तीनकुनेको ५० रोपनीमा बुद्धपार्क बन्ने निश्चित्
शेर्पाखबर
२०७७ असार १६, मंगलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ ।
‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’
प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौँ महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्वन्धित निकाएमा पठाइसकेको जानकारी दिए । ‘हामीले जतिसक्दो छिटो तीनकुनेको विवाद अन्त्य गर्ने र पार्क निर्माणको कामलाई अघि बढाउने उदेश्यका साथ प्रारम्भिक अधिकारी तोकेका थियौँ । प्रारम्भिक अधिकारीले सम्वन्धित निकायलाई प्रतिवेदन बुझाई सक्नु भएको छ । साथै, काठमाडौँ महानगरपालिकाले तोकेको प्रारम्भिक अधिकारीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनु भएको छ,’ उनले भने, ‘हामीले डिजाइन तयारी अवस्थामा राखेका छौँ । समस्या समाधान हुने वित्तिकै काम तिव्र गतिका साथ अघि बढ्छ ।’
काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं ब्यक्तिहरुको सहयोग र समन्वयमा का.म.पा. ३२ तिनकुनेमा अध्याधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने कुरा उल्लेख गरेको स्मरण गराउँदै प्रमुख शाक्यले सबैसँग सहयोगको अपेक्षा गरे ।
संघीय सरकार समेत अधिग्रहण गर्नुपर्ने र मुआब्जा वितरण हुन बाँकी क्षेत्रफलका लागि आवश्यक रकम व्यवस्थापन गर्न सकारात्मक रहेकाले यो पटक मुआब्जा विवाद समाधान हुने र पार्क निर्माणको काम अघि बढ्नेमा महानगरपालिका विस्वस्थ बनेको छ ।
‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला पनि हामीले तीनकुनेमा हरियालीसहितको आइल्याण्ड निर्माण गरेका थियौँ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउन पार्क निर्माण गर्नेलगायत महानगरपालिकाको नीति नै हो । हामीले यसै अनुरुप तीनकुनेमा बुद्धपार्क निर्माण गर्न चाहेका हौँ ।’
केही जग्गाधनीले चलनचल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्नेलगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् । ‘हामीले करीब ५० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले भने, ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ ९म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु’लाई आधार मानेर डिजाइन तयार गरिएको छ ।’
शाक्यका अनुसार अण्डरग्राउन पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक सौचालय, प्रदर्शनी कक्षहरु रहने छन् ।
पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्याकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ ।
डिजाइन अनुसार माथिल्लो तलामा २ सय जति अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौदर्य बढाउन उपयुक्त स्थान हुने उहाँको भनाई छ । ‘अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको यो पार्क निर्माण सम्पन्नपछि जहाँजबाटै पनि सुन्दर र शान्त देखिने छ,’ उनले भने । उनका अनुसार डिजाइनमा वाटर फाउण्टेन पनि राखिएको छ । जहाँ पानीको रंगिन छहरसँगै प्राकृतिक ध्वनी उत्पन्न हुनेछ र त्यसले सबैलाई आनन्दित बनाउने छ ।
शंख अर्थात प्रशिद्धि, दिर्घायू, सवृद्धि र आत्मा–शान्तिका साथै चक्र अर्थात शुद्ध चेतनालाई समेत आधार मानेर डिजाइन तयार गरिएको उहाँले जानकारी दिए ।
नागरिकखबरबाट