के गर्दै छ, विश्व शेर्पा मञ्च ?

लाक्पा जी. शेर्पा

२०७५ बैशाख १६, आईतबार


काठमाडौं (शेर्पाखबर) । विश्व शेर्पा मञ्च के गर्दै छ ? यो प्रश्नमा सतहीमा देखिन थालेका छ । तर, यसको ठोस जवाफ भने कोहीसँग छैन । प्रथम विश्व शेर्पा सम्मेलन ‘११ बँुदे घोषणापत्र’ जारी गर्दै समापन २०१७ को अक्टोबर ९ मा सम्पन्न भएको थियो । 
नेपाल शेर्पा संघका अध्यक्ष तथा विश्व शेर्पा सम्मेलन आयोजक समितिको संयोजक समेत रहेका आङ दोर्जी शेर्पाको अध्यक्षतामा विभिन्न देशका प्रतिनिधीहरु सम्मेलित मञ्च गठन गरेपनि त्यसयता कुनै औपचारिक अनौपचारिक वैठकसम्म वस्न सकेको छैन । 
घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई कार्यान्वयन गर्नका लागि पनि मञ्च क्रियाशिल हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन् । ‘विश्वका शेर्पा एक होऔं ।’ भन्ने आदर्शसहित गठन भएको विश्व शेर्पा मञ्चको दायर, विधान र कार्यविधिका विषयमा सम्मेलनमा केही छलफल गरी विधान मस्यौदा समेत पारित गरेका थिए । तर, सोचे अनुसार काम अघि बढ्न नसकेको नेपाल शेर्पा विद्यार्थी संघका संस्थापक अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 
विभिन्न देशका शेर्पा प्रतिनिधीहरुको उत्साहजनक सहभागितामा मञ्च गठन भएपनि त्यो उत्साहले नतिजा भने दिन सकेको छैन । मञ्च लामो समयसम्म गुपचुपमा रहेको भन्दै नेपाल वाहिरबाट यतिवेला आवाज समेत उठ्न थालेका छन् । विभिन्न देशबाट प्रतिनिधीहरु सम्मेलित गराउँदा समुदायलाई  अत्याधिक खर्चभार समेत परे । तर, लगानी अनुसारको प्रतिफल प्राप्त गर्नतर्फ मञ्च उन्मूख देखिएन । 


सम्मेलनमा शेर्पाहरूको भाषा, धर्म, संस्कृति, राजनीति, सामुहिक लगानी, महिला, युवा र रोजगार, सञ्चार, वातावरण र अन्तरविरोध निवारण लगायत विषयमा योजनाबद्ध रुपमा अघि बढ्ने मार्ग पहिल्याएपनि तत्काललाई हुन नसकेको संयोजक आङ दोर्जी लामा शेर्पाले स्वीकारे ।  
मञ्चले गति लिन नसकेको विषयमा युवाहरुले सामाजिक सञ्जाल लगायतमा असन्तोष व्यक्त गरिरहेका छन् । शेर्पा संरक्षण समाज काठमाडौंका सचिव मिङमा शेर्पाले भने ‘कार्यक्रम हुनु भन्दाअघिसम्म यसले एउटा राम्रो किसिमको माहोल तताएको थियो र पक्कै पनि यो संस्थाले बिश्वभरि रहेको शेर्पाहरूलाई एक ढिक्का बनाएर शेर्पाहरूको राजनीतिक, सामाजिक, बौद्धिक, सांस्कृतिक र आर्थिक विकासमा महत्वपूर्ण टेवा पूर्याउँदछ भन्ने लागेको थियो तर आजको दिनसम्म आइ पुग्दा पनि हामिले त्यत्रो आशा गरेको साझा संस्थाले केहि पनि गर्न नसक्नु दुःखको कूरा हो ।’ उनले आफूहरुको योगदानको अबमूल्यन नगर्न समेत भनेका छन् ।’ 
त्यस्तै, विदेशमा पसिना वगाएर शेर्पाको हितका लागि हुने कार्यक्रमका लागि भन्दै योगदान गरेको भएपनि अहिले यो विषयमा कुनै चियोचर्चो नहुँदा दुःख लागेको बताउँछन् शेर्पा किदुग दोहा कतारका अध्यक्ष ङावाङ कुसाङ शेर्पा । ‘विश्व शेर्पा मञ्च कता हरायो ?’ भन्दै सार्वजनिक खोजी पनि गर्दै आएका छन् । सम्मेलनले मञ्चमा प्रत्येक देशका किदुगका अध्यक्षलाई सदस्य मनोनित गर्ने व्यवस्था अनुसार उनी पनि सदस्य छन् । तर, उनैलाई आफू आबद्ध रहेको विश्व शेर्पा मञ्च के भइरहेको छ भन्ने अत्तोपत्तो छैन । ‘सम्पूर्ण शेर्पाहरुलाई समेटिएको साझा संस्था निर्माण भएकोमा खुसी लागेको थियो । शेर्पा समुदायको हकहितको निम्ति गठन भएझैं लाग्थ्यो । त कि भावि दिनका सन्ततीहरुले शेर्पा मौलिक पराम्परा हराउँदै नजाओस् । तर, अहिले यसले सोचे जस्तो कुनै गतिविधि गर्न नसक्दा दुःख लागेको छ ।’ अध्यक्ष शेर्पाले भने । 
मञ्च गठन भएपछि के भइरहेको छ भन्ने सन्दर्भमा अनविज्ञता प्रकट गर्दै शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पाले यस विषयमा छिट्टै बैठक वसेर धारण सार्वजनिक गर्ने जानकारी दिए । ‘अब मञ्चका विषयमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा साथीहरुसँग कुराकानी भइरहेको छ ।’ अध्यक्ष शेर्पाले भने हेरौं वैठकले के निर्णय गर्छ त्यही हुन्छ ।’ 
विश्व शेर्पा मञ्चका भातृत्व, सद्भाव र आत्मियताको लागि गठन भएकोले खास ठूलो क्रियाकलाप नभएको मञ्चका संयोजक शेर्पा बताउँछन् । ‘पहिला हामी अनलाइनमा वैठक गथ्र्यौं । त्यसपछि स्थानीय, संघीय र प्रदेशसभाको चुनावले गर्दा हामी नेपालका व्यस्त भयौं । त्यसैले मञ्चका विषयमा साथीहरुसँग कुरा गर्न पाएको छैन ।’ अध्यक्ष शेर्पाले भने । 

