शेर्पा संघको आर्थिक सहयोग अभियान जारी
कान्छीमा शेर्पा
२०७७ मंसिर २७, शनिबार

क्षयरोग पीडितका लागि राहत शेर्पा संघका कोषाध्यक्ष आङ काजी शेर्पाबाट चेक बुझ्दै टाक्सिन्दु किदुगका अध्यक्ष खापा गेल्जेन शेर्पा ।
]
२७ मंसिर २०७७
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले दीर्घरोगी, विपन्न तथा सडकमा अलपत्रहरुलाई आर्थिक सहयोग जारी राखेको छ । आपतकालिन राहत कोषमार्फत उपचार तथा राहत सहयोग जारी राखेको हो । यसवीच संघले १३ जनालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
विभिन्न दीर्घरोगीहरुको उपचार तथा सडकमा अलपत्रहरुको उद्धार गरी राहत वितरण गरेको आपतकालिन राहत कोषका सहसंयोजक साङ्गे लामा शेर्पाले जानकारी दिए ।
आगलागी, मुटु, मृगौला, क्यान्सर, पक्षघात र क्षयरोग पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको बताउँदै प्रथम उपाध्यक्ष समेत रहेका सहसंयोजक शेर्पाले भने ‘मानवीयताको नाताले तत्काल संघको उपस्थिती रहोस् भन्ने हेतुले कार्यक्रम जारी राखेका हौं । यसबाट पीडितलाई तत्काल राहत मिल्ने र नयाँ जीवन पाउने गरेका छन् ।’
यसअघि संघले शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा हजारौं पीडित तथा कोरोना प्रभावितलाई राहत सहयोग गरेका थिए ।
संघले तत्काल राहतका कार्यक्रमहरु भने यसअघि नै स्थागित गर्ने निर्णय गरेको थियो । अध्यक्ष तथा कोषका संयोजक गेल्जे लामा शेर्पाले भने ‘दीर्घरोगी, विपन्नहरुको उपचार र सडकमा अलपत्रहरुको लागि भने आपतकालिन राहत कोषबाट सहयोग जारी रहनेछ । कोही शेर्पा रोग र भोकले अकालमा जीवन गुमाउन नपोरोस् भन्ने हेतुले नै हामीले अभियान सञ्चालन गरेका हौं ।’