शेर्पा संघको नेतृत्व हस्तान्तरण हुन्छः अध्यक्ष शेर्पा

लाक्पा जी शेर्पा

२०७५ बैशाख १६, आईतबार


नेपाल शेर्पा संघको छैठौ महाधिवेशन गर्नुपर्ने दिनपनि नजिकिँदै छ । समयहरु नजिकिँदै गर्दा पाँचौं महाधिवेशनबाट निर्वाचित प्रतिनिधीहरुले व्यक्त गरेका प्रतिबद्धता, खेलेको भूमिका र चार बर्षको अवधीमा गरेका क्रियाकलापको बारेमा समिक्षा, खोजीनिती र छलफलहरु भइरहेका छन् । पाँचौ महाधिवेशनले चार बर्षअघि प्रतिष्ठित युवा व्यवसायी आङ दोर्जी शेर्पा लामालाई संघको तालाचावी जिम्मा लगाए । ५१ सदस्यीय कार्य समिति रहेको संघको महाधिवेशन र पहिलो वैठकको अजेन्डा बन्यो ‘भवन निर्माण’ । त्यो सपना कार्यसमितिको कार्यकाल पूरा हुँदा नहुँदै पूरा हुने छाँटकाँटमा छ । संघले डेढ रोपनीको क्षेत्रफलमा रहेको भवन हालै खरिद गरेको छ । पाँच करोडको लागतमा खरिद गरेको संघको हुन लागेको उक्त भवन शेर्पा समुदायबाटै सहयोग संकलन गरेर खरिद गरिएको हो । 
निर्माण व्यवसायी समेत रहेका संघका अध्यक्ष शेर्पासँग शेर्पा संघको महाधिवेशन, वर्तमान अवस्था, भवन खरिद लगायतको विषयमा पत्रकार लाक्पा जी. शेर्पाले कुराकानी यस सन्दर्भमा यहाँ प्रस्तुत छ ।

महाधिवेशनमा अघि सारेको पहिलो अजेन्डा पूरा हुँदै गर्दा कस्तो अनुभूत भएको छ ?
हामीले पाँचो महाधिवेशनमा सरिक हुँदै गर्दा हामीले नेपाल शेर्पा संघलाई आफ्नै भवनमा स्थापित भएको हेर्न चाहेका थियौं । आम शेर्पा समुदायले हामीलाई विश्वास गरेर जिम्मेवारी दिएसँगै हामी निरन्तर त्यो अभ्यासमा लाग्यौं । संघले ५ करोडको लागतमा विशाल भवन खरिद गर्न सफल भएको छ । महाधिवेशनमा हामीले अघि सारेको एउटा सपना पूरा भएकोले खुसी नै छु । यो सिंगो शेर्पा समुदायले गर्व गर्नुपर्ने विषय हो ।  
भवन खरिद गरेका छौं । तर, अझैपनि भवन खरिद वापतको भुक्तानी पूरा गर्न सकेका छैनौं । लगभग डेढ करोडको हाराहारिमा भुक्तानी बाँकी छ । त्योपनि हामी समुदायबाटै संकलन गरेर पूरा गर्छौं र आगामी अषाढ महिनाभित्र भवनलाई संघको नाममा पास गर्ने योजना सहित अघि बढेका छौं । 
यति ठूलो भवन खरिद गर्नु भएको छ । त्यसमा के के हुन्छ ? को–को अटाउनु हुन्छ ?
सान्दर्भिक प्रश्न उठाउनु भयो । यो भवन संघले आफ्नो अगुवाईमा खरिद गरेपनि अन्ततः यो हामी सबैको साझा सम्पती नै हो । धार्मिक क्रियाकलापको लागि शेर्पा सेवा केन्द्रमा कार्यहरु भए जस्तै अन्य सामाजिक, राजनैतिक कार्यक्रमहरु यही भवनमा सञ्चालन हुने हो । यस सिंगो शेर्पा समुदायको साझा कार्यक्रमहरु सञ्चालन गर्ने र नियमित कार्यक्रमहरु आयोजना भइरहोस् भन्ने चहाना हो । नेपाल शेर्पा संघका साथै यो भवनमा शेर्पा समुदायमा रहेका राष्ट्रिय संस्थाहरुलाई कार्यालय प्रयोजनका लागि कोठाहरु प्राप्त हुनेछ । किदुगहरुलाई दराजहरु उपलब्ध हुनेछन् । छरिएर रहेका शेर्पा संघसंस्थाहरुलाई यही भवनमा अटाउने हाम्रो लक्ष्य हो । 
त्यसो गर्दा समुदायमा नियमित भेटघाट, एकता, सद्भाव र भाइचाराको नाता समेत बढ्ने छ । कार्यक्रम आयोजना गर्न साझेदारी र समन्वय, पत्रचार गर्न समेत सहयोग पुगेको हुनेछ । 
अधिवेशन कहिले हुन्छ ?
महाधिवेशनको समय नजिकिसकेको छ । तर, भवन खरिद कार्य पूरा नभएकाले हामी तत्काल महाधिवेशन आयोजना गर्ने पक्षमा छैनौं । संभवत भवन खरिद प्रक्रिया सकिएपछि मात्रै महाधिवेशन आयोजना हुन्छ । त्यो आगामी अषाढपछि अशोजको वीचमा हुन सक्छ । केही महिना ढिला गरेर भएपनि हामी नियमित महाधिवेशन सम्पन्न गर्छौं । त्यसबाट समुदायलाई पनि खास घाटा पुग्छ जस्तो लाग्दैन । 
नेतृत्व हस्तान्तरण हुन्छ की यथावत रहन्छ ?
हामीले आफ्नो कार्यकालमा कस्तो काम गर्यौं भनेर हेर्नुका साथै भावी नेतृत्व कस्तो व्यक्तिलाई हस्तान्तरण गर्ने भन्नेमा रहन्छ । हामीले संस्थाको नेतृत्व समयसापेक्ष सहि व्यक्तिलाई हस्तान्तरण गर्न सकेनौं भने आफ्नो कार्यकालमा गरेको मिहिनेत बालुवा पानी हाल्नु जस्तै हुन्छ भन्ने मेरो बुझाई हो । त्यसो हुँदा सही व्यक्ति चिनेर नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन । हामीले आफ्नो कार्यकालमा जति जे गर्न सकेपनि नसकेपनि अब नेपाल शेर्पा संघमा नयाँ नेतृत्व आउँछ । त्यो पक्कै अहिलेको उपलब्धीलाई संस्थागत गर्दै लाने र समुदायलाई समय सापेक्ष विकास गर्ने खाले नै हुनेछ भन्ने विश्वास छ । त्यसो भनि रहँदा मैले अबपनि संघको नेतृत्व दाबी गर्छ की भनेर शंका गर्नुपर्ने छैन । म सकेसम्म छिटो र वैधानिक माध्यमबाट नेतृत्व हस्तान्तरण गरेर फुर्सद पाउन आतुर छु । 
तपाईको कार्यकालमा भएर उपलब्धीहरु ?
धेरै काम भएका छन् । कार्य समितिमा ५१ सदस्यीय भएपनि पहिलो वैठकमा ५० जनाको उपस्थिती रह्यो । त्यसपछिको वैठकहरुमा न्यून संख्यामा मात्रै सदस्यहरु उपस्थित भए तरपनि हामीले काम गर्न पछि हटेनौं । गणपूरक संख्याहरु नपुग्दा–नपुग्दैपनि समुदायको हितमा हुने कार्यहरुमा निर्णय र अडान लिएरै अघि बढ्यौं । अनेकौं चुनौतीकाबीच हामीले धेरै कामहरु गरेका छौं ।
भवन खरिदलाई महत्वपूर्ण उपलब्धीको रुपमा मैले माथि नै चर्चा गरिसकेँ । त्यस्तै, राजधानीमा दुई दिने शेर्पा सम्मेलन, विश्व शेर्पा सम्मेलन आयोजना र विश्व शेर्पा मञ्च तदर्थ समिति गठन, राजनैतिक उपलब्धी हासिल गर्न अधिकारमुखि आन्दोलनमा सरिक हुने कार्यक्रमहरु उपलब्धीको रुपमा चित्रण गर्नुपर्छ ।
विश्व शेर्पा मञ्चले ‘ठूलै उपलब्धी’ भन्नु भयो । अहिले के के भैरहेको छ ?
