मन्त्री आन्टी, मलाई पनि उपचारको लागि एक करोड दिनुहोस् न !

लक्ष्मण अधिकारी

२०७५ बैशाख १६, आईतबार


अत्तरियाको एक स्कुलका विद्यार्थीको मुटु परीक्षण हुँदै थियो । १६ वर्षकी एक किशोरीको मुटुको भल्भ धेरै नै बिगि्रएको पाइयो । कल्कलाउँदी ती किशोरी निकट अँध्यारो मृत्यु उभिइसकेको थियो । तुरुन्त अपरेसन नगरे बचाउन सकिने स्थिति धेरै थिएन । थाहै नपाई जीवन्त सपना चकनाचुर हुँदै थिए ।

उनका बुबालाई तत्काल स्कुलमा बोलाइयो । उनी पनि ज्यादै कमजोर थिए । शंका लागेर मुटुको भिडियो एक्स-रे गरियो । मुटु त छोरीको भन्दा खराब ! चिकित्सक टोलीको मन झन् खिन्न भयो ।

नेपाल हार्ट फाउण्डेसन, बाथमुटुरोग रोकथाम कार्यक्रमका कार्यकारी निर्देशक डा. प्रकाशराज रेग्मी लगायतको टोलीले सो स्कुलमा विद्यार्थीहरुको मुटु परीक्षण गर्ने शिविर सञ्चालन गरेको थियो । परीक्षणका क्रममा उनीहरुलाई बाथमुटुको रोग लागेको पाइयो । यो कुरा करिव एक वर्षअघिको हो ।

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘दुबैजनाको मुटुको अपरेसन गर्नुपर्ने भएकाले काठमाडौं आउन आग्रह गर्‍यौं । काठमाडौंमा निःशुल्क अपरेसन हुने र बस्ने खाने व्यवस्था पनि गरिदिने जानकारी गरायौं । तर, थारु समुदायका ती बिरामीले बस भाडाका लागि पनि गोरु नै बेच्नुपर्ने कठोर बाध्यता सुनाए ।’
डा. रेग्मी सम्झन्छन्, ‘तत्काल अपरेसन नगरे परिवारकै बिचल्ली हुने स्थिति थियो । बाबुछोरी दुबै टीठलाग्दो गरी मेरा अगाडि बसेका थिए । साह्रै माया लाग्यो । हामीले बस भाडा पनि व्यवस्था गरिदिन्छौं, भन्यौं तर उनीहरु आजसम्म पनि सम्पर्कमा आएनन् । एक पैसा पनि खर्च लाग्दैन भन्दा पनि उनीहरु आउन सकेनन् । उनीहरुको स्थिति के भयो होला, म कल्पनासम्म गर्न सक्छु । गरिवी र अशिक्षाका कारण उनीहरुमा देखिएको गम्भीर स्वास्थ्य अवस्था र दयालाग्दो मानसिक स्थिति सम्झदा आज पनि मेरो मन साह्रै दुःखी हुन्छ ।’

नेपाल हार्ट फाउण्डेसनका अनुसार नेपालमा हाल करिव एक लाखको संख्यामा बाथमुटु रोगी छन् । यसमा हरेक वर्ष करिव ७ हजार ५ सय नयाँ विरामी थपिँदै जान्छन् । धेरैमा त यो रोग निदान नै हुन पाउँदैन । थाहा नै नपाई बालबालिकाको मृत्यु हुन्छ । यसमध्ये अधिकांश बालबालिका गरिव परिवारका हुन्छन् ।

नेपाल हार्ट फाउण्डेसनको अनुमानमा बाथमुटुको रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु भइरहेको छ । विश्व स्वास्थ्य संघले त यो संख्या अझ बढी हुने अनुमान गरेको छ । संघका अनुसार विश्वमा करिव ७० प्रतिशत बाथमुटु रोगीहरुले आज पनि यसका लागि आवश्यक पर्ने पेनिसिलिन औषधि उपयोग गर्न पाइरहेका छैनन्, जसले गर्दा उनीहरुको मृत्यु कलिलो उमेरमै हुन्छ । नेपालको स्थिति पनि लगभग यस्तै नै छ ।

के हो बाथमुटुरोग ?

बाथमुटुको रोग बाल्यकालमा शुरु हुने समस्या हो । पाँच वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई शुरुमा संक्रमण भएर घाँटी दुख्छ, टन्सिल बढ्छ । यीमध्ये ५० प्रतिशत भन्दा बढीलाई ब्याक्टेरियाबाट संक्रमण भएको हुन्छ । तिनीहरु मध्ये पनि केहीलाई दुई तीन हप्तापछि ज्वरो आउने र जोर्नीहरु दुख्ने हुन्छ । यसलाई बाथ ज्वरो भनिन्छ ।

बाथ ज्वरो आएकामध्ये ५० प्रतिशतजतिमा रोग सर्दै मुटुमा पुग्छ । अनि मुटु सुन्निन्छ र मुटुले रगत पम्प गर्न नसक्ने हुन्छ । जब भल्भ बिगि्रन्छ, त्यसपछि अपरेसन नगरी जीवन जोगाउन सकिन्न । कमजोरी हुँदै जान्छ, मुस्कान हराउँछ, मुटु हल्लिन्छ, स्वाँ-स्वाँ हुन्छ । अनि कुनै पनि बेला सास पुरै बन्द हुन्छ । त्यसपछि परिवारको रुवावासी, स्कुलको एक मिनेट मौनधारण, सरकारको सहानुभूति सबै निरर्थक हुन्छन् ।

बाबुआमाले आफ्ना छोराछोरीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने भएमा घरेलु उपचार गरेर बस्नुहुँदैन । अझ जोर्नीहरु पनि दुखेको छ भने त यथाशीघ्र डाक्टरकहाँ गइहाल्नुपर्छ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मी करिव तीन दशकदेखि बाथमुटुको रोगको अध्ययन, अनुसन्धान र उपचारमा निरन्तर लागिरहेका छन् । उनका अनुसार धेरैजसो बाबुआमाले बालबालिकालाई घाँटी दुख्ने, ज्वरो आउने भएमा नुनपानी, बेसार पानी, जडीबुटी खुवाउने जस्ता घरेलु उपचार गरेर समय खेर फाल्छन् । जुनबेला रोगले मुटुमा हान्छ र सासै फेर्न नसक्ने स्थिति आउँछ त्यसबेला बाबुआमा आत्तिएर डाक्टरकहाँ दौडिन्छन् । तर, त्यसबेला डाक्टरले खासै केही सहयोग गर्न सक्ने स्थिति हुँदैन ।

बाबुआमाले आफ्ना छोराछोरीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने भएमा घरेलु उपचार गरेर बस्नुहुँदैन । अझ जोर्नीहरु पनि दुखेको छ भने त यथाशीघ्र डाक्टरकहाँ गइहाल्नुपर्छ ।

सरकारले पनि स्थानीय स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र जनशक्तिको व्यवस्था गरिदिनुपर्छ । परीक्षण गर्दा बाथमुटुको रोग लागेको रहेछ भने मुटुको भल्भ नबिग्रिँदै थोरै पैसामा उपचार गर्न सकिन्छ । घाँटी दुखेका बेला पेनिसिलिन औषधिबाट उपचार गरेमा रोग नियन्त्रणमा आउँछ । तीन हप्तामा एकचोटि लगाउनुपर्ने यो सुई २० रुपैयाँ मात्र पर्छ ।

बाथ ज्वरो पुरुष र महिला दुवैलाई समान रुपमा हुने भएता पनि बाथमुटुको रोग भएर मुटुनै विग्रने अवस्था चाहिँ महिलामा बढी पाइएको छ । पुरुषमा ४० प्रतिशत देखिन्छ भने महिलामा ६० प्रतिशत देखिएको छ ।

कतिपय महिलाहरु बाथमुटुको रोगकै कारण आमा बन्ने क्रममा मृत्युको मुखमा पुग्ने गरेका छन् । यसलाई त सरकारी कार्यक्रममा वास्ता समेत गरिएको छैन । कतिले त मृत्युको कारण नै थाहा पाएका हुँदैनन् । बाथमुटुको रोग बालबालिकामा लाग्ने र महिलालाई बढी असर गर्ने भएकाले यसको मर्म महिलाले जति अरु कसले बुझ्न सक्लान् र ?

सरकारी बेवास्ता

यो रोग विश्वमा नै न्युन प्राथमिकतामा परेको रोग हो ।  धेरैजसो गरिव देशका प्रायः गरिव बालबालिकालाई लाग्ने र अरुलाई नसर्ने भएकाले होला, यसलाई विश्वका धनी राष्ट्रहरुले प्राथमिकतामा राखेका छैनन् । त्यसैले होला बाथमुटुरोगलाई विश्व स्वास्थ्य संघले ‘नेक्लेटेड हार्ट डिजिज अफ दि पुअर’ अर्थात ‘बेवास्तामा परेको गरिवहरुको मुटुको रोग’ भनेको छ । त्यसैले हो कि नेपालमा पनि यो रोग प्राथमिकतामा परेको छैन ।

बाथमुटुको रोगका कारण मुटुको भल्भ फेर्नु परेका केभिन रुड्ड दुई पटक अष्ट्रेलियाका प्रधानमन्त्री भएका थिए । उनले बाथमुटुको रोगीको पीडा महसुस गरे र रोकथामका लागि प्राथमिकता दिए । त्यसैको परिणाम स्वरुप बाथमुटुको रोग नियन्त्रणमा अष्ट्रेलियाले अहिले विश्वकै नेतृत्व गरिरहेको छ । हाल केभिन रुड्ड बाथमुटुको रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका विश्व दूत छन् ।

नेपालको सन्दर्भमा हेर्ने हो भने मनमोहन अधिकारी प्रधानमन्त्री र पद्मरत्न तुलाधर स्वास्थ्य मन्त्री भएका बेला नेपालमा मुटुरोगको उपचार गर्ने अस्पताल स्थापना गर्न समिति गठन गरी बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सो अस्पताललाई उपलब्ध गराउने निर्णय भएको थियो । उनीहरु दुबैलाई मुटु रोग लागेको थियो । उनीहरुकै पहलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना भयो, जुन आज नेपालकै गर्व गर्न लायक अस्पतालका रुपमा परिचित छ ।

त्यस्तै, दोस्रोपटक नेपालको प्रधानमन्त्री भएका केपी ओली मिर्गौला रोगसँग जुधिरहेका छन् । मिर्गौला रोगीको पीडा बुझेका प्रधानमन्त्री ओलीले नै मिर्गौला रोगीहरुलाई निःशुल्क डायलसिस सेवा उपलब्ध गराउने कार्य शुरु गरे ।

बाथमुटुको रोग रोकथाम तथा नियन्त्रणका लागि नेपालका कुनै प्रधानमन्त्रीको मुटुको भल्भ बिगि्रयोस् भनेर कल्पना गर्न त सकिन्न, तर मुटुको भल्भ बिग्रिएको कुनै व्यक्ति नेपालको प्रधानमन्त्री नबनेसम्म बाथमुटुको रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमले गति नलिने पो होकि भनेर यसका अभियन्ताहरु अहिले चिन्ता गर्न थालेका छन् ।

रोकथाममा बजेट कटौती, उपचारमा अनुदान !

नेपाल सरकारले आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेको छ । बाथमुटुको रोग लागिसकेकाहरुको मुटुको उपचारका लागि लगभग ३० करोड रुपैयाँको व्यवस्था त गर्ने नै छ । त्यसमा एक करोड रुपैयाँ मात्र पनि रोकथाम कार्यक्रमका लागि छुट्याउने हो भने हजारौँ बालबालिका बाथमुटुको रोग लाग्नबाट नै बच्ने थिए र भविष्यमा उपचार खर्च नै कटौती गर्दै लान सक्ने स्थिति बन्ने थियो ।

नेपाल सरकारले अरु विभिन्न रोगको उपचारका लागि करिव ७० वटा अत्यावश्यक औषधि निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ । तर, बाथमुटुको रोगको रोकथामका लागि अत्यावश्यक पर्ने पेनिसिलिन सुईको व्यवस्था नगरेर गरिव बालबालिकाप्रति उपेक्षा गरिरहेको छ । तीन हप्तामा एकचोटि लगाउनुपर्ने २० रुपैयाँको पेनिसिलिनको सुई नपाउँदा बालबालिकाहरु मुटुको भल्भ बिग्रिएर तीन लाख पर्ने अपरेसन गर्न बाध्य भइरहेका छन् । अपरेसन गरेर पनि निरन्तर औषधि खानुपर्ने हुँदा त्यस्ता विरामीहरुले थप कठिनाइ बेहोर्नु परिरहेको छ ।

सरकारले तत्काल राजनीतिक लाभ लिनका लागि मुटुको भल्भ निःशुल्क फेरिदिने पपुलिष्ट कार्यक्रम अघि सारेको छ । रोकथामका लागि एक पैसा नछुट्याउने उपचारका लागि भने करोडौं विनियोजन गर्ने नीतिलाई मूर्खताको पराकाष्ठा मान्न सकिन्छ

सरकारले थुप्रै सरुवा रोगहरुको रोकथामका लागि निःशुल्क खोप लगायतका औषधिहरुको व्यवस्था र जनचेतनामूलक कार्यक्रम गरेर बाल मृत्युदर घटाउन सफलता हासिल गरिरहेको छ । तर, विशेषगरी गरिव तथा निमुखा बालबालिकालाई हुने बाथमुटुको रोगको रोकथामका लागि कुनै कार्यक्रम सञ्चालन नगर्नु आश्चर्यको विषय भएको छ ।

करिव ११ वर्षअघि स्वास्थ्य मन्त्रालयले बाथमुटुको रोग रोकथामका लागि नीति तथा कार्यक्रम बनाएर ३० लाख रुपैयाँ छुट्याएको थियो । पछि यो पनि बन्द गरिएको छ । रोकथामजस्तो महत्वपूर्ण कार्यक्रम बन्द गरेर सरकारले तत्काल राजनीतिक लाभ लिनका लागि मुटुको भल्भ निःशुल्क फेरिदिने पपुलिष्ट कार्यक्रम अघि सारेको छ । रोकथामका लागि एक पैसा नछुट्याउने उपचारका लागि भने करोडौं विनियोजन गर्ने नीतिलाई मूर्खताको पराकाष्ठा मान्न सकिन्छ  ।

डा. रेग्मी भन्छन्, ‘नेपाल सरकारले मुटुको भल्भ क्षति भएकाहरुको निःशुल्क उपचारका लागि गंगालाल र शिक्षण अस्पतालमा निःशुल्क अपरेसनको व्यवस्था गरिदिएको छ र हरेक वर्ष करिव एक हजार बिरामीको भल्भ फेर्ने काम पनि भइरहेको छ । यसका लागि सरकारले वर्षेनी झण्डै ३० करोड रुपैयाँ खर्च गरिरहेको छ । तर, रोकथामका लागि वर्षको एक करोड रुपैयाँ मात्र छुट्याउने हो भने १० वर्षमा यो रोग लाग्ने क्रम ५० प्रतिशतभन्दा कम हुन्छ र सरकारको करोडौं रुपैयाँ बचत पनि हुन्छ ।’

बाथमुटुको रोग रोकथाम कार्यक्रम सञ्चालन गर्ने हो भने रोग बृद्धिदर उल्लेख्य रुपमा घटेका उदाहरणहरु विश्वमा पाइन्छन् । क्युवा, दक्षिण अफि्रका, न्युजिल्याण्ड र अष्ट्रेलियामा त्यस्तो उदाहरण पाइन्छ । न्युजिल्याण्ड र अष्ट्रेलियामा केही आदिवासी र आप्रवासीमा यो रोग देखिएकाले त्यहाँको सरकारले प्राथमिकताका साथ रोकथाम तथा नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल अष्ट्रेलियाकै नेतृत्वमा यो रोगको रोकथामका लागि खोपको अनुसन्धान पनि भइरहेको छ ।

वर्तमान शक्तिशाली ओली सरकारमा महिला नै स्वास्थ्य मन्त्री भएका बेला नेपालका लाखौं गरिव बालबालिकाको अनुरोध छ, ‘मन्त्री आन्टी प्लिज यस वर्षको बजेटमा बाथमुटु रोग रोकथाम कार्यक्रमका लागि एक करोड रुपैयाँ छुट्याइदिनुस् ।’

@onlinekhabar

लक्ष्मण अधिकारीका अन्य लेख तथा रचनाहरु