मासिँदै पर्यटकीय पदमार्गहरु

कुम्भराज राई

२०७५ बैशाख १३, विहिबार

वैकल्पिक पदमार्ग निर्माणका लागि ४० लाख

ओखलढुंगा (शेर्पाखबर)– दोलखाको जिरि भएर लुक्ला हुँदै सगरमाथा आधारशिविर जानेको सँख्या निकै घटेको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि लुक्लातर्फ सडक विस्तार भईरहेको छ । चौंरीखर्कको सुर्के सम्म सडक लाने तयारीका साथ तिव्र गतिमा सडक विस्तार भईरहेको छ । पर्यटकीय क्षेत्र र जिल्लामा सडक सञ्जालहरु जोडिएका छन् ।
सडक सञ्जालको विस्तारसँगै पर्यटकीय पदमार्ग (ट्रेकिङ रुट) हरु भने विस्तारै मासिने क्रम शुरु भएको छ । विदेशी पर्यटकहरुलाई हप्तौं सम्म घुमाएर फर्काइने गन्तव्यहरु दुई–चार दिनमा छोटिन थालेका छन् । नयाँ ट्रेकिङ रुटहरुको खोजी गर्ने विषय उठेपनि पुराना र प्रसिद्ध ट्रेकिङ रुटहरु मासिएको विषयमा सरकारले कुनै योजना बनाएका छैनन् ।
‘स्वभाविक रुपमा सडकको कारणले गर्दा ट्रेकिङ रुटहरु मासिँदै गएका छन् ।’ ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का पूर्व महासचिव कर्णबहादुर लामाले भने, ‘तर सडक लाँदा खेरी ट्रेकिङ रुट नमासिने गरि लानुपर्ने निति बन्न जरुरी छ ।’ उनले विकास विरोधी बन्न नसकेपनि वैज्ञानिक तवरले देशको मूख्य आम्दानी मानिने पर्यटनलाई टेवा पुग्ने गरि विकास गरिनुपर्ने बताए ।
‘राष्ट्रिय योजना आयोग र मन्त्रालय स्तरबाट हुने सडक विस्तारमा पर्यावरण र पर्यटनलाई केही लेखाजोखा गरिएको छ ।’ पर्यटन व्यवसायी लामाले भने, ‘तर स्थानीय तहबाट अहिले प्रत्येक जसो पहाडी र पर्यटकीय जिल्लामा सडक खनिएका छन् । जसले पर्यटकीय पदमार्ग मात्र मासिएका छैनन् । कुरुप नै बनेका छन् ।’ उनले यसलाई सरकारले निति नै बनाएर स्पष्ट पार्नुपर्ने बताए । पदमार्गलाई नमास्ने गरि वैकल्पिक रुपमै राख्नुपर्ने लामाले बताए ।
ट्रेकिङ रुट मासिएर पर्यटकीय गन्तव्यहरु छोटिन थालेपछि बाह्य पयटक भन्दा आन्तरिक पर्यटक बढेको व्यवसायीको भनाई छ । गन्तव्य छोटिएपछि फाइदा र घाटा दुवै भएको उनीहरु बताउँछन् । लामो समय बिताएर फर्किने पर्यटकरु धेरै खर्च नगरि छोटो समयमै फर्किने गर्दा केही घाटा हुने गरेको छ । तर पर्यटकको संख्या तुलनात्मक रुपले बढ्ने गरेको उनीहरुको भनाई छ ।
सडक पुगेका स्थानहरुमा पनि अन्य सम्भावना जस्तै क्यानोनिङ, -याफटिङ, होमस्टे जस्ता पर्यटकिय गतिविधि थप गरेर आम्दानी गर्न सकिने कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटन मन्त्रालय र विभागले सडक लगायतका विकास निर्माण गर्दा पर्यटकीय पदमार्ग मासिन नहुने स्पष्ट निति बनाएको छैन । 
यहि विषयलाई लिएर स्पष्ट निति पर्यटन विभागले बनाएको छैन । पदमार्गहरु वैकल्पिक रुपमा निर्माण गरेर पनि मासिन नदिने कार्यक्रम शुरु गरेको विभागले जनाउँदै आएको छ । शुरुवातमा विभागले मानसरोवर, डोल्पा हुँदै मुगुको रारा ताल जाने वैकल्पिक पदमार्ग निर्माणका लागि ४० लाख बजेट विनियोज गरेको छ । 
खासगरि पर्यटकीय पदमार्गले छोएका जिल्लाहरुमा सडक विस्तार गर्दा प्रारम्भिक अध्ययन नभएमा केहीवर्ष भित्र ‘ग्रेट हिमालयन ट्रेल’ भनिएका पदमार्ग समेत प्रभावित हुने पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटन क्षेत्रमा सरकारले अझै धेरै काम गर्न बाँकी रहेको पर्यटन व्यवसायी आङबाबु शेर्पाले बताए ।