समाजमा यहीँको स्थानीयता भेट्न सकिन्छ। पालि भाषामा सङ्ग्रहित तीनवटा पिटक (सङ्ग्रह) अर्थात् त्रिपिटक नै बौद्ध दर्शनको पहिलो ग्रन्थ भए पनि आचार्य नागार्जुनजस्ता प्रख्यात दार्शनिक र महाकवि अश्वघोषजस्ता धेरै साहित्यकारहरूका कृतिहरू समेटेर यो धनी भएको छ। त्रिपिटकभित्र तीन वटा पिटक छन्: विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक। मुख्यतः बौद्ध भिक्षुका निम्ति आचार, धर्मका सूत्र (सुत्त) र निर्वाणबारे बुद्धका प्रवचन यसमा समेटिएको छ।

त्रिपिटकको रचना रोचक छ। बुद्धको निर्वाणपछि उहाँका उपदेशमा कसैले थपघट गर्न नसकोस् भनेर मृत्युको पहिलो वर्षमैं (ईसापूर्व ५४३-५४२) राजगृहमा बौद्ध भिक्षु (अर्हत/अरहन्त) हरूको एउटा सम्मेलन (सङ्गीति) आयोजना गरिएको थियो। यसलाई धर्म सङ्गीति पनि भनिन्छ।  हालको बिहार राज्यभित्र पर्ने राजगीर (राजगृह) बुद्धको पालामा मगध राज्यको केन्द्र थियो।

यो हिन्दू, जैन र बौद्ध धर्मको प्रसिद्ध तीर्थस्थल पनि हो। महाभारतकालीन राजा जरासन्धको पनि यो राजधानी थियो। कृष्ण र जरासन्धबीच यहीँ युद्ध भएको थियो।

बिम्बिसारका छोरा अजातशत्रु मगध सम्राट् थिए र उनले नै बुद्धको मृत्युपछि पहिलो भिक्षुसभा बोलाएका थिए। यसलाई प्रथम सङ्गीति भनिन्छ। राजगृहको सप्तपर्णी नामको गुफामा झन्डै पाँच सय भिक्षु सहभागी उक्त सङ्गीतिको अध्यक्षता बुद्धका नजिकका चेला महाकाश्यपले गरेका थिए। अहिले पनि यो गुफा भ्रमण गर्न सकिन्छ।

महाकाश्यपले नेतृत्व गरेको उक्त सभामा बुद्धका शिष्य उपालिले बौद्ध भिक्षुहरूको आचार र अनुशासन (विनय) बारेका बुद्धवचन र अर्का शिष्य आनन्दले सूत्रका बारेमा बुद्धवचन गाएर सुनाएका थिए। महाकाश्यप आफैले भने उच्च विवेक, बुद्धत्व र नैतिकताबारे बुद्धवचन दोहोऱ्याएका थिए। यी तीन भिक्षु उपालि, आनन्द र महाकाश्यपले स्मरणका आधारमा गाएका वचनहरूलाई उक्त सभामा उपस्थित अन्य भिक्षुले आधिकारिक बुद्ध वचन भए नभएको पुष्टि गर्दथे।

स्मृतिका आधारमा वाचन गरिने इनै बौद्ध वचन र विचारलाई विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकमा सङ्ग्रह गरिएको देखिन्छ। यद्यपि ईशाको पहिलो शताब्दीतिर आएरमात्रै लिखित रूपमा विनय (नियम)हरूको सङ्ग्रह भएर त्रिपिटकको रचना भएको हो। त्रिपिटकको रचना एउटै कालखण्डमा भएको होइन। पहिलो सङ्गीतिमा सबै बुद्ध वचन वाचन नगरिएको या त्यहाँ वाचन गरिएको कुनै पनि सूत्र बुद्धवचन नभएको आरोप पनि बौद्ध धर्मकै सम्प्रदायमा भेटिन्छ। विनय पिटक र सूत्र पिटक अपेक्षाकृत पुरानो र अभिधम्म पिटक (दोस्रो-तेस्रो सङ्गीतिबाट सङ्कलन गरिएको) नयाँ मानिन्छ।

बुद्धको निर्वाणको सय वर्षपछि दोस्रो धर्म सङ्गीति विहारकै वैशालीमा भएको मानिन्छ। यतिन्जेल बौद्धभिक्षुहरूको आचरणमा प्रसस्त परिवर्तन आएको र सुनचाँदीजस्ता बुद्धले निषेध गरेका वस्तु पनि भिक्षुहरूले ग्रहण गर्न थालेकोले त्यसको निदानका निम्ति यो सभा आयोजना गरिएको देखिन्छ।

वैशालीका भिक्षुहरूको विशेषतः खानपान, रहनसहन र आचरणमा आएको विचलनलाई लिएर १० वटा बिषयको समाधानका निम्ति भएको यो सभा भिक्षु यशको पहलमा भएको देखिन्छ। सात से भिक्षु सहभागी यो सभाले पुरानै नियम स्थापना गरिदिएपछि र परिवर्तनलाई अस्वीकार गरेपछि बौद्ध धर्मभित्र अनेक सम्प्रदाय विकास हुँदै आएको देखिन्छ।