No automatic alt text available.
सम्मेलनको बारेमा समिक्षा वैठक समेत वस्न नसकेको र पदाधिकारीलाई आफ्नो जिम्मेवारी बोध नहुँदा मञ्चल आशतित् उपलब्धिसहितको क्रियाकलाप अघि बढाउन नसकेको अधिकांशको धारण छ । समाजका सचिव मिङमा शेर्पाले भने ‘सायद त्यति बेला निर्बाचित पदाधिकारीहरूको आजको दिनसम्म एउटा पनि समिक्षा बैठक बस्न सकेको छैन होला । अनि कसरी संस्थाको गतिबिधि अघि बढ़न सक्छ ? सक्दैननी त त्यसैले पदाधिकारी तथा सदस्यहरूको तत्काल बैठक बसी महत्वपूर्ण बिसयबस्तुहरूलाई छलफलका बिषय बनाई १–२ वटा कार्यक्रम तयार पार्नुपर्छ ।’ उनले तत्काल वैठक वस्नुपर्ने माग गर्दै त्यसबाट निर्णय गरी ठोस कदम चाल्नुपर्ने बताए । 
विगत ८–१० बर्षअघि देखि नै विश्वभरको शेर्पाहरुवीच एकताको सन्देश दिने गरी संगठन निर्माण जरुरी रहेको र त्यसको परिपूर्ति भएको  बताउँदै संयोजक शेर्पाले भने ‘तत्काल गतिविधि बढाउन योजना निर्माण गरिहेको छौं ।’ उनले थपे ‘स्वयम् सदस्यहरु नै उपस्थित भएर वैठक राख्न संभावना रहेन । त्यसैले हामीले ३–३ महिनामा अनलाईन वैठक राख्ने र योजना बनाउने निर्णय गरेका छौं । सकारात्मक रुपमा शुरुवात गर्छौं, त्यसले दीर्घकालसम्म टेवा पुगोस् ।’ स्थानीय निर्वाचन र लोसार लगायतका कारणले मञ्चले गतिलिन नसकेको स्वीकार्दै अध्यक्ष शेर्पाले भने ‘तत्कालै अनलाईन वैठक राखेर योजना सार्वजनिक गर्छु । सहयोग र सद्भाव राख्नु हुने सवैप्रति आभार व्यक्त गर्नुछ ।’ 
आर्थिक रुपमा सवलीकरणका लागि योजनाहरु निर्माण गरेर अघि बढ्ने सोचका साथ लागि परेको बताउँदै संयोजक शेर्पाले भने ‘समुदायको विकास र मुलुकका समृद्धीका लागि मञ्चले महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्नेमा दत्तचित्त भएर लागी परेको छु ।’
विश्वभरीका शेर्पाहरुलाई एक बनाउने हेतुले नेपाल, भारत, अमेरिका, यूरोप, वेलायत, मलेसिया, मकाउ, वहराईन, कतार लगायतका देशका किदुगका अध्यक्षहरु र नेपालमा क्रियाशिल प्रतिनिधी संस्थाका प्रनितिधीहरु सम्मेलित विश्व शेर्पा मञ्च गठन भएको थियो । मञ्चलाई क्रियाशिल बनाउँदै उद्देश्य पूर्तिका लागि क्रियाकलाप अघि बढाउँदै असन्तोषका आवाजहरुलाई न्यूनिकरण गर्नतर्फ सोच्नुपर्ने देखिन्छ ।  
राजधानीमा सम्पन्न सम्मेलनले जारी गरेको घोषणापत्रको पूर्ण पाठः
‘११ बुदे घोषणा–पत्र’   
१. राजनीतिः राज्य संचालनको मुल नीति राजनीति नै भएको हुदा राजनीतिमा चासो र सरोकार राख्नु शेर्पाहरुको मात्र हैन आम नागरिकको मानव अधिकार र नैशर्गिक अधिकार समेत भएको हुदा आआफ्नो मुलुकको राजनितिमा व्यापक सहभागीता जनाउन सबै सहभागीहरुले पहल गर्ने र यस्ता विषयबस्तु माथि एक देशका शेर्पाहरुले अर्को देशका शेर्पाहरुलाई नैतिक सर्मथक गर्न सक्ने तथापी मानवीय सेवामा सहयोग गर्न यो प्रवधानले वाधा र्पुयाएकोे मानिने छैन ।
२. संस्कृति तथा मितव्यायिताः  विश्वका सबै शेर्पाहरुले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरु अवलम्भन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रुपमा पहल गरि चेतना अभिबृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्नेछ ।
३. लगानी प्रवर्धनः  विश्वमा छरिएर रहेको शेर्पाहरुको आर्थिक उन्नति र समृद्धिलाई थप टेवा र्पुयाउन छरिएर रहेको पुजीँलाई एकक्रित गरि सामुहिक हितमा लगानी गराउने तर्फ अभिमुखीकरण गराउन पहल गर्ने ।
४. शिक्षाः चेतना र विकाशको मुख्य विषयबस्तु भएकोले यसमा शेर्पाहरुलाई उच्च शिक्षा हासिल गराउन प्रोत्साहन गर्दे आवश्यकता अनुसार छात्रबृद्धि कोषको समेत व्यावस्था गर्न पहल गर्ने र हाम्रो पहिचानको पहिलो आधार शिलाको रुपमा रहेको शेर्पा भाषा शिक्षालाई आआफ्नो मुलुकमा प्रथामिकताका साथ अध्ययन अध्ययापन गराउन पहल गर्ने ।
५. धर्मः मानवीय संवेदनासगँ जिवन्त रुपमा जोडिएको हाम्रो जिवन शैलीको मुख्य आधार बौद्ध धर्मको संरक्षण सर्वधन र विकाशमा व्यापक जोड दिदै दया, कल्याण र करुणाको पक्षमा आम शेर्पा समुदायलाई व्यापक रुपमा सहभागीता गराउन पहल गर्ने ।
६. महिलाः एउटै सिक्काका दुइ पाटाका रुपमा परिचित विश्व धरातलको आधा हिस्सा ओगटेका संख्याका रुपमा रहेको शेर्पा महिलाहरुको हक अधिकारलाई स्थापित गर्दै उनीहरुको सर्वा्िगण विकाशमा जोड दिदैँ हरेक मुलुकमा पहिचान सहितको पहुच र प्रतिनिधित्व सुनिश्चित गराउन पहल गर्ने र शिक्षामा महिलाहरुको पहुँच सुनिश्चित गर्न छात्रबृत्ति कोषको स्थापना गर्न पहल गर्ने । 
७. भाषाः भाषामा एकरुपता ल्याउनका लागि शेर्पा भाषा अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने ।
८. युवा तथा रोजगारः आआफ्नो मुलुकको शेर्पा युवाहरुलाई आफ्नै मुलुकमा रोजगार मुलक व्यावसायिक तालिम साथै अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने पहल गर्ने ।
९. संचारः राज्य संचालनको चौथौँ अंगको रुपमा परिचित पत्रकारीता व्यवसायमा शेर्पाहरुको भुमिका अत्यन्तै न्युन रहेकोले सहभागीता बढाउन अध्ययन अध्ययापनको अतिरिक्त संचार क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने ।
१०. वातावरण संरक्षणः जलवायु परिवर्तन र त्यसवाट शेर्पा समुदाय लगायत अन्य सबै समुदायलाई परेको असर सम्बन्धमा अध्ययन गरी आम शेर्पा समुदायलाई समयमै सचेत गराउँदै अनुकुलन गर्न तथा विश्व वातावरण संरक्षणमा शेर्पाहरुलाई आ–आफ्नो क्षेत्रबाट लाग्न समेत प्रोत्साहन गर्ने ।
११. अन्तर विरोध निवारणः नागरिकता तथा परिचयव पत्रमा शेर्पा, लामा, तथा थरहरु लेखिएपछि एउटै शेर्पाहरुबीच पनि विभेद भएको र सामाजिक समास्या आएको भन्ने गुनासोलाई सम्मान गर्दै शेर्पाहरुबीच सामाजिक न्यायको प्रत्याभुत हुनेगरि सबैको आत्म सम्मानप्रति सजग रही समान व्यवहार गर्न आह्रवान गर्दै समस्याको निदान गर्न आयोग गठन गर्ने ।

लाक्पा जी. शेर्पाका अन्य लेख तथा रचनाहरु