माथिल्लो सगरमाथाको उत्कृष्ट गन्तव्य ‘पत्ताले’

कुम्भराज राई

२०७५ बैशाख १३, विहिबार


सोलुखुम्बु (शेर्पाखबर) । सगरमाथा हिमश्रृखलालाई आँखै अगाडी लहरै हेर्ने रहर कसलाई नहुँदो हो र ? त्यसका लागि कालापत्तथर नै पुग्नुपर्छ भन्ने छैन । कालापत्थर सबैको पहूँचको गन्तव्य पनि हैन । अनि सगरमाथालाई सिधा हेर्न सकिने ‘पिके लेक’ पनि उति सहज छैन । तर सबैभन्दा सहज र उत्तम गन्तव्य पत्ताले आसपास हो ।
सोलुखुम्बु र ओखलढुंगाको सिमानामै पर्छ पत्ताले । सोलखुम्बु दुधकुण्ड नगरपालिकाभित्र पर्ने पत्ताले समुन्द्री सतहदेखि ३ हजारदेखि ३ हजार १ सय मिटर सम्मको उचाईमा छ । दुई जिल्लाको सिमानामै पर्ने ठाडे, जन्तरधाप, पत्ताले क्षेत्र यति रमणीय र सुन्दर छ कि यहाँ आईपुग्ने जो कोहीले एकपटकको यात्रामा धित मार्नै सक्दैनन् । 
खासगरि कात्तिकदेखि वैशाख सम्म यस क्षेत्र घुम्न उपयुक्त महिना हुन् । यसबेलामा हिमश्र“खला अत्यन्तै खुला देखिन्छन् । ऐना हेरेझैँ देखिने सगरमाथा हिमश्रंखला । हातले छोएझैँ लाग्ने नुम्बुर हिमाललाई पृष्ठभूमीमा राखेर तस्बीर लिन सकिन्छ । यहाँसम्म पुग्नलाई पैदल हिँड्न जरुरी छैन । ओखलढुंगा–सोलुखुम्बु सडकले पत्तालेलाई छोएर गएको छ । 
कालोपत्रे सडकमा राजधानीबाट ९ देखि १० घण्टामा सरर पत्ताले पुग्न सकिन्छ । तराईमा पर्ने उदयपुरको कटारीदेखि आठ घण्टामा पत्ताले पुग्न सकिन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँसको वनले पर्यटकको मन झनै लोभ्याउँछ । घुम्ती बाटो र लेकाली चौरहरुमा दिनभरि रमाउन मन लाग्छ । पत्तालेमा हिजोआज विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक आउने गर्छन् । कम्तिमा एक रात यहीँ बिताउने गरि आउन सके झनै राम्रो हुन्छ । 
सोलुखुम्बु जिल्लाकै नयाँ पर्यटकीय गन्तव्यको रुपमा पत्तालेको विकास भईरहेको छ । एकै रातमा सयौं पर्यटक अटाउन सक्ने मध्यम स्तरीय होटलहरु खुलिसकेका छन् । हिमाल र लालीगुराँस सँग लुकामारी गर्दै स्याउको रक्सी, आलुको ढिँडो, टिम्बुरको अचार र लोकल कुखुराको मासुको परिकार खान पाउँदा जो कोही दंग पर्छन् । 
तस्बीरहरुः कुम्भराज राई÷ओखलढुंगा