खासगरी धनसम्पत्तिको आदानप्रदानमा यो सभाले निषेध गरेको देखिन्छ। यसबाट असन्तुष्ट भएर वैशालीका भिक्षुहरूले  महासाङ्घिक निकाय भनेर छुट्टै समूह खोले। संस्थापन पक्ष भने थेरवाद (स्थविर) का रूपमा चिनिन्छ। बौद्ध धर्ममा पहिलो विभाजन यही दोस्रो सङ्गीतिबाट सुरु भएको मानिन्छ। पछि थेरवाद हीनयान र महासाङ्घिकहरू महायान सम्प्रदायमा विकास भएको छ।

ईशापूर्व ३२२ मा आइपुग्दा मगध साम्राज्यमाथि चन्द्रगुप्त मौर्यले आधिपत्य जमाएर मौर्य शासनको प्रारम्भ गरे। यही मौर्य वंशका प्रतापी राजा अशोकका पालामा पाटलिपुत्र अर्थात् हालको पटनामा तेस्रो बौद्ध सङ्गीति आयोजना भयो। यसबाट थेरवाद पनि टुक्रिएर सर्वास्तिवादको अलग्गै हाँगा विकास भयो। अशोकलाई चक्रवर्ती सम्राट् पनि भनिन्छ।

अफगानिस्तानदेखि आसाम र दक्षिण भारतसम्म अशोकको साम्राज्य फैलिएको थियो। नेपालको लुम्बिनी पनि त्यतिबेला अशोककै साम्राज्यभित्र पर्ने इतिहासकारहरू बताउँछन्। लुम्बिनीको आधिकारिकता नै उनले खड़ा गरेको अशोक स्तम्भका आधारमा भएको थियो। अशोकले नै आफ्नो साम्राज्यभरि बौद्ध धर्मको प्रचार गरेका थिए। चौथो सङ्गीति भने ईशाको पहिलो शताब्दीको आसपास श्रीलङ्का र पाकिस्तानमा छुट्टाछुट्टै भएको देखिन्छ।

हाल विश्वको चौथो ठूलो धर्मका रूपमा रहेको बौद्ध धर्मका चार मुख्य सम्प्रदाय प्रचलनमा छन्। थेरवाद अर्थात् हीनयान, महायान, बज्रयान र नवयान। बज्रयानलाई तान्त्रिक धार भनिन्छ। हीनयानले बुद्धलाई महामानव मान्दछ र कुनै पूजा निषेध गर्दछ भने महायानले बुद्धलाई भगवान् मनेर पूजा गर्दछ। महायानमा मैत्रेय, मन्जुश्री, अवलोकितेश्वरजस्ता अन्य बोधिसत्वलाई पनि देवता मानेर पूजा गरिन्छ।

संक्षेपमा बौद्ध धर्ममा चार आर्यसत्य छन् ; दुःख, समुदय, निरोध र मार्ग। दुःख, दुःखका कारण, दुखनिवारण र त्यसको बाटो। दुःखनिवारणको आठथरी बाटोलाई अष्टाङ्गिक मार्ग भनिन्छ। सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक् (वाणी), सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि। सम्यक् अर्थात् पूर्ण, गहिरो र सर्वाङ्ग।

तत्कालीन हिन्दू धर्मभित्र उपनिषद् हरूले आत्मालाई अपरिवर्तनीय र नित्य तथा शरीरलाई अनित्य मान्दै आएकोमा बौद्ध दर्शनले शरीर र आत्मा दुबैलाई क्षणिक या अनित्य मानेकाले यो फरक दर्शनको रूपमा विकास भएको देखिन्छ। कर्म र पुनर्जन्ममा भने दुबैको विश्वास देखिन्छ। हाल आएर भने दुबैले पूजा र आत्माको अस्तित्व स्वीकार गर्दै गएको पाइन्छ।

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय दुबैले बौद्ध दर्शनमा उच्च शिक्षा दिँदै आएका छन्। बौद्ध विश्वविद्यालय नै पनि स्थापना भएको छ। नेपाल संस्कृत विश्वविद्यालयले त अध्ययनार्थीलाई मासिक छात्रवृत्तिसमेत उपलब्ध गराउँछ। तर त्यहाँ अध्ययन गर्न जाने विद्यार्थी पाउन मुश्किल छ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा लगाएर मात्र कर्तव्य पूरा हुँदैन। बुद्धपूर्णिमाका अवसरमा कम्तीमा बुद्ध र बौद्ध दर्शनबारे अलिकति ज्ञान लिने र दिने गरेर यसलाई सार्थक रूपमा मनाउन सकिन्छ भन्ने विश्वासका साथ सबैलाई बुद्धपूर्णिमाको शुभकामना !

@सेतोपाटी

Buddha bauhda

नारायण गाउँलेका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho