धेरैका लागि उदाहरण बनिन् ‘पासाङ ल्हामु’

फूर्वा कित्तार शेर्पा

२०७५ बैशाख १८, मंगलबार


फूर्वा कित्तार शेर्पा
पासाङ ल्हामु मेरी एक मात्र छोरी हुन् । मेरा पाँच सन्तान छन् । दुई छोरा जन्मिएपछि पासाङ जन्मिन् । त्यसपछि अरु दुई छोराहरु जन्मिए । 
पासाङ सानैदेखि अलिक कठोर र कडा स्वभावकी थिइन् । कुनै कुरा वा विषयमा सोचेपछि उनी गरी छाड्थिइन् । नारी, आइमाईले गर्न सक्छन् नि जे पनि–उनी भनिरहन्थिन् । 
जस्तै परेपनि मनले आँटेको काम गरिछा्ने उनको स्वभा थियो । कुनै कुनै काम गाह्रो छ नगर भनदा पनि उनको उत्तर हुन्थ्यो –‘मलाई केटी भनेर हेपेको ? म गर्न सक्छु नि ।’ ‘गरेरै छोड्छु’ भन्ने उनको प्रतिज्ञा हुन्थ्यो । सगरमाथा छढ्न गएको पनि उनको यही प्रतिबद्धता हो भन्ने मलाई लाग्छ । 
हिमाल चढ्नलाई लाक्पा फुटी, नन्दा राई र पासाङ ल्हामु गएका हुन् । त्यो वेला नेपाली छोरीहरुले हिमाल चढ्न खोज्दा सरकारले ‘ट्याक्स’ लिएको थियो । यो सरकारी व्यवहारबाट पासाङले निकै ठूलो चित्त दुखाएकी थिइन् । 
नारीहरुले गरेको काममा सरकारले सघाउनुपर्नेमा उल्टै हिमाल चढ्दा कर लिएकोमा पासाङले झनै चम्केर यो काम गरेकी थिइन् । छोरीहरु जस्तोसुकै परिस्थितीमा पनि काम गर्न सक्छन् भन्ने उनको धारण थियो । 
हिमाल चढ्नलाई पासाङ तयार भएपछि त्यतिखेर एउटा कार्यक्रममा मदन भण्डारीसँग भेट भयो । उनले असल बाबु–आमा भएकाले ज्यादै गतिलो छोरी पासाङ जन्मेकी मलाई पटक–पटक भनेका थिए । छोरकिो सुर्ता नगर भनेर मलाई ढाडस दिएका थिए मदन मण्डारीले । तर, त्यस्तो मायालु व्यवहार देखाउने मदनको पोखारबाट चित्तवन आउँदा मृत्यु भयो । 
पासाङ र मदनको लास एकै ठाउँमा राख्नुपर्यो । दुवैलाई मैले एकै ठाउँमा राख्नु पर्यो । दुवैलाई मैले एकै ठाउँमा देखेपछि सम्हालिन निकै गाह्रो भयो । 
पासाङ र मदनको मृत्यु भएको समय कसरी एउटै जुरेको होला ? म अहिले पनि अनौठो मान्छु । यो मेरो जीवनकै विशेष सम्झना हो । अहिले पनि म पासाङको तस्वीर देख्दा मदनले बोलेका ती कुराहरु पनि सम्झना गर्छु । 
सरकाले जति गर्यो –अझै पासाङका लागि अपूरो भएको लाग्छ मलाई । म सन्तुष्ट छैन । पासाङको नामका लागि अझै गरिदिए हुन्थ्यो भन्ने लाग्छ । पासाङलाई सम्झना पर्ने अरु अरु कामहरु भईदिए जाती हुन्थ्यो । 
पासाङलाई नेपाली समाजले भने निकै सम्झना गरेको छ । उनको प्रसिद्धी देखेर ज्यादै खुशी लाग्छ । मलाई उनको आँटको सँधै तारिफ गर्न मन लाग्छ । मेरो छोरीको आँट गरेको हुनाले अहिले अरु छोरीहरुले हिमाल चढ्न आँट गरेका हुन् । यो देख्दा निकै खुशी लाग्छ । मेरी एउटी छोरीको आँटले गर्दा अरु छोरीहरुलाई आत्मबल मिलेको छ । उनको साहसले गर्दा अहिले संसारमा नेपाली नारीहरुको नाम पनि चम्केको छ । 
पासाङ जन्मिँदा म घरमै थिए । शुक्रबारको विहान उनी जन्मेकी थिइन् । जुबुतिरको भेडी गोठ त्यो बेला हाम्रो घर छेउतिर निकै आउँथे । एक जना भेडी गोठको गोठाल्नीले पासाङ जन्मिँदा मेरी श्रीमतीलाई साथी भएर सघाएकी थिइन् । 
पासाङ जन्मिदा यस अघि पनि छोरा जन्मिएकाले अब छोरी जन्मिए हुन्थ्यो भन्ने मैले मनमनै सोचेको थिएँ । सोचे जस्तै भयो –पासाङ ल्हामु जन्मिन् ।
पासाङ जन्मेपछि मैले सरसफाई गरेँ । एक जना गुरुङ्नीले नाइटो काटिकी थिइन उनको । मैले सुत्केरीको कपडा फेरेर सघाएको थिएँ । मेरी आमा छोकीले पासाङ ल्हामुको नामकारण गर्नुभएको हो । मैले कहिल्यै पनि छोराछोरी माथि हात उठाइनँ । कुनै पनि छोराछोरीलाई एक थप्पड पनि लगाइन् । अझ पासाङलाई त झन् गाली नि गरेको सम्झना छैन । म ट्रेकिङमा जान्थेँ । फर्किँदा छोराछोरी सम्झेर चकलेट ल्याउँथे । 
एकपटक पासाङलाई लिएर नाम्चे ट्रेकिङ गएको थिएँ । पेम्बा लकीले पासाङलाई देखेर ‘ओहो ! कति राम्री छोरी पाएको ?’ भनेका थिए । केही समयपछि म फेरि कामकै लागि नाम्चे पुगेको थिएँ । 
‘छोरी कसलाई दिएको ?’ पेम्बाले सोधे । 
मैले छोरीको विहे भएको कुरा गरेँ । उनले भने –‘ए तिनीहरु नी राम्रा परिवारका हुन् । तर, मैले पो पासाङलाई बुहारी बनाउने सोचाई राखेको थिएँ ।’ 
पासाङले यस्तै १५–१६ बर्षको छँदा बक्खु चाहियो भनेर मलाई भनेकी थिइन् । मैले पनि काठमाडौं आएको बेला खुसीले किनेको थिएँ, छोरीका लागि वक्खु । त्यो कफी रङको बक्खु थियो । 
छोरी सम्झ्यो कि मेरो छातीमा गाँठो पर्छ । धेरै कुरा त मैले विर्सिसकेँ । तर, उनका बाल्यकालका कुरा कतिपय सम्झनामा छन् । 
उनी ढुंगाहरु बटुलेर खेल्थिन् । ढुंगाको चुल्हो बनाएर आफ्नै धुनमा खेल्थिन् । छोरीले पढ्न पाइनन् । तर, भित्रैदेखि बाठी र साहसी स्वभाव तिनको थियो । 
पछि काठमाडौंको लाली गुराँसकी साहुनी लामा दोर्जीकी श्रीमतीले पासाङलाई भनिछन्– ‘तिमीले कति पढ्यौ ? तर, हामीले पढ्न पाएनौं । हामे हाटेल छ । तर तिमीले पढेर कति धेरै कुरा थाहा पायौं ।’ 
पासाङले नपढेपनि पढेजस्तै थिइन् । अहिले पनि उनले पढेकी भए धेरै ठूलो मान्छे हुन्थिन् जस्तो लाग्छ । दाइृहरुसँग त झगडै गर्थिन पासाङ । हक्की र निडर स्वभाव थियो तिनको । 
पासाङ खुबै नाच्ने गर्थिन् । अरु कोही नाचे भने उनलाई म सम्झिहाल्छु । मलाई छकाएर उनी नाच्न जान्थिन् । सुर्केको कान्छी पासाङकी साथी थिइन् । पासाङ ल्हामु र कान्छी प्रायः सँगसँगै नाच्ने गर्थे । 
म लुक्लामै छँदा पासाङ सगरमाथामा बितेको सुनाएको थिए । मलाई सुरु सुरुमा फर्किन्छन् की भन्ने विश्वास महिनौंसम्म नै भइरह्यो । पछि प्रधानमन्त्री सूर्यबहादुर थापाले एकपटक भेटमा भनेका थिए –‘तपाई बाबु–आमा असल भएकैले पासाङले ठूलो नाम कमाइन् । तपाईँकी छोरीको निधन भएपनि उनको नाम सुनको अक्षरमा लेखिएको छ ।’
यो कुरा म कहिल्यै विर्सिन्न । सन् १९९३ अप्रिल ३ मा पासाङ पुगेको खबर टिभीमा मैले छर्लङ्गै देखेको थिएँ । छोरी माथि हिमाल गएको हुनाले म घर रुङ्न बसेको थिएँ । पेम्बा दिकीले पछि भनेकी थिइन्–‘दिदि माथि नै छन् रे ! अक्सिजन लुक्लाबाट लगेपछि अलि तल भरिन् रे !”
तर उनी तल अर्कै अवस्थामा आइन् । पासाङ बितेपछि धेरै कुरा अहिले म सम्झिरहेको छु । उनी जन्मेको घर भत्काएर अर्को बनेपनि त्यो पुरानो घरको कोठा भउको ठाउँमा जाँदा म उनलाई सम्झन्छु । 
पासाङ गएको धेरै बर्ष भो । अहिले उनलाई सम्झिँदा मेरो आँखा रसाउँछन् । उनले आँटेको गरिन् । सोचेको कुरा गरिहाल्ने हुनाले उनले हिमालसँग हार खाइनन् । 
उनले देखाएको बाटोमा अहिले धेरै नेपाली नारीहरुले काम गरिहेका छन् । पासाङसँग गरिछाड्ने बानी थियो । त्यो बानीले हिमाल मात्रै चढिनन्–धेरैको लागि उदाहरण पनि बनिन् । अहिले धेरै नेपाली छोरीहरुले उनलाई अगाडी सारी हिमाल चढेको देख्दा खुशी लाग्छ । 
(पासाङ प्रतिष्ठा–२०७५ बाट साभार)
 

फूर्वा कित्तार शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho