फुपु ल्हमु खत्री (शेर्पा) को नयाँ अध्याय

शेर्पाखबर

२०७५ बैशाख १७, सोमबार


काठमाडौँ — सन् २०२० को ओलम्पिकलाई लक्ष्य राखेर जुडोकी फुपुल्हामु खत्री लामो समयको वैदेशिक प्रशिक्षणमा निस्केकी छन् । फुपु जुडोकी कीर्तिमानी खेलाडी हुन् । उनले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

जुन पदक नेपाली जुडोले सागमा २१ वर्षपछि जितेको पहिलो स्वर्ण थियो । उनले वैदेशिक प्रशिक्षण जुडोको मातृभूमि जापानमै गर्ने छिन् । त्यसका लागि फुपुल्हामु आइतबार जापान उडेकी छन् ।

झन्डै २ वर्ष ३ महिनाको प्रशिक्षणयात्रामा रहने उनले त्यहाँ जुडो प्रशिक्षणसँगै अध्ययन गर्न पनि पाउने छिन् । आईओसी सोलिडारिटीअन्तर्गत उनले यो अवसर पाएकी हुन् । त्यसका लागि नेपाल ओलम्पिक कमिटी, नेपाल जुडो संघ, कोडोकान (जुडोको हेडक्वार्टर) र अल जापान जुडो फेडेरेसनले समन्वय गरेका छन् । फुपुल्हामुसँगै सागकै पदकधारी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पनि यो अवसर पाएकी छन् । मनिता भने १८ औं एसियाली खेलकुदपछि मात्र प्रशिक्षणमा जानेछिन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक सहभागितालाई परिणाममुखी बनाउनुपर्छ भन्ने मान्यतामा खेलाडीका लागि यस किसिमको तयारी थालिएको बताए । ‘रियोबाट फर्केपछि नै हामीले भनेका थियौं, ओलम्पिक सहभागिताका लागि मात्र नभई परिणाममुखी बनाउनुपर्छ । त्यसका लागि गेम हुनु २–३ महिना गर्ने तयारी रोक्छौं र योजनाबद्ध ढंगले अगाडि बढ्छौं । त्यसकै सुरुआत हो,’ अध्यक्ष श्रेष्ठले फुपुल्हामुलाई बिदाइ गर्दै भने ।


उनले वाइल्ड कार्डबाट भन्दा पनि राम्रा खेलाडीलाई आवश्यक प्रशिक्षण दिलाएर प्रतिस्पर्धाको माध्यमबाट ओलम्पिक खेलाउन सकिएमात्र राम्रो प्रदर्शन आस गर्न सकिने बताए । अघिल्लो साता राजधानीमा सम्पन्न आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपकी रजत विजेता फुपुल्हामुले साग खेल्नुअघि पनि हंगेरीमा ६ महिना विशेष प्रशिक्षण लिएकी थिइन् । त्यसबाट सागमा स्वर्ण जित्न ठूलो सहयोग पुगेको बताउने उनले यसपल्टको वैदेशिक प्रशिक्षणलाई ओलम्पिकको लक्ष्य बनाएकी छन् । सन् २०२० को ओलम्पिक जापानकै टोकियोमा हुनेछ ।

फुपुले भनिन्, ‘मेरो लक्ष्य ओलम्पिक नै हो । त्यसमै राम्रो गर्नु हो । त्यसमै केन्द्रित हुनेछु । तर त्यहाँ गएर ट्ेरनिङ गरेपछि अरु थाहा हुनेछ ।’

उनले यसै वर्ष हुने १८ औं एसियाड र १३ औं दक्षिण एसियाली खेलकुद पनि खेल्नेछिन् । जुडोको सुरुआत जापानबाट भएकाले त्यहाँको सिकाइबाट आफू खारिनेमा विश्वस्त फुपुल्हामुलाई डर पनि त्यत्तिकै छ । भन्छिन्– ‘जुडो जापानकै भएकाले त्यहाँको सिकाइ मेरो लागि ठूलो अवसरसँगै चुनौती पनि हुन्छ भन्ने लागेको छ ।’

एसियन तथा वल्र्ड जुडो च्याम्पियनसिपको समेत अनुभव बटुलिसकेकी फुपुले जुयिनरमा थुप्रै अन्तर्राष्ट्रिय पदक जितेकी छन् । स्नातकमा अध्ययनरत उनले त्यहाँ गएर बिजनेस ल पढ्ने बताइन् । उनी तोयामास्थित ‘ताकाओका युर्निभसिटी अफ ल’ मा भर्ना हुनेछिन् । यो युनिभर्सिटी टोकियोबाट झन्डै तीन घण्टाको ट्रेन यात्रामा रहेको छ ।

जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले नेपाली जुडोका लागि यो राम्रो अवसर भएको बताए । उनले भने, ‘तेक्वान्दोका संगीना वैद्य, दीपक विष्टले जसरीले छनोट प्रतिस्पर्धाबाट ओलम्पिक खेले, भोलिका दिनमा जुडोका खेलाडीले पनि त्यो दिन ल्याउने छ भन्ने आशा छ । हाम्रा खेलाडी वाइल्ड कार्ड नभई र्‍याङकिङका आधारमा छनोट हुनेछन् ।’

अध्यक्ष बज्राचार्यले त्यो सम्भावना फुपु, मनिताजस्ता युवाबाट देखेका छन् । उनले भने, ‘हामीले उनीहरूका लागि अवसर जुटाइदिएका छौं । त्यसबाट आफूलाई उन्नत बनाउने काम खेलाडीले नै गर्नुपर्छ ।’

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितालक्षित गरेर यति लामो समय नेपाली खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको सम्भवत: यो पहिलो हो । बज्राचार्यले खेलाडीको करिअरलाई ध्यानमा राखेर पढाइसँगै प्रशिक्षण व्यवस्था मिलाइएको बताए ।

@kantipur

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho