एउटा समयको अभिलेख

शेर्पाखबर

२०७५ बैशाख १५, शनिबार


नेपाली राजतन्त्रका अन्तिम शाह राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते नेपाली जनताको निर्वाचित सरकार विघटन गरेर आफ्नो हातमा शासन सत्ता लिँदा म भारतको राजधानी नयाँ दिल्लीमा आइपिपिएफ (इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडरेसन) को दक्षिण एसिया क्षेत्रीय कार्यालयमा कार्यरत थिएँ । यो कार्यालय लन्डनबाट भर्खरै नयाँ दिल्ली सरेको थियो ।

म काठमाडौंबाट दिल्ली आएको चार महिना भएको थियो । पढाइको सिलसिलामा दुवै छोरी अस्ट्रेलिया थिए हाम्रा, काठमाडौंको घरमा नरहरिजी एक्लै हुनुहुन्थ्यो।नेपालमा राजाले गरेको ‘कु’लाई नेपाल बाहिरबाट अनुभव गर्नु सानो त्रासदी थिएन हाम्रा निम्ति । त्यस घटनामा बाबा घरैबाट समातिएको थियो । उसको अज्ञात स्थितिले म र छोरीहरू किंकर्तव्यविमूढ थियौं । एउटा अशुभ कल्पनाले आक्रान्त गरेको थियो हामीलाई । नेपालमा सञ्चार सम्पर्कविच्छेद भएकाले कसैसँग सम्पर्क हुन सक्दैनथ्यो । त्यहाँ के भइरहेछ, कोही जान्दैनथ्यो।

म दिल्लीमा र छोरीहरू सिड्नीमा केही रात पूरै जाग्राम रहेर बितायौं । दिनभर कम्प्युटरमा नेटका झ्यालहरू खोल्थ्यौं, केही समाचार फेला परे एकअर्कालाई पठाउँथ्यौं । रातमा पनि कानमा टेलिफोन टाँसेर हामी निरन्तर सम्पर्कमा रह्यौं, एकअर्काका दुःख अनुभव गर्न खोज्यौं । र, सान्त्वना दिन खोज्यौं । हामी कोही रोएनौं अर्कोले सुन्ने गरी । तर, हाम्रा आवाजमा हाम्रो रोएको मनको प्रतिध्वनि टड्कारो सुनिन्थ्यो । आफू बलियो भएझैं देखाएर छोरीहरूलाई त सान्त्वना दिन्थें म।

 यतिखेर आफ्ना कथा अरुलाई लेखाउने चलन बढेको छ । म यहाँ आफ्नो कथा आफैं लेखिरहेकी छु । आफूले आफैंलाई पात्र बनाएर आफैं प्रस्तुत गर्नु सजिलो कुरो होइन भन्ने राम्रै बोध भएको छ । मलाई छोएर गएको समयमा हेलिएर आएका सत्य र तथ्यसँग निस्फिक्री खेलेकी छु म यहाँ । यो मैले देखेको कोणबाट लेखिएको एउटा समयको विवरण हो । निश्चय नै आज विषय–सन्दर्भहरू बदलिएका छन् । तर, त्यतिखेर मैले भोगे, देखे, अनुभव गरेका सत्य यिनै हुन् । यिनमा पूर्णता छ भन्ने मेरो दाबी पनि छैन।
तर, गहिरो इनारमा भास्सिएझैं अनुभव गरिरहेकी थिएँ । हरबखत मलाई लाग्थ्यो– राजा ज्ञानेन्द्रले राजनीतिक दलका मान्छेमाथि चरम प्रतिशोध साधिरहेका होलान् । गणतन्त्रको कुरा गर्ने नरहरि आचार्यलाई त उनले सबैभन्दा धेरै सजाय दिए होलान् । सजाय कसरी दिइरहेका होलान् भन्ने जब मनमा आउँथ्यो, मेरो शरीरमा कुनै संवेदना पैदा हुँदैनथ्यो, मरेतुल्य हुन्थें म।

यी कुरा सम्झँदा मलाई माओवादी सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारको मानसिक पीडा थोरबहुत अनुमान हुन्छ । बेपत्ताको परिवार आफ्नो हराएको प्रियजनको सम्झनामा जसरी नित्य निरन्तर मरिरहेको हुन्छ, त्यो दुःख अन्य कुनै दुःखसँग तुलना हुन सक्दैन । प्रतिशोध, युद्ध र द्वन्द्वको सबैभन्दा ठूलो सिकार त बेपत्ताको परिवार नै हो, त्यतिखेरको अनुभवले मलाई यो कुरा राम्ररी बोध गराएको छ।

राजा ज्ञानेन्द्रको कूपछि नेपालमा राजनीतिक घटनाक्रमहरू तीव्र रूपमा अघि बढे । राजाले आफ्नै पिता महेन्द्रले २०१७ सालमा कू गरेर बिपीलगायत सबै प्रजातन्त्रवादीलाई जेलमा हालेझैं सजिलो होला भन्ठानेका थिए होलान् । तर, समय बदलिएको थियो । अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल भयो । भारत पनि राजाका पक्षमा भएन त्यतिखेर । राजा अडिरहन सकेनन्।

यद्यपि राजा ज्ञानेन्द्र राजनीतिक दल र तिनका नेताहरूप्रति धेरै नै आलोचक थिए । म दिल्ली रहँदाको अवस्थामै नेपालमा राजा, माओवादी र संसदवादी दलहरूका बीच निकै तानातानको स्थिति बन्यो । राजासँग मिल्न निकै प्रयत्न गरे पनि असफल भएपछि नेपालका संसदवादी दलहरू अन्तमा माओवादीसित निकट हुन पुगे ।

संसदवादी दलहरूलाई पन्छाएर राजाले आफूलाई महत्व दिनेछन् भन्ने विश्वासमा रहेको माओवादी पनि राजाले खासै वास्ता नगरेपछि संसद्वादी दलहरूसँग नजिकिन पुग्यो । गिरिजाप्रसाद बीचबीचमा दिल्ली आउँथे । र, माओवादी नेताहरूलाई भेट्थे । आएका बेला मलाई पनि बोलाउँथे ।

गिरिजाप्रसाद कोइरालाबारे पहिल्यै प्रकाशनमा आइसकेका केही प्रसंग मैले यहाँ पनि समावेश गरेकी छु।कैदबाट मुक्त भएपछि बाबा दुईपटक दिल्ली आएको थियो । पछि बाह्रबुँदे सम्झौता समेत दिल्लीमै भयो । बाह्रबुँदेका अधिकांश काम दिल्लीमै भए पनि दलहरूले नेपालकै विभिन्न स्थानमा रही यसमा हस्ताक्षर गरेका थिए।

यही बाह्रबुँदेको जगमा नेपालमा २०६२-६३ को आन्दोलन सुरु भयो । यस आन्दोलनले राजतन्त्र नै जाने स्थिति बन्यो । आन्दोलन उत्कर्षमा हुँदा एउटा तालिमका सिलसिलामा म मुम्बईमा थिएँ । नेपालमा जताततै तनाव थियो, जुलुस उठिरहेका थिए, विस्फोट भइरहन्थ्यो । बाबा बन्दी नै थियो । त्यही बखत जागिरको काम लिएर काठमाडौंको घरबाट जिल्लातिर निस्केकी कान्छी छोरी अपराजिता एक हप्तासम्म कतै फेला नपर्दा थपिएको चिन्ताले समेत म ग्रस्त भएँ।

पुस्तकमा मैले गणतन्त्र र संविधानसभाका सन्दर्भ आउँदा बारम्बार नरहरि आचार्यको नाम उल्लेख गरेकी छु । औपचारिक तवरमा पहिलोपल्ट कांग्रेस पार्टीभित्र वैचारिक रूपमा यो मुद्दा उठाउँदा र हिँडाउँदा बाबा एक्लै नै थियो । सुरुदेखि नै यो अप्ठेरो बाटोमा उसको यात्रा, उसको उत्साह र निराशाको निकट साक्षी मै थिएँ । गणतन्त्र र संविधानसभाका नाममा उसले बेहोरेका विरोध र गाली उसकी श्रीमती भएका नाताले मैले पनि अप्रत्यक्ष रूपमा बेहोरें नै, मानसिक रूपमा तनाव पनि प्रशस्तै दियो यो विषयले । ठूलै झगडाको विषय बनेको हो यो मुद्दा हाम्रो घरमा त्यतिखेर।

राजनीतिक पार्टीहरूमै पनि कुनै निषिद्ध वस्तुझैं मानिन्थे यी कुरा, जसको सम्बन्ध सोझै नरहरि आचार्यसँग थियो । उसैका कारणले, बुझे पनि नबुझे पनि यो मुद्दा मलाई आफ्नैजस्तो लाग्न थालेको थियो । पछि साच्चैको गणतन्त्र आउँदै गर्दा भने बाबा कतै दृश्यमा नदेखिँदा मलाई घोर आश्चर्य लाग्नु अस्वाभाविक थिएन । मैले त्यसको उल्लेख पनि यहाँ गरेकी छु । यतिखेर नेपाल गणतन्त्रात्मक बनिसकेको छ । संविधानसभाको चुनावपछि संविधानसभाले संविधान पनि बनायो ।

विभिन्न तहमा सम्पन्न निर्वाचनले संविधान कार्यान्वयनको क्रम सुरु गरिसकेको छ । दुःखको कुरो संविधानसभा र गणतन्त्रको मुद्दा अनवरत उठाएको र संविधान निर्माणमा संविधानसभा मन्त्रीका हैसियतले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बाबा यतिखेर गम्भीर बिरामी अवस्थामा छ र यी सबै परिदृश्य द्रष्टा बनेर हेरिरहेको छ ।जागीरका सिलसिलामा सन् २००४ देखि २००६ सम्म म दिल्ली बसें । त्यसपछिका दुई वर्ष नेपाल बसेर दिल्ली अफिसका लागि काम गरें । यस अवधिमा धेरै समय कार्यक्षेत्रतिर घुम्ने काम पथ्र्यो।

बंगलादेश, भुटान र भारतकै विभिन्न ठाउँको चर्चा पुस्तकमा बढी भेटिनेछ । मूलतः यही चार वर्षको समयभित्र दिल्लीलाई केन्द्र बनाएर म जताजता हुत्तिएँ, जहाँजहाँ ठोक्किएँ, पुस्तकमा त्यही छ । त्यो अवधिमा मेरा अघिल्तिर उपस्थित समय र विषयलाई उपलब्ध तथ्य र घटनाका आधारमा मैले मेरा कोणबाट हेरेकी छु, केलाएकी छु, टिप्पणी गरेकी छु । यी टिप्पणीहरूले मेरो त्यतिखेरको मनस्थितिलाई प्रतिबिम्बित गर्छन्।त्यो समय मसँग नजिक भएका मान्छेका कुरा पुस्तकमा आएका छन्।

मैले जे बेहोरें, देखें र सुनें, पुस्तकमा ती कुरा छन् । सामान्य घर गृहस्थीका कुरा छन् । कार्यालयका दैनन्दिनका कुरा छन् । एक्लै बस्ताका तनाव र उदासीका कुरा छन् । अध्यात्म–आश्रमदेखि रेडलाइट एरियासम्म पुगेका कुरा छन् । कतिपयलाई लेखकका निजी कुरा मात्रै जस्ता पनि लाग्लान् यी विषय । तर, मान्छेसँग जोडिएका विषय कहाँ एक्लै हुन्छन् र ? त्यहाँ कुनै न कुनै किसिमले तत्तत् समय साथसाथै गाँसिएको हुन्छ । निश्चित परिवेशले मानव मन–मस्तिष्कमा बनाएका डोबहरू हुन्छन्।

यी त्यतिखेरको समयका कुरा हुन्, जब नेपाल राष्ट्रको इतिहासमा अकल्पनीय परिवर्तन भएको थियो । यतिखेर पछाडि फर्केर हेर्दा कतिपयलाई यी घटना अनौठा, अपत्यारिला पनि लाग्न सक्लान् । आजको यस सहज अवस्थामा त्यतिखेरका अप्ठ्यारा प्रसंगहरूको मर्म सबैले उत्तिकै गम्भीरतापूर्वक बुझ्न सकेनछन् भने पनि त्यो अस्वाभाविक हुने छैन।

राजनीतिक हिसाबले हेर्दा, यो पुस्तकमा म दिल्ली बसेर नेपालतिर फर्केकी छु । नेपालमा राजा ज्ञानेन्द्रले थुनेको नरहरि आचार्यतिर फर्केकी छु । दुई पटक समातियो ऊ, एउटा अनिश्चित परिवेशमा करीब ९ महिनासम्म थुनियो दुई पटक गरेर । पत्नी र आमाका रूपमा म पुलको भूमिका समेत निर्वाह गर्दै थिएँ यो समय बाबु र छोरीहरूबीच । बाबा दोस्रो पटक थुनिँदा अपराजिता नेपाल फर्किसकेकी थिई, म दिल्लीमै थिएँ।

त्यो समयको नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको ठानिने दिल्लीमा भएर पनि म राजनीतिक सक्रियतामा पटक्कै नहुनु कतिपयलाई आश्चर्यको विषय लाग्न सक्छ । कतिपयले यसमा आन्दोलनको पूर्ण कथा खोज्लान् त्यो पनि यहाँ भेटिने छैन । न मैले धेरै अध्ययन गरेर नै यो लेखेकी हुँ । राजनीतिलाई ठक्कर दिने कुनै खास प्रयत्न मैले गरिनँ । अहिले पनि लाग्छ, त्यो मेरो स्वभावै होइन । जति, जुन राजनीति आफैं मसँग कुम जोड्न, ठोक्किन आयो त्यतिखेर; जति मैले बुझें र भन्न सकें, त्यति नै मात्र राजनीति यो पुस्तकमा छ।

यद्यपि आफूलाई पक्का नभएका कांग्रेस पार्टीभित्रका कतिपय आन्तरिक विषयहरू मैले नरहरिजीसँग पुनः सोधेर छलफल गरेर नै यहाँ समावेश गरेकी छु।जिन्दगीमा सबै परिस्थिति हाम्रा योजना र रुचि अनुसार बन्दैनन् । घरबाट बाहिरसमेत हम्मेसी ननिस्कने स्वभावकी म जस्ती मान्छेले कहिल्यै सोचिनँ– म घर छाडेर परदेशमा डेरा खोजी एक्लै बस्नेछु कुनै दिन । जागिर खानेछु ।

एक्लै सामना गर्नेछु जिन्दगीका अप्ठेरा सप्ठेरा । तर, मेरो जीवनमा एउटा समय यस्तो आयो, परिस्थितिले डोरिएर म दिल्ली पुगें । संयोगवश यसैबीच नेपालमा राजाले कू गरे, बाबा थुनियो। फर्कने स्थिति झन् बनेन । प्रवासमा रहेका बखत बाध्यात्मक स्थितिमै समेटिएका यसबीचका अनुभव भने समय क्रममा मभित्रको लेखकका निम्ति उपयोगी सामग्री बन्न पुगे । यो पुस्तक त्यसैको परिणति हो । घरीघरी सोच्छु र अचम्म मान्छु– मैले दिल्लीमा जागिर खान जाने निर्णय नगरेकी भए यो पुस्तक यसरी लेखिने थिएन।

संस्मरण लेख्नु सजिलो कुरा चाहिँ होइन रहेछ । ‘भुइँफूलको देश’ प्रकाशित भएपछि आफैं अनुभव गरेकी हुँ । अनेक प्रश्न उठ्छन् । त्यहींभित्रका पात्रहरू उठ्छन् । र, चुनौती दिन्छन् । सोच्दै नसोचेका कुरा पनि उठ्छन् । यसअघि ‘अग्निस्पर्श’ छापिँदा अनामिकाले औंला ठड्याएकी थिई–

माँ, तिमी आफ्नो लेखमा मेरो कुरा नलेख है ?तर, मैले नचाहँदा नचाहँदै, यतिखेर पनि ऊ छुटेकी छैन पुस्तकमा । यो समयावधिमा बगेको मेरो जीवनको एउटा अंग जस्तै छे ऊ, उसलाई छुटायो भने पुस्तकको स्वाभाविक गति छुट्छ । लेखकलाई धर्मसंकटको विषय पनि रहेछ संस्मरण । पात्रलाई मात्र होइन, आफैंलाई पनि न्याय गर्नुपर्छ।

अनामिकाले कसरी प्रतिवाद गर्छे यसपल्ट; त्यो हेर्न बाँकी नै छ।संस्मरणभित्रका कतिपय जीवित पात्र आफू पुस्तकमा पात्र बनाइएको रुचाउँदैनन्, कतिपयलाई आफू जस्तोसुकै भए पनि कागतमा लेखिँदा राम्रै मात्र देखिन मन पर्छ । असन्तुष्ट पात्रहरूले असन्तुष्टि असहमति जनाउने अवस्था आउँदा संस्मरणले कतिपय पारिवारिक मित्रवत् सम्बन्ध नै धरापमा परेका उदाहरण छन् ।

