अध्यक्ष शेर्पाद्धारा ‘नौ सय विद्यार्थीलाई लुगा र छात्रवृत्ति वितरण’
लाक्पा जी शेर्पा
२०७७ पौष १३, सोमबार

लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले रामेछापको विभिन्न विद्यालयमा लत्ताकपडा र छात्रवृत्ति प्रदान गरेको छ । न्यानो लुगा तथा शैक्षिक उन्नयन अभियान अन्तर्गत छात्रवृत्ति र लत्ता कपडा प्रदान गरेको हो ।
अध्यक्ष शेर्पाले रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका विभिन्न विद्यालयलाई विद्यालय पोशाक र छात्रवृत्ति प्रदान गरेको गोकुलगंगा–१ का वडा अध्यक्ष मणिकुमार लामाले जानकारी दिए ।

स्थानीयसमेत रहेका अध्यक्ष शेर्पाले गोकुलगंगा–१ स्थित सेतीदेवी माविका १ सय ४२ जना, उमाकुण्ड २ स्थित थोतुङ आधारभूत विद्यालयका २५ जना, साम्देन छोलिङ गुम्बा थोतुङका २० जना, सिद्धार्थ बौद्ध आविका ५७ र सिद्धेश्वर उमाविका ६ सय ५० जनालाई न्यानो कपडा प्रदान गर्दै आएको हो । त्यस्तै, विभिन्न विद्यामा उत्कृष्ठ र मेधवी सिद्धेश्वर उमाविका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रधानाध्यपक निर्मल प्रसाद त्रिपाठीले जानकारी दिए ।
मंसिर २९ देखि पौष २ गतेसम्म ती विद्यालयहरुमा औपचारिक कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गरेको नेपाल शेर्पा संघका सहकोषाध्यक्ष समेत रहेका स्थानीय बाबुकाजी शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।

प्रत्येक २ बर्षमा वितरण गर्ने न्यानो कपडा कार्यक्रम यस बर्ष कोरोनाका कारण एकै पटक वितरण गर्नुपरेको अध्यक्ष शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाले २०६६ सालदेखि नै छात्रवृत्ति निरन्तर रुपमा प्रदान गर्दै आएका छन् । छात्रवृत्तिको लागि अध्यक्ष शेर्पा बार्षिक ५० हजार वितरण गर्दै आएको सिद्धेश्वर उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीभक्त प्रधानले जानकारी दिए । सोही अवसरमा विद्यालयले उच्च चन्दादाताको रुपमा अध्यक्ष शेर्पालाई सम्मान समेत गरे । सिद्धेश्वर उमाविमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदै खुसी लागेको बताए । ‘सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ । यसैलालाई आत्मसाथ गर्दै आफ्नो कमाईको केही अंश सहयोग गर्दै आएको छु ।’ अध्यक्ष शेर्पाले अघि थपे ‘शैक्षिक उन्नयनका लागि सकारात्मक सोचका साथ सहयोग गरेको हुँ । मेरो सानो सहयोगले यहाँका बाल भविष्य उज्जल हुन्छ भने किन पछि हट्ने भन्ने हो ।’

गोल्डेन गुडस् शेर्पा कन्ष्ट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष शेर्पाले शैक्षिक क्षेत्रमा आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष शेर्पाले भने ‘शिक्षा क्षेत्रमा मेरो निरन्तर सहयोग रहन्छ । यसलाई सकारात्मक रुपमा ग्रहण गर्नु भएकोमा खुसी लागेको छ ।’ आफ्नो सहयोग अभियानमा कुनै राजनैतिक उद्देश्य र स्वार्थ नभएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले भने ‘निःस्वार्थ रुपमा सहयोग गरेको हुँ, कुनै राजनैतिक वा स्वार्थ छैन । खुल्ला मनले सहयोग गरेको हुँ ।’ कतिपयले आफूले सहयोग गर्दा कुनै स्वार्थ छ की भनेर आँकलन गर्ने गरेको तर्फ इंगित गर्दै अध्यक्ष शेर्पाले अघि भने ‘यता अन्य विद्यालयमा पनि मैले सहयोग गर्ने सोच बनाएको थिएँ । तर, सरोकारवालाले खास चासो दिनुभएन ।’

सिद्धेश्वर उमावि पूर्वविद्यार्थी समाजका कोषाध्यक्ष समेत रहेका अध्यक्ष शेर्पाले बार्षिक रुपमा भलिबल प्रतियोगिता समेत आयोजना गर्दै आएका छन् । त्यस्तै, शिक्षक कर्मचारीहरुलाई व्याग वितरण गर्ने तयारी भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
गुम्बाको निरीक्षण
कार्यक्रमकैवीच अध्यक्ष शेर्पाले साम्देन छोलिङ गुम्बाको अवलोकन समेत गरे । सोही अवसरमा गुम्बाका लोपेन, आनी, टावाहरुलाई केही दक्षिणा समेत प्रदान गरे । त्यस्तै, राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट निर्माण भइरहेको गुम्बाको समेत अवलोकन गरे । भूकम्पले ध्वस्त बनाएको गुम्बा करीब ३ करोडको लगानीमा निर्माण भइरहेको छ । एक बर्षभित्र गुम्बा निर्माणको काम सम्पन्न हुने निर्माण कम्पनी पिएस कन्सट्रक्सनका प्रतिनिधी आङ पेम्बा शेर्पालाई अध्यक्ष शेर्पालाई जानकारी गराए । गुम्बा शिक्षाका साथमा कक्षा ३ सम्म विद्यालय शिक्षा समेत पठनपाठन भइरहेको छन् ।
विद्यालयमा शेर्पा पोशाक र श्याब्रु
सिद्धार्थ बौद्ध आधारभूत विद्यालयमा सामभोट लिपीको अध्ययन भइरहेको विव्यस अध्यक्ष छिरी शेर्पाले सो अवसरमा जानकारी दिए । त्यस्तै, विद्यालयमा शेर्पा जातीको श्याब्रु नृत्य समेत प्रशिक्षण हुने गरेका छन् । विद्यालयमा अध्ययनरत ५७ जना मध्ये अधिकंश शेर्पा छन् । त्यस्तै, तामाङ, दलित समुदायका बालबालिका समेत अध्ययन गर्छन । गैर शेर्पा तथा दलितहरुले समेत सामभोटा लिपी सिकी रहेको प्रधानाध्यापक मिठ्ठु कार्कीले जानकारी दिइन् । ‘शेर्पा समुदायको बाहुलियता रहेको कारण हामीले सामभोटा लिपी पठनपाठन शुरु गर्यौं । कक्षा १देखि ५ सम्म नै सामभोटा लिपी पढाई हुन्छ । शेर्पाले मात्रै नभई अन्यले राम्रोसँग सिकी राखेका छन् ।’ न्यानो कपडा वितरण कार्यक्रममा विद्यार्थीहरुले श्याब्रु नृत्य प्रस्तुत गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष शेर्पालाई शेर्पा जातिको संस्कार अनुसार श्यार्के गरेर स्वागत गरेका थिए । सोही कार्यक्रममा अध्यक्ष शेर्पाले न्यानो कपडा लगायत अन्य क्षेत्रमा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
