सुदुरपूर्वबाट नयाँ अभियान थालनी:- लाक्पा शेर्पा

लाक्पा शेर्पा

२०७५ बैशाख १४, शुक्रबार


विहानीको दिनको भविष्यको संकेत गर्छ भने झैं हिमाली जिल्ला सुदुरपूर्व तापलेजुङका जागरुक युवा साथीहरुको सक्रियताले आगमी दिनको हिमाली क्षेत्रको राजनीतिक, सामाजिक, सांस्कृतीक, धार्मिक तथा शैक्षिक स्तर उकासी समग्र हिमालन क्षेत्रको उदाउँदो भविष्य तर्फ संकेत गर्दछ । वास्तवमा हिमालयन क्षेत्रको शैक्षिकस्तर, राजनीतिक, सामाजिक, धार्मिकस्तर अत्यन्त नाजुक अवस्थामा रहेको पाइन्छ । राज्यको तथ्याङ्क अनुसार साक्षरताको जम्मा ५२ प्रतिशत, उच्च शिक्षा हासिल गरेका ७.५ प्रतिशत देखाउँछ । आजको एकाइशौं शताब्दीको अवस्थामा यो अवस्था देखाउँदा निक्कै उदेग लाग्छ । नेपालको आय स्रोतमा पर्यटन, जलविद्युत तथा हिमाली जडीबुटी कृषि आदिमा उल्लेख्य योगदान रहेको भएतापनि समग्र हिमाली समुदायको शैक्षिकस्तर उकास्न राज्यको ध्यान गएको देखिँदैन । 
सायद यही बुझाईका कारण पूर्व एक नम्बर प्रदेशको सुदुरपूर्वको १ नं. जिल्ला ताप्लेजुङका जागरुक शेर्पा युवाहरुले आफ्नै विवेक र परिश्रम लगाएर धार्मिक तथा बौद्ध दर्शन, राजनीतिक तथा सामाजिक, पत्रकारिता र विद्यार्थी हकहित सम्वन्धमा एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सभ्य रुपमा सम्पन्न गर्यो । अहिलेको अवस्थामा यस्ता खाले रचनात्मक कार्यक्रम आयोजना गरेर हिमाली समुदायमा जुन योगदान युवाहरुले पुर्याउनु भएको छ । यसको प्रसंशा सायद हिमाली क्षेत्रको सबै समुदायले मुक्त कण्ठले गर्नेछन् । राज्यले हिमाली क्षेत्रको चेतनास्तर उकास्न गर्नुपर्ने काम आज शेर्पा सञ्चार समूह र तथा ताप्लेजुङको जुझारु युवाबाट भएको छ । यस कार्यकालागि सबैप्रति सादुवाद । 
जिल्ला समन्वय समितिका संयोजक र आदिवासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष तथा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधीहरुलाई आमन्त्रण गरी नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिको अध्यक्षको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा शेर्पाहरुको वसोवास रहेको क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रत्येक वडाबाट ५–५ जनाका दरले प्रतिनिधीमूलक प्रशिक्षर्थीहरु उपस्थित भएका थिए । 
टाढा टाढाबाट हिँडेर प्रशिक्षार्थीहरु आएका कारण प्रशिक्षणको कार्यक्रम अवधी केही छोटो भएको लागेपनि व्यवस्थिपकीय पक्ष लगायतलाई स्मरण गर्दा कार्यक्रम प्रभावकारी रहेको अनुभूत गरेँ । सामाजिक सञ्जालमा केहीले कार्यक्रमको समयावधी छोटो भएको प्रतिक्रिया लेखेपनि सहभागिहरुको प्रतिक्रिया भए अत्यन्तै सकारात्मक भेटेँ । एक जना दश जोर दुईमा अध्ययन गर्ने छात्राले उत्साहित हुँदै भने ‘कति धेरै कुरा सिक्ने अवसर पाएँ । यो समय छोटा भएपनि धेरै ज्ञान बुटुल्न पाएँ ।’
जिल्लामा यस खाले कार्यक्रम पहिलो पटक आयोजना भएकाले पनि सहभागिहरुमा उत्साह देखिन्थ्यो । जिल्लाका बुद्धिजिवि तथा अग्रजहरुले युवाहरुले सचेतना र समुदायको जागरणको लागि सकारात्मक कदम चालेको भन्दै प्रसंशा गरे । 
निरक्षरता ४८ प्रतिशत रहेको हिमाली समुदायका धेरै जसोलाई राजनीतिक अधिकार, पहिचान र प्रतिनिधित्व जस्ता कुरामा राज्यबाट सिमान्त अवस्थामा पुगेको अथवा उत्पीडनमा परेको विषयमा केही रुपमा भएपनि कार्यक्रमले बुझाउन सहयोग पुगेको भन्न सकिन्छ । यस्ता खाले कार्यक्रमहरुले नै समुदायको शैक्षिक लगायतमा चेतनास्तर उकास्न सहयोगी बन्ने छ । जुन सुरुवात अभियान शुरुवात गरेकोमा ताप्लेजुङका युवाहरु प्रति हार्दिक धन्यवाद व्यक्त नगरिरहन सक्दिन । यसबाट पाठ सिक्दै अन्य क्षेत्रका युवाहरुले पनि यस्तै अभियान सञ्चालन गरेमा शिक्षित र चेतनाशिल समाज निर्माण गर्न सघाउन पुग्ने देखिन्छ । यसतर्फ अग्रसर हुन आह्वान गर्दछु । 


 

लाक्पा शेर्पाका अन्य लेख तथा रचनाहरु