यथार्थै भए पनि वा अर्कैका भनाइ कोट मात्रै गर्दा पनि समकालीन संस्मरणकारहरू प्रश्नको घेरामा परेका घटना आफ्नै वरिपरि ताजै छन् । यो पुस्तक लेख्दै गर्दा जीवितै रहेका कतिपय पात्रहरू पुस्तक छापिँदा यतिखेर छैनन् । तिनको प्रसंग हटाउन सकिएन । मरिसकेका पात्रका बारेमा लेख्न पनि सजिलो छैन । कैयौंले भनेको सुनेकी छु–

मरिसकेका मान्छेका बारेमा जे लेखिदिए पनि भयो, प्रतिवाद गर्न आउँदैन क्यारे !
सम्पर्कमा आएका व्यक्तिहरूसँग सम्बन्धित कुरा कति लेख्ने, कति नलेख्ने र कसरी लेख्ने भन्ने विषयमा निर्णय गर्न मलाई पनि धेरै नै अप्ठेरो भयो । संस्मरण सार्वजनिक भएपछि छाला काढ्ने टिप्पणीबाट कसरी जोगिन सक्छ लेखक ? नेट चहारें, अरुका अनुभव खोजें, पढें । मनन गरें । झन् अलमलमा परें।

धेरै सोचेपछि लागेको छ– यस्तो निर्णय गर्ने ठ्याक्कै कुनै सूत्र हुँदैन । लेखकको विवेक मात्रै यसको निर्णायक हो । हामी लेख्नेहरूलाई पात्रको चरित्र बढी महत्वपूर्ण हुने रहेछ क्यारे । शक्तिशाली र संवेदनशील मानिने पात्रहरूको चरित्र चित्रण गर्दा ठूलै समस्या हुन सक्ने सम्भावना देख्तादेख्तै पनि लेखकको मनले कहिलेकाहीँ यस्ता खतरा मोल्न खोज्ने रहेछ । आगोले पोल्छ भन्ने जान्दाजान्दै पनि आगोसँग खेल्ने प्राणी हो शायद लेखक।

यो पुस्तकमा मेरा अघिल्तिर पनि यस्ता चुनौती होलान्, आउलान् । तिनको सामना गर्नुदेखि बाहेक अर्को उपाय देखिरहेकी छैन । यद्यपि, सकेजति प्रयत्न गरेकी छु– पात्रहरूमाथि अधिकतम न्याय गर्न सकूँ ।

सुरुमा संस्मरण भनेर लेखिसकेपछि पनि पछि गएर कति लेखकले त्यसलाई आख्यान बनाएका दृष्टान्त पनि रहेछन् । यो पुस्तकको पहिलो ड्राफ्ट तयार भइसकेपछि मलाई पनि त्यो विचार नआएको होइन । कतिपय अप्ठ्यारा लागेका प्रसंग जति निकालेर आख्यानमा प्रयोग गर्नुपर्छ कि भन्ने पनि सोचेकी हुँ ।

सम्पूर्ण पात्रको नाम परिवर्तन गर्न पनि खोजेकी हुँ ।तर, सबै सप्ठ्यारा अप्ठ्यारा प्रसंगहरू मिलेर नै त जिन्दगी बन्छ । त्यसमाथि यो पुस्तक नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण मोडमा म साक्षी बन्दाको अवस्था पनि हो । यसलाई आख्यानीकरण गरेर म सन्तुष्ट हुन सकुँला ? चुनीचुनी अप्ठ्यारा मानिएका कुरा झिकिदिने हो भने यो पुस्तक छाप्नु आवश्यक नै किन पर्ला भन्ने लागेपछि भने यही रूपमा छाप्ने निधो गरें।

बढीभन्दा बढी अबको २५ वर्षपछि कुन कुरा राख्ने र कुन नराख्ने भन्ने जस्ता समस्याहरूको कुनै अर्थ रहला र मेरा निम्ति ? यसरी सोचेपछि चाहिँ आश्वस्त भएकी छु । लागेको छ– त्यसपछि यी केवल एउटा कालखण्डका मान्छेका कथा रहनेछन् । त्यतिखेर ती मान्छेको नामसँग जोडिने आग्रह पूर्वाग्रहहरू सबै महत्वहीन भइसक्लान् ।

यो पुस्तकको मुख्य पात्र मै हुँ । यहाँका अक्षर अक्षरमा म छु । एक्लोपनबाट जोगिन म त्यो समय डायरी लेख्ने गर्थें । त्यही कारणले यी सम्झनाहरू विस्मरणमा गएनन्, पुस्तकमा समेटिन सम्भव भयो । पुस्तक निकै पहिला नै तयार भइसकेको थियो । अगाडि नै छाप्ने योजना पनि थियो । परिबन्दले ढिलो हुँदाहुँदै आजसम्म आइपुग्यो । जे कुराको पनि समय आउनुपर्छ भन्ने कुरा सायद सत्य हो।

म विज्ञान र साहित्यकी विद्यार्थी । यो पुस्तक भने अर्ध राजनीतिक प्रकृतिको बन्यो । कसलाई देखाऊँ भन्ने दुविधा भयो सुरुमा । पछि लाग्यो– अप्ठ्यारो समयमा नरहरिजीसँग गणराज्य अभियानमा सैद्धान्तिक र भौतिक रूपमा पनि साथसाथै हिँडेका, उहाँका निकट मित्र राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालभन्दा बढी कसले बुझ्न सक्ला र यी प्रसंगको मर्म ? पाण्डुलिपि उहाँलाई नै देखाएँ।

आदरणीय खनालजीले मिहिन राजनीतिक दृष्टिकोणबाट समेत केलाएर भूमिका लेखिदिनुभयो, खुसी छु । उहाँप्रति आभार प्रकट गर्छु।नरहरिजीसँग गणराज्य अभियानमा सधैं साथै हिँडेका भाइ रामचन्द्र घिमिरेले पुस्तक पढेर राय दिनुभयो । बुबा महेश्वर शर्माका टिप्पणीहरू पनि ग्रहण गरें । सबै सुझावहरू समावेश गर्न त सकिनँ, यद्यपि उहाँहरूलाई मेरो हार्दिक धन्यवाद छ । पुस्तकको कुशल सम्पादनका निम्ति नेपाली भाषाका विज्ञ मित्र शरच्चन्द्र वस्तीप्रति पनि आभारी छु।

यतिखेर आफ्ना कथा अरुलाई लेखाउने चलन बढेको छ । म यहाँ आफ्नो कथा आफैं लेखिरहेकी छु । आफूले आफैंलाई पात्र बनाएर आफैं प्रस्तुत गर्नु सजिलो कुरो होइन भन्ने राम्रै बोध भएको छ । मलाई छोएर गएको समयमा हेलिएर आएका सत्य र तथ्यसँग निस्फिक्री खेलेकी छु म यहाँ ।यो मैले देखेको कोणबाट लेखिएको एउटा समयको विवरण हो । निश्चय नै आज विषय–सन्दर्भहरू बदलिएका छन् ।

तर, त्यतिखेर मैले भोगे, देखे, अनुभव गरेका सत्य यिनै हुन् । यिनमा पूर्णता छ भन्ने मेरो दाबी पनि छैन । जीवनलाई हामी आ–आफ्ना कोण र विचारबाट हेर्दा खण्डखण्ड नै देख्छौं । मान्छेले लेखेका कुरा पूर्ण हुन सक्दैनन् । र, पनि लेख्न छाड्दैनौं हामी । जीवन अपूर्ण छ भनेर बाँच्न कहाँ छोड्छ र मान्छेले ? अपूर्णतामा पूर्णता खोजेर अघि बढ्ने यात्रा नै जीवन हो । एउटा समयखण्डलाई लिपिबद्ध गर्ने क्रममा मेरो यो अपूर्ण प्रयत्नले असावधानीवश कसैलाई दुखाएछ भने म क्षमा माग्छु।यो पुस्तक म हिँडेको अपूर्ण यात्राको एउटा सानो खण्ड हो । यात्रामा जति पनि पात्रहरु भेटिए, ती सबैको योगदानले यो बनेको छ ।
सबैप्रति कृतज्ञ छु ।
(शर्माको सोमबार सार्वजनिक हुने ‘त्यो समय’ पुस्तकबाट)

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho