खादाः वहिष्कार र व्यापारिक सम्वन्ध

लाक्पा जी शेर्पा

२०७५ बैशाख १६, आईतबार

1 0


‘अष्टमंगल उल्लेखित खादा बहिष्कार अभियानमा पछिल्लो समय राज्य उद्दत छ ।’ सामाजिक सञ्जालमा आदिवासी समुदायले पोख्ने साझा आक्रोस हो यो । खादालाई औपचारिक रुपमा प्रतिवन्ध गर्ने पहिलो हो ‘संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय ।’ मन्त्रालयका तत्कालिन सचिव प्रेम राईले सचिवस्तरीय निर्णय गरेर मातहातमा खादा प्रयोग नगर्न उर्दी जारी गर्यो । 
त्यस्तै, प्राज्ञिकहरुको एक गोष्टिमा प्रधानमन्त्री केपी शर्मा ओलीले खादाले प्रदुषण फैलिएको भन्दै प्रयोग नगर्न निर्देशन दिए । यही श्रृंखलाले निरन्तरता पाउँदै गर्दा मुलुककै ठूलो पार्टी एमालेले खादा प्रयोग नगर्नमा प्रमुख भूमिका खेले र पार्टी संगठनमा सर्कूलर नै जारी गर्यो । एवंरितले चितवन कांग्रेस, विभिन्न नगरपालिकाले समेत खादा प्रयोग रोक्ने निर्णय एकाएक गर्दै गयो । 

भरखरै लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा पनि खादालाई प्रयोग गरिएन । यसमा बौद्धमार्गीहरुले विभिन्न माध्यमबाट आपती जनाए । वास्तवमा खादा देखाउनका लागि मात्रै लाउने वस्तु हैन, यसको विशेष महत्व छ भन्छन् आचार्य नुर्बु शेर्पा । खादा प्रयोग सम्वन्धमा केही समयअघि राजधानीमा भएको अन्तक्र्रियामा उनले खादाको प्रयोग, महत्व बारे प्रष्टाए । ‘यसको धार्मिक, सांस्कृतिक महत्व छ ।’ आचार्यले भने ।  
तर, यतिवेला बौद्धमार्गीहरु अष्टमंगल भएको खादा प्रयोग गर्ने र बौद्ध इतरका केही समुदाय खादा प्रयोग गर्न छाडेर ढाकाको गलवन्दी प्रयोग गर्ने धारमा विभाजित भएका छन् । खादा प्रयोग संस्कृती र ढाका प्रयोग संस्कारको विकासको खास कारण भने ‘व्यापारिक’ रहेको बुझिन्छ । सदियौंदेखि प्रयोग गर्दै आएर हाम्रो संस्कृती बनेको खादा र व्यापारिक दृष्टिबाट केही रुपैयाँ आर्जन गरुँ भन्ने हेतुले बजारीकरण गर्दै अघि बढाइएको ढाका संस्कारले सिंगो नेपाली समाजलाई नै विभाजित गरिरहेको अवस्था छ । 
खादाको प्रयोग रोक्नु आदिवासी, बौद्धमार्गीहरुको संस्कृतीमाथिको ठाडो हस्ताक्षेप हो भन्ने धारण नै निर्माण हुँदै गएको वर्तमान सन्दर्भमा खादा प्रयोगकै कारणले धार्मिक, जातीय विभाजन ल्याउन सुहाउँदो विषय भने पटक्कै होइन । तर, सिंगो राज्य संयन्त्र नै खादा प्रयोगको विरुद्धमा खनिनुपर्ने अवस्था कसरी सिर्जना हुन पुग्यो भन्ने प्रश्नपनि अनुत्तरित नै छ । 

Image result for khada
के ढाकाको व्यापार गर्नका लागि खादामाथि प्रतिवन्ध नै लागाउनु पथ्र्यौ त ? लोकलयमा यो प्रश्न गम्भिर रुपमा उब्जिएको छ । यसको समयसापेक्ष जवाफ र समस्याको समाधानका लागि राज्य अग्रसर हुनुपर्ने  देखिन्छ । 
खादा प्रयोग र व्यापारिक हिसाब
हिजोआज राजनीतिक, सामाजिक, सांस्कृतिक आदि औपचारिक कार्यक्रममा खादा प्रयोग गर्न थालिएको छ । विवाहमा बेहुला–बेहुलीलाई खादा लगाइदिने चलन बस्दै गएको छ । यसलाई अझ यसरी भनौं– जन्मदेखि मृत्युसम्म खादा प्रयोग भइरहेको छ । हामी खादा लगाउँछौँ या लगाइदिन्छौँ तर यसमा भएको व्यावसायिक सम्भावनाबारे हामीलाई वास्तै हुन्न ।
व्यवसायीहरुको अनुमान अनुसार राजधानीमा मात्रै दैनिक तीन लाख रुपियाँको खादा बिक्री हुन्छ । अर्थात् मासिक एक करोड र वार्षिक १२ करोड रुपियाँ । पोखरामा मासिक करिब ५० लाख रुपियाँको खादा व्यापार हुने विश्वासिलो अनुमान छ भने चितवनमा वार्षिक १९ लाख रुपियाँको खादा व्यापार भएको तथ्यांक सार्वजनिक भएको छ ।
यसको अर्थ हो, कुनै एक निश्चित स्थानमा मात्र नभई देशैभरि खादाको प्रयोग हुन्छ । तर, प्रयोगमा आउने अधिकांश खादा नेपालमा उत्पादन हुँदैनन् । यी विदेशवाट आयात गरिएका छन् ।
नेपालमा प्रयोगमा आएको एउटा खादाको मूल्य ३० देखि नौ सय रुपियाँसम्म पर्ने व्यवसायीको भनाइ छ ।
नेपाली बजारमा खादा
यस्तो खादा हामी नेपालमै बनाउन सक्छौं । यसको बजार पनि छ । यसको उत्पादन सुरु गर्न खासै लगानी पनि चाहिँदैन । तीन लाख रुपियाँमै यस्तो खादा बनाउने उद्योग थाल्न सकिन्छ । यस्तो खादा कसरी बनाउने भनेर ललितपुरको लुभुमा रहेका कपडा उद्योगमा गएर हेर्न सकिन्छ । यस्ता उद्योग अन्यत्र पनि हुन सक्छन् ।
यस्ता उद्योगले तयार गरेको खादा गुणस्तर अनुसार ६० देखि ७५ रुपियाँसम्म बिक्री हुन्छन् । माग बढेको अवस्थामा बिक्री मूल्यमा कमी आउन सक्छ । तर, चाइनिज खादाहरु तुलनात्मक रुपमा सस्ता छन् । तर, अलिकति महँगो भए पनि नेपाली खादा प्रयोग गर्ने र सरकारले पनि सहुलियत दिने हो भने यसको बजार सम्भावना राम्रो हुन सक्छ ।
खादा र ढाकाको फरक
खादा र ढाकाको बजार मूल्य तुलना गर्दा खादा भन्दा ढाका ४ गुण बढी रहेको पाइन्छ । सामान्य ७ नं. को अष्टमंगल भएको खादाको मूल्य १७ रुपैयाँ पर्छ । उही आकार र लम्बाईको ढाकाको मूल्य भने ७० रुपैयाँ पर्न जान्छ । अझ गुणस्तरीय खादा खरिद गर्ने हो भने ३५ देखि ५० रुपैयाँसम्म पर्छ । नेपाली बजारमा उत्पादन नहुने भएपनि धेरै खपत हुने भएकाले खादाको मूल्य कम पर्न गएको हो ।