विश्व शेर्पा सम्मेलन विश्वभरि रहेको शेर्पाहरुको साझा मञ्च स्थापना गर्दै सम्पन्न भयो । यसबाट हामीले विश्वभर रहेका शेर्पाहरुलाई भावनात्मक एकता गराउने हेतुले संगठन निर्माण गरेका छौं । सदियौंदेखि र वसाईसराई गरी विभिन्न देशमा बसोवास गर्दै आएको शेर्पाहरुबीच भातृत्व र शक्तिको रुपमा विकास गर्न मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यस्तै, मञ्च मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालनको तयारीपनि भैरहेको छ । तत्काल ठोस योजना र कार्यक्रमहरु नदेखिएपनि भविष्यमा यसले आफ्नो उचित मार्गसहित समुदायको हितमा काम गर्न मार्ग प्रशस्त भएको छ । 
युवा जागरणको सम्वन्धमा के भन्नु हुन्छ ?
हामी आधुनिक युगका युवाहरु प्रविधिसँगै अघि बढीरहेका छौं । वास्तवमा अहिलेका युवाहरु यति सचेत र सक्षम छन् की यसले समुदायको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । समुदायमा युवाहरुको क्रियाशिलतामा विभिन्न ऐतिहासिक कार्यक्रमहरु, चेतनाविकास सम्वन्धी कार्यहरु, आपसी सहयोग, समन्वय सम्वन्धी क्रियाकलापहरु किर्तिमान हासिल गरेको अवस्थालाई हेर्दा युवाहरु समाजमा निक्कै अघि बढेको देख्न पाउँछौं । त्यस्तै, विभिन्न पेशा व्यवसाय मार्फत युवाहरु नयाँ ढंगबाट अघि बढीरहेको छ । यसबाट समाज रुपान्तरण र जागरणमा पनि महत्वपूर्ण उपलब्धी हासिल भएको भान हुन्छ । त्यस्तै, आर्थिक, सामाजिक, राजनैतिक विषयहरुमा बहस, समयसापेक्ष विकासका अजेन्डाहरुमा युवाहरुले आफ्नो सहभागिता देखाउनु र निर्णयहरु लिनुले पनि अहिलेका युवा वर्ग वास्तवमै सचेत भइसकेको भन्ने अनुभूत हुन्छ । यो शक्तिलाई समयसापेक्ष परिचालन र सहीमार्गमा डोहोर्याउने हो भने समुदायको हितार्थ हुने कार्य र भलाईका विषयहरु टाडा छैन । 
के यही प्रयाप्त छ ?
छैन । निश्चित रुपमा हामीमा आवश्यकताहरु धेरै छन् । परिपूर्तिका लागि साधनहरु र स्रोतहरुको उपलब्धतामा कमि छ । तर, पनि शिक्षित युवाहरुको जमात बढ्दै जाँदा व्यवस्थापकीय दृष्टिबाट समुदाय निक्कै अघि बढेको पाइन्छ । हाम्रो विकास, ज्ञान, सीप र परिस्थिती यतिमा मात्रै सिमित भएर पुग्दैन । शेर्पा समुदायका युवाहरुले देखाएको क्रियाशिलता र जागरणलाई अगुवाहरुले अभिभावकत्व दिँदै अघि बढाउन सक्नुपर्दछ । त्यसमा संघले समेत पहल कदमी लिन्छ ।