शेर्पा भाषा ‘आयसीयू’ मा पुगिसक्योः नि.अध्यक्ष शेर्पा
शेर्पाखबर
२०७७ पौष ७, मंगलबार

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघका निवर्तमान अध्यक्ष आङ दोर्जि शेर्पाले शेर्पा मातृभाषा प्रयोग कमि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । भाषा प्रयोगमा कमि हुँदै जाँदा भाषा नै लोप हुने खतरा बढेको भन्दै शेर्पाले चिन्ता व्यक्त गरे ।
नेपाल शेर्पा संघको तेस्रो पूर्ण वैठकमा बोल्दै निवर्तमान अध्यक्ष शेर्पाले मातृभाषाको प्रयोगको सट्टा खस नेपाली भाषा हाबी भएकाले समस्या उत्पन्न भएको बताए । ‘हामीले आफ्नै भाषा बोल्न छाडिसक्यौं, छोराछोरीलाई मातृभाषा सिकाउनुपर्ने कुराहरु भएका छैनन् । दुःखका साथ भन्नुपर्छ, शेर्पा भाषा आइसियूमा पुगिसक्यौ ।’
भाषा प्रयोगकर्ताहरु कमी हुँदा विस्तारै भाषा संकटमा पर्न थालेकाले अभियान नै सञ्चालन गरेर मातृभाषा प्रयोगदर बढाउनुपर्ने र यसबारे सचेत रहनुपर्नेमा निअध्यक्ष शेर्पाको जोड थियो । ‘हाम्रो पुस्ताले भाषालाई जोगाउनुपर्छ । हामी जहाँ भेला, जम्मा हुन्छौं । दुई जनामात्रै भेट हुँदा समेत मातृभाषा बोल्नु पर्यो ।’ निअध्यक्ष शेर्पाले भने ‘भाषा कक्षा सञ्चालन गरेर केही प्रभावकारी भएपनि ठोस उपलब्धि हासिल हुन सक्दैन ।’
प्रविधिमैत्री भाषा सिकाई पद्धती विकास गर्नतर्फ आफूहरु केन्द्रित भएको बताउँदै उनले अघि भने ‘अब हामीले ‘मोवाइल एप्लिकेशन’ नै बनाएर शेर्पा भाषाको लागि काम गरिरहेका छौं । मोवाइलबाटै हामी शेर्पा भाषा सिक्न सक्ने व्यवस्था गर्दैछौं । यसबाट पक्कै पनि हाम्रो भाषाको जगेर्नामा टेवा पुग्छ ।’
विद्यालय, सार्वजनिक ठाउँमा शेर्पा भाषा सिकाईको क्रम बढाउनुपर्ने उल्लेख गर्दै नि अध्यक्ष शेर्पाले भने ‘जहाँ जस्तो अवस्थामा भएपनि मातृभाषा नै प्रयोग गरौं । वैठक, भेलाहरुमा शेर्पा भाषा प्रयोग गरौं । चिया दुकान, कार्यालयमा पनि त्यही अभ्यास गरौं ।’
निअध्यक्ष शेर्पाले बालबालिकाको लागि विभिन्न कार्टुनहरु निर्माण गरेर समेत भाषा बारे सिकाउन सकिनेतर्फ संकेत गरे । यसका लागि अध्यायन भईरहेको समेत उनले सो अवसरमा बताए ।