“फिल्मभन्दा रंगमञ्च रमाइलो”

शेर्पाखबर

२०७५ बैशाख १५, शनिबार


काठमाडौँ — उनका साथीहरू नाटकभन्दा फिल्ममा रमाउँथे । तर, पाश्लाक्पा शेर्पालाई भने फिल्मभन्दा रंगमञ्च नै रमाइलो लाग्थ्यो । उनी एक्लै भए पनि नाटक हेर्न जान थाले ।
दोलखा घर भएका २२ वर्षे पाश्लाक्पाले नियमित एक वर्षदेखि नाटक हेर्न छुटाएका छैनन् । हेर्दाहेर्दै रंगमञ्चको आकर्षण यस्तो नशा बन्यो कि अब उनी दर्शकबाट कलाकार बनेका छन् । सर्वनाम थिएटरमा १२ औं ब्याचका विद्यार्थीका रूपमा भर्ना भएका उनी लगायतका प्रशिक्षार्थीले यति बेला नाटक ‘परिबन्द’ मञ्चन गरेका छन् ।
स्वाध्ययन गरी नाटक लेखन, निर्देशन, परिकल्पना, अभिनयसमेत गरेको छ यो समूहले । पाश्लाक्पाले मुख्य भूमिका पाएका छन् । पूर्वी नेपालको ग्रामीण भाषा र जीवनशैलीमा आधारित नाटकमा पाश्लाक्पाको अभिनयले दुरुस्तै लाग्छ । जनजाति समुदायको हाउभाउ र मनोभावसमेत उनको अभिनयमा महसुस गर्न सकिन्छ । उनी निर्दोष हुँदाहँुदै पनि नकारात्मक सावित हुनुपर्ने परिस्थितिमा उभिएका छन् ।
अन्य तीन कलाकारले गरेको काम पनि मन छुने छ । पाश्लाक्पासँगै सिद्धलाल महर्जन र वर्षा मल्लको अभिनय पनि राम्रो लाग्छ । मनमैजु घर भएका सिद्धलालले नाटक सिक्नुभन्दा अघि रंगमञ्च देखेको पनि थिएनन् । टेलिभिजिनमा पाका कलाकार अशेष मल्ल, सुनील पोखरेल, अनुप बरालको अन्तर्वार्ता सुनेकै भरमा उनीभित्र नाटक खेल्ने रुचि जागेको रहेछ । अन्तर्वार्ताकै उत्प्रेरणा बोकेर उनी रंगमञ्च पढ्ने निधोमा पुगे । अनि सिधै सर्वनाममा भर्ना भए । नाटक हेरेजस्तो सजिलो पक्कै छैन काम गर्न । सुरुमा उनीहरू पनि आत्तिए, मनमा विचलनका भावहरू आए । ‘एक मनले त बीचैमा छोडिदिऊँ कि भन्ने पनि सोचेको थिएँ,’ सिद्धलालले भने, ‘पछि बुझ्दै जाँदा रमाइलो लाग्न थाल्यो । अब त करिअर नै यसैमा बनाउने योजनामा छु ।’
नाटकको मुख्य कथा भने महिला पात्र ‘नुमा’ मा केन्द्रित छ । २३ वर्षीया वर्षाले उक्त पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी छन् । एउटी महिलाले आफ्नो अस्तित्व स्थापित गर्न समाजमा कति संघर्ष गर्नुपर्छ र कति धेरै अप्ठयाराहरूसँग जुध्नुपर्छ भन्ने उनको कामबाट देख्न सकिन्छ । विवाह गर्दाको रोमाञ्चक क्षणदेखि पतिले छोडेर विदेश जाँदाको पीडा, पर्खाइ र फर्केपछि सौता ल्याउँदाको मनोदशालाई उनले अभिनयमा कुशलतापूर्वक उतारेकी छन् । विषयगत हिसाबले नाटकमा हाम्रै समाज र समयको ताजा घटनाहरू भेटिन्छन् । समस्याको चुरोचाहिँ वैदेशिक रोजगारलाई देखाइएको छ । यससँग जोडिएको सम्बन्धहरूको चलखेलले नाटकलाई अघि बढाउन सघाउँछ । कसैकी श्रीमती मन पराएर श्रीमान्लाई विदेश पठाउने र छोरीलाई मन पराएको केटा छुटाउन विदेश पठाउनेजस्ता सन्दर्भहरू नाटकमा छन् ।
मञ्च सामग्री कम प्रयोग गरिएको नाटकलाई प्रकाश र ध्वनिले थप सुन्दर बनाएको छ । नाटकमा वर्षा, पाश्लाक्पा, सिद्धलालसँगै, आयुषबहादुर श्रेष्ठ, शोभा लिम्बू, समीर पौडेल, राम सेञ्चुरी, मोहन श्रेष्ठ, धीरज थापा मगर, आशिष काफ्ले, जीवन पौडेल, सरोज उपाध्याय, मुकेश हमाल, नवराज पराजुली, क्षितिज पराजुलीलगायतको पनि अभिनय छ ।

@कान्तिपुरबाट

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho