तेन्जिङ–एडमन्डका सारथीः कान्छा शेर्पा

खिलक बुढाथोकी

२०७५ बैशाख १८, मंगलबार

0 0


‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...’ रेडियो नेपालमा एक समय धर्मराज थापाको यो गीत निकै गुन्जियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पासँगै न्युजिल्यान्डका सर एडमन्ड हिलारी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि यो गीत रिलिज भएको थियो । अहिले भने यो गीत त्यति सुनिँदैन । 
तेन्जिङ नोर्गेले भारतीय नागरिकता लिएर वा स्वर्गीय भएर गीत नबजेको भने होइन । समयले कोल्टे फेर्दै जाँदा गीत सदावहार रहन सकेन । त्यसो त एडमन्ड र तेन्जिङ बाहेक आरोहणमा सहभागी सबै छाउन सकेनन् । 
इतिहास जित्नेको लेखिन्छ । उनीहरूले जिते र इतिहासमा नाम लेखियो । तर, पर्दा पछाडि जिताउन भूमिका खेल्नेको योगदान कम चाँही हुँदैन । तेन्जिङ–एडमन्डको पहिलो सगरमाथा आरोहण सफल पार्न पर्दापछाडि योगदान दिनेमा पर्छन्, ‘कान्छा शेर्पा ।’ 
तर, उनको वास्तविक नाम कान्छा होइन । न उनी परिवारको कान्छा छोरा हुन् । आमाले माया गरेर ‘कान्छा’ बोलाउँदा यही नाम रहन गएको हो । दाजुभाइमध्ये माइला रहेका उनको खास नाम आङफुर्वा शेर्पा हो ।
तिनै कान्छा सन् १९५३ मा भएको पहिलो सगरमाथा सफल आरोहणका प्रत्यक्ष साक्षी पनि हुन् । नाम्चेमा ८५ वर्षपहिले जन्मेका शेर्पालाई चोमालोङमा (सगरमाथा) सुनेका थिए, तर कहाँ पर्छ भने जानकारी थिएन । हँसिलो अनुहारसँगै जोशिलो आत्मविश्वास झल्काएर उनले भने, ‘नाम्चेबाट चोमालोङमा देख्दा एक दिन त्यहाँ मान्छे पुग्छन् भनेर सोचेको पनि थिइनँ ।’
नाम्चेमा छँदा उनी बुबाआमालाई सघाउन घाँसदाउरा बोक्थे । बुबासँगै तिब्बतमा नुन लिन जान्थे । त्यही बेलामा पल्लो गाउँको एक जनाले तेन्जिङ भन्ने व्यक्ति हिमाल चढ्दैछन् भनेर सुनाए । त्यही काम पाइएला भन्ने आशमा कान्छा पनि तेन्जिङलाई भेट्न दार्जिलिङ पुगे । त्यसबेला तेन्जिङ दार्जिलिङमा टे«किङ व्यवसाय चलाउँथे । तेन्जिङले भारतीय नागरिकको सहयोगमा कञ्चनजंघा ट्रेक नामको ट्रेकिङ अफिस खोलेका थिए । सात दिन लगाएर दार्जिलिङस्थित तेन्जिङको घर पुगेका कान्छाले तीन महिनापछि सगरमाथा आफ्नै गाउँमाथि छ भन्ने थाहा पाए । 
‘म चकित भएँ, अझ चकित त हामी अब त्यही हिमाल चढ्न जान्छौं भनेको सुनेर भएँ,’ उनले सुनाए । 
१९ वर्षको उमेरमा घरबाट भागेर काम खोज्दै दार्जिलिङ पुगेका कान्छा तेन्जिङको घरमा तीन महिना काम गरेपछि सगरमाथा चढ्ने सपना बोकेर फर्किए । 
दार्जिलिङ, सिलगुडी हुँदै रेल चढेर रक्सौल र त्यहाँबाट ट्रक चढेर बाइरोडको बाटो भएर उनी काठमाडौं आए । उनीसँगै तेन्जिङसहित अन्य आठ शेर्पा पनि काठमाडौं आएका थिए । उनीहरू हिमाल चढ्न न्युजिल्यान्डबाट आउने एडमन्ड हिलारीको टिमलाई लिन काठमाडौं आएका थिए । यो सबै व्यवस्था तेन्जिङले मिलाएको कान्छालाई अत्तोपत्तो थिएन । 
‘त्यतिबेला भक्तपुरमा न सडक थियो न अहिलेका जस्ता घर नै,’ उनले भने, ‘त्यही बस्यौं हामी, हिमाल चढ्ने विदेशीको पर्खाइमा ।’
न्युजिल्यान्डबाट एडमन्ड हिलारीसहित १५ जना आए । विदेशी टोलीलाई तेन्जिङले एयरपोर्टबाट लगेर भक्तपुर पु¥याए । कान्छा भने एडमन्ड सहितको विदेशी टोली देखेर चकित परे । ‘हाम्रो कपडा, शरीर सबै फोहोर थियो,’ उनले सम्झिए, ‘एडमन्डको टिम सफा चट थियो । उनीहरू गोरा र अग्ला थिए ।’ 
तर, कान्छा कोही विदेशीसँग बोल्दैनथे । कारण– उनी भाषा बुझ्दैनथे । उनी तेन्जिङमार्फत नै विदेशीसँग हाइ, हेल्लो गर्थे । 
भक्तपुरमा उनीहरू दुई हप्ता जति बसे । यो बीचमा उनीहरूले आरोहणका लागि ल्याएका सामग्रीको भारी बनाए । भारी बोक्न चार सय कुल्ली जम्मा गरियो । उनीहरूलाई भक्तपुरबाट नाम्चे पुग्न १६ दिन लागेको थियो । त्यहाँ पुगेपछि भने भक्तपुरबाट लगेका कुल्ली फर्काइयो । ‘ती कुल्लीमध्ये २५ जनाले बोकेको बाकसमा पैसा रहेछन्,’ उनले भने, ‘कुल्लीलाई पारिश्रमिक दिँदा आधा बढी पैसा सकियो ।’ उनका अनुसार सरकारले उनीहरूको पैसाको सुरक्षाका लागि नाम्चेसम्म पाँच प्रहरी पठाएको थियो । 
नाम्चेबाट कुल्ली फर्काएपछि त्यहाँबाट सगरमाथा बेस क्याम्पससम्म भारी बोक्न याक प्रयोग गरिएको थियो । त्यहाँबाट ३५ जनाको मात्रै टिम बन्यो, जसमा १५ विदेशी थिए भने बाँकी शेर्पा । 
उनीहरूलाई नाम्चेबाट बेस क्याम्प पुग्न ६ दिन लाग्यो । त्यहाँ पुगेपछि सबैको जिम्मेवारी बाँडफाँड भयो । कान्छाको भागमा अक्सिजन, पानी र खानेकुरा बोक्ने जिम्मा प¥यो । ‘मेरो जिम्मामा अक्सिजन तथा खानेकुरा बोक्ने जिम्मेवारी थियो,’ उनले भने, ‘तर, म सबै काम गर्न तयार हुन्थँे ।’ 
खुम्बु आइसफलमा बाटो बनाउँदा भ¥याङ चाहिने भया । न्युजिल्यान्डको टोलीले सबै सामग्री ल्याए पनि भ¥याङ ल्याएको थिएन । भ¥याङ बनाउन काठ आवश्यक भयो । र, काठ काट्न कान्छा नाम्चे फर्किए । उनले नै शेर्पाहरूको सहयोगमा सल्लाका रूख काटेर बेसक्याम्प पु¥याए । 
उनीहरूले हिउँभित्र बाटो खोज्दै चुचुरो पुग्ने अभियान सुरु गरे । शेर्पाहरू अगाडि गएर बाटो पत्ता लगाउँथे । त्यही डोरी समाउँदै दलका अरु सदस्यहरू पनि अघि बढ्थे । टोलीको अग्रभागमा भने तेन्जिङ र एडमन्ड हिलारी नै हुने गरेको कान्छा बताउँछन् । 
दोस्रो क्याम्पमा विदेशी र अन्य शेर्पाहरू बसे । हिलारी, तेन्जिङ, कान्छासहित अन्य १६ जना शेर्पाहरू त्यसभन्दा माथि नै गए । उनीहरू पटकपटक साउथ कोल अर्थात पाँचौं शिविर (७९०६ मिटर) पुगे । 
मे २८ कै दिन आवश्यक सामग्री पाँचौं शिविरमा पु¥याएपछि भने कान्छाहरू तलतिर फर्किए । तेन्जिङ र हिलारी भने चुचुरोको यात्रातिर लागे । 
‘हामी सबै जना दोस्रो शिविरमा जम्मा भएका थियौं,’ अनुहारमा खुसी ल्याउँदै उनले सुनाए, ‘दिउँसो १ बजे हुँदो हो, वाकिटकीमा फोन गरेर तेन्जिङले चुचुरो पुगेको कुरा सुनाए ।’ यो सन् १९५३ मे २९ को कुरा हो । सगरमाथाको नाममा इतिहास लेखिएको यो दिन कान्छाको मनमा भने अहिलेसम्म अमिट छ । 
‘त्यो आरोहण सफल नभएको भए हामीलाई कसले चिन्थ्यो र ?’ उनी भन्छन्, ‘त्यसैले त संसारलाई सगरमाथाको बाटो देखाइदिने हिलारीलाई बुबा र तेन्जिङ आमा मान्नुपर्छ जस्तो लाग्छ ।’ अहिले पर्वतारोहण पर्यटनले नेपालमा पुगेको योगदान उनै हिलारी र तेन्जिङको देन जस्तो कान्छालाई लागेको छ ।
हिलारी र तेन्जिङ जब दोस्रो क्याम्प आइपुगे यसपछि भने खुसीको सीमा अझै बढेको कान्छा सुनाउँछन् । ‘त्यो क्षण सम्झँदा अहिले पनि खुसीले उकुसमुकुस हुने गरेको छु,’ कान्छा सुनाउँछन् । चुचुरोको सफल आरोहणपछि तेन्जिङ र एडमन्ड हेलिकप्टरमार्फत काठमाडौं फर्किए । तर, उनीहरूलाई भने सबै सामग्रीको व्यवस्थापन गरेर मात्रै फर्किए । 
आरोहण टोली नाम्चे फर्किएको एक महिनापछि प्रमाणपत्र, तक्मा र ज्याला ल्याएर कान्छा हिलारी नाम्चे पुगे । त्यसपछि भने कान्छासहित अन्य शेर्पाहरू गाउँभरि ‘हिरो’ भए । 
त्यसपछि कान्छाले पर्वतारोहण पेसा नै सम्हाले । नजुरेको हो वा आँट नगरेको । उनले चुचुरोमा पाइला टेक्ने अवसर भने पाएनन् । ‘साउथ कोलसम्ममा ६ पटक पुगेँ,’ उनले भने, ‘तर, चुचुरोमा पुग्ने मौका भने कहिल्यै जुरेन ।’ उनी अरुलाई चढाउन त्यहाँ पुगेका थिए । त्यसभन्दा माथि जान अक्सिजन चाहिन्छ । चुचुरोमा जानेहरू अक्सिजन खाँदै जान्थे । सामान पु¥याउन जानेहरू साउथ कोलसम्म पु¥याएर फर्किन्थे । यो अलावा सामान पु¥याउने शेर्पालाई पनि कुनै आरोहीले अक्जिसनको व्यवस्था गरिदिएको हुन्थ्यो । तर कान्छाले भने यो अवसर पाएनन् । 
सन् १९७१ देखि भने कान्छाले पर्वतारोहण पेसा छाडे । श्रीमतीको अडानमा यो पेशा छाड्नुपरेको उनी बताउँछन् । ‘हिमाललाई भगवान् मान्ने मेरी श्रीमती कुनै दिन हिमाल रिसाए केही होला की भनेर धेरै डराइन्,’ उनले भने, ‘त्यसपछि अंग्रेजी सिकेर ट्रेकिङतिर लागेँ ।’
अहिले उनलाई बुढेसकालले छोइसकेको छ । कुनै रोगले नच्यापे पनि पहिलाको जस्तो आत्मबल नभएको उनी बताउँछन् । ‘अहिले त बौद्ध स्तुपमा जान पनि गाह्रो लाग्छ,’ उनले भने, ‘तर जान त कहाँ छोड्छु र ?’ 
अहिले उनी काठमाडौंमा छन् । जाडो छल्न काठमाडौं आएका कान्छालाई आफ्नै जन्मथलो प्यारो लाग्छ । उनको जन्मस्थल नाम्चे होटलले भरिएको छ । उनका कान्छा र जेठा दुवै छोराले नाम्चेमा होटल व्यवसाय गरिरहेका छन् । उनी जाडो नभएका बेला नाम्चे जाने गरेका छन् । 
उनलाई भेट्न आउने विदेशीको लर्को लाग्ने गरेको छ । कतिले त पैसा तिरेर अन्र्तवार्ता लिने गरेको उनी सुनाउँछन् । उनका कति दिन तेन्जिङ–एडमन्ड आरोहणको अनुभव सुनाउँदै बित्ने गरेका छन् । 
उनी सगरमाथाको नमन गर्दै बस्छन् । नमन पनि किन नगरुन्, उनलाई सगरमाथाले सबथोक दिएको छ– नाम, दाम र सम्मान । सरकारले सन् २०१३ मा सगरमाथा हीरक जयन्तीका अवसरमा उनीसहित श्रीमतीलाई काठमाडौँको सडकमा फूलैफूलले सजिएको बग्गीमा राखेर घुमाएको थियो । यो क्षण पनि उनलाई सबैभन्दा प्रिय लाग्छ । तर, अहिले श्रीमती साथमा छैनन् । छोरा–नातीसँगै रहेकाले उनलाई श्रीमतीको कति पनि न्यास्रो छैन । ‘न्यास्रो मानेर पनि के गर्नु,’ उनले भने, ‘एक न एक दिन त हामी सबैले त्यहीँ जानुपर्छ । मेरो पनि कति न वर्ष होला र